शिक्षामा अनियमितता गर्ने कार्वाहि

जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले नेपाल सरकारको कर्मचारीले नेपाल सरकारको नीति र निर्देशन विपरित काम गरेमा र आफ्नो पदीय दायित्व निर्वाह नगरेमा कार्वाहि हुने प्रष्ट पार्नुभएको छ ।
उहाँले कार्यालय प्रमुख होस् या कर्मचारी जो भएपनि नेपाल सरकारले दिएको पारिश्रमिक लिएपछि सो पारिश्रमिक बराबरको परिश्रम गर्नैपर्ने समेत बताउनुभयो ।

उहाँले जिल्लामा हप्ताको एकचोटी विद्यालयमा गएर पूरै दिनको हाजिरी गरेको कारण र प्रधानाध्यापकले विद्यालयको रकम हिनामिना गरेको कारण देखाउँदै कदमवास स्थित दिक्पाल आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षले तलव रोक्का गरेको विषयमा प्रष्ट पार्दै उक्त कुरा बताउनुभएको हो ।
उहाँले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका समस्याहरु भएपनि उक्त समस्यालाई सल्लाह र सहमति अनुसार समाधान गर्न र स्थानीय स्तरमा विद्यालयको आर्थिक तथा शैक्षिक गतिविधि पारदर्शिता गर्नको निमित्त पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिको जिम्मेवारी महत्वपूर्ण हुने समेत प्रष्ट पार्नुभएको छ ।
शिक्षा ऐन आठौं संसोधन २०७२ अनुसार जिल्लामा गठन हुन बाँकी रहेका विद्यालयका व्यवस्थापन समितिहरु गठन प्रक्रियामा तीव्रता दिँदै शिक्षा सुधारको लागि जिल्ला शिक्षा कार्यालयले सम्बन्धित क्षेत्रसँग समन्वय गरी शिक्षा विकासको लागि आवश्यक कार्य गर्ने समेत योजना रहेको उहाँले बताउनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा आफ्नै विद्यालयका शिक्षकहरुको तलव रोक्का गरेपछि कदमवास वडा नं. ९ स्थित दिक्पाल आधारभूत विद्यालयका प्रधानाध्यापक देवीबहादुर श्रेष्ठको तलव समेत रोक्का गर्नुभएको थियो ।
जिल्ला शिक्षा कार्यालयबाट तलव निकासा भएपछि शिक्षकको तलव समेत रोक्का गर्नुको कारण बारे सिन्धुपाल्चोक जिल्ला कदमवास ९ का विव्यस अध्यक्ष तुलसी श्रेष्ठले विद्यालयका शिक्षकले विद्यालयको रकम हिनामिना गरेका कारण अध्यक्ष भएको नाताले विद्यालयलाई भ्रष्टाचार मुक्त बनाउनको लागि पनि तलव रोक्का गर्नुपरेको बताउनुभयो । कदमवास वडा नं. ९ स्थित दिकपाल आधारभूत विद्यालयका प्रअ श्रेष्ठले विद्यालयको करिव १ लाख २० हजार रकम हिनामिना गरेको भनि उक्त विद्यालयका अध्यक्ष तुलसी श्रेष्ठले तलव रोक्का गरेको बताउनुभएको छ । दशैं अगाडि घटस्थापनादेखि विद्यालय विदा हुने भएपछि अध्यक्ष श्रेष्ठले प्रअलाई हिसावकिताव विव्यसमा राखेर अनुमोदन गर्न र लेखापरीक्षण गराउन भनेपछि विवाद सुरु भएको बताइएको छ ।
प्रअले लेखा परीक्षण गराउँदा लेखापरीक्षकलाई १० हजार मात्र दिएर १४ हजारको भर्पाइ बनाएको, विभिन्न संघसंस्थाबाट दिइएको अनुदान रकमको आम्दानी नदेखाएको, छात्रवृत्ति वितरण नगरेको, अनावश्यक विल भर्पाई राखेर लेखापरीक्षण गराएको कारण प्रधानाध्यापकको तलव रोक्का गरी अरु शिक्षकको तलव दिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
लगातार ५–६ दिनसम्म विद्यालय नआउने अनि एकैपटक हाजिर गर्ने शिक्षकहरुको समेत तलव रोक्का गरेर विद्यालयको खातामा राखेको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.