घरटहरा निर्माणमा अझै अन्यौलता

सरकारको नीति स्पष्ट नहुँदा सडकका दाँयाबाँया घर टहरा निर्माणमा अझै अन्यौलता कायमै रहेको छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय डिभिजन सडक कार्यालय काठमाडौंबाट जारी भएको निर्देशिकामा अरनिको राजमार्ग साँगादेखि बन्देउ ५९ किलोमिटरसम्म केन्द्र रेखाबाट दुबैतिर २५–२५ मिटर सीमा छोड्नुपर्ने र बन्देउदेखि चौतारासम्म १५–१५ मिटर क्षेत्रफल सडकलाई छोडी घर टहरा निर्माण गर्न निर्देशन भएको भएतापनि प्रचारप्रसारको अभाव तथा यस सम्बन्धी चेतना समेत नभएको कारण सडकका दाँयाबाँया क्षेत्रमा अनियमित तरिकाले भवन निर्माण सुरु हुन थालेको छ ।

मालपोत कार्यालयलाई निर्माण व्यवस्था ऐन २०२१, सार्वजनिक सडक ऐन २०३१ अनुसार नेपाल सरकारबाट राजपत्रमा सूचना प्रकाशित भए बमोजिमका राजमार्ग सहायक मार्ग, जिल्ला मार्ग र सहरी मार्गको सडक सीमा भित्र पर्ने जग्गाको समयमा नै लागत कट्टा गरी जग्गाधनी प्रमाणपत्र दिन लिन पर्नेमा हालसम्म सबै जग्गाको लगत कट्टा रहेकोमा सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०६८÷९÷६ मा भूमिसुधार मन्त्रालय तथा मातहतका कार्यालयहरुलाई निर्देशन दिएको  थियो ।
सोही निर्देशनको आधारमा पुनः २०७१÷७÷१६ गते मूलुकभर रहेको सडकको मापदण्ड भित्र परेका जग्गाको अनिवार्य रुपमा लगत कट्टा गर्न निर्देशन दिएको भएतापनि हालसम्म कति लगत कट्टा भए त्यस विषयमा नापी तथा मालपोत कार्यालय मौन रहेको स्थानीय बुद्धिजिविहरुले आरोप लगाएका छन् ।
नेकपा मालेका कृष्णबहादुर ठकुरीले सरकारले दिएको निर्देशन कार्यालयहरुले समयमा पालना नगर्दा स्थानीय व्यक्तिहरु समस्यामा परेको बताउनुभयो । उहाँले सरकारका नीति निर्णयहरु जिल्लामा नियमित सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गर्नुपर्नेमा त्यसो नभएकोले पनि जनताहरु सूचनाको हकबाट वञ्चित भएको ठोकुवा गर्नुभयो ।
यस सम्बन्धमा जिल्ला विकास समितिले असोज ५ गते विभिन्न कार्यालयहरुलाई नेपाल सरकारबाट निर्देशन भए वमोजिमको दाँयाबाँया सडकको मापदण्ड समेत सार्वजनिक गरी कार्यान्वयन गर्न गराउन मातहतका सबै कार्यालयहरुलाई अनुरोध पत्र समेत दिएको थियो ।
स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले जिल्लाका २ वटा नगरपालिका ६८ वटै गाविसलाई उक्त निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, शहरी विकास तथा डिभिजन कार्यालय सिन्धुपाल्चोक, सडक डिभिजन कार्यालय दोलखा, राष्ट्रिय पुनर्निर्माण विषेश सम्पर्क कार्यालय सिन्धुपाल्चोक, मालपोत कार्यालय सिन्धुपाल्चोक, नापी कार्यालय सिन्धुपाल्चोकलाई बोधार्थ समेत दिँदै पत्राचार गरिएको थियो । केही कार्यालयहरुको सुस्तताका कारण पुनर्निर्माण कार्यमा समेत असर परिरहेको यस अवस्थामा पुनर्निर्माण सुरु हुनुभन्दा पहिले नै मापदण्ड अनुसारको कार्यक्रम गरिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.