अपाङ्गता भएकालाई स्कुटर

लोकप्रिय रिपोर्टर/चौतारा-
अपाङ्गता भएका व्यक्तिहरु प्रति आफू र आफ्नो पार्टी संवेदनशिल रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य माननीय अग्निप्रसाद सापकोटाले बताउनुभएको छ ।

उहाँले उक्त कुरा हिजो नेपाल पत्रकार महासंघको हलमा आयोजित अपाङ्गता भएका व्यक्तिलाई स्कुटर हस्तान्तरण गर्ने कार्यक्रममा बताउनुभएको हो । उहाँले हामी पहिले पनि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताको लागि लडेका थियौं र अहिले पनि अपाङ्गता भएका व्यक्तिहरुका अधिकार सुनिश्चितताको लागि संघर्षरत नै छौं भन्नुहुँदै जनयुद्धकालदेखि नै आफ्नो पार्टीले उठाउँदै आएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताको लागि संसदमा पेश भएको अपाङ्ग सम्बन्धी विधेयकलाई अपाङ्गता भएका व्यक्तिहरुको हितका लागि वृहतर छलफल गरेर अनुमोदन गराउन लागेको बताउनुभयो ।
उहाँले अन्तराष्ट्रिय अपाङ्ग महासन्धीको सम्झौता अक्षरंश पालना गर्नुपर्ने बताउँदै अशक्त, असहाय, अपाङ्ग र आफ्नो आत्मा एउटै भएको व्यवहारमा उतारेर देखाउन सबै सपाङ्गहरुलाई अनुरोध गर्नुभयो ।
चौतारा नगरपालिका– ९ सानोसिरुवारीका शारीरिक अशक्त उत्तरबहादुर श्रेष्ठलाई सापकोटाले स्कुटर  उपलब्ध गराउनुभएको हो । लामो समयदेखि दुवै खुट्टा गुमाएर अपाङ्गता भई हिँडडुल गर्नबाट समेत वञ्चित रहनुभएका श्रेष्ठलाई सापकोटाले आफ्नै पहलमा स्कुटर दिएर सहयोग गर्नुभएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल, राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधि अम्बर घले, नेकपा माओवादीका केन्द्रीय सचिवालय सदस्य श्यामकुमार श्रेष्ठ लगायत बुद्धिजिवि तथा नगरवासीहरुको उपस्थिति रहेको थियो ।
नेकपा माओवादी केन्द्रका चौतारा नगर कमिटिका उपाध्यक्ष मिना नेपालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका केन्द्रीय सदस्य सागर परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य नगर कमिटिका सचिव उमाप्रसाद दुलालले गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.