बाँडेगाउँ पूर्ण खोप सुनिश्चित

कृपा श्रेष्ठ/बाँडेगाउँ-
नेपाललाई सन् २०१७ सम्मामा पूर्ण खोप सुनिश्चित घोषणा गर्ने उद्देश्य अनुरुप बाँडेगाउँ गाविसलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको छ ।
हिजो सिपातीनघरे संस्कृत माविको प्राङ्गणमा भएको पूर्ण खोप सुनिश्चित घोषणा सभामा बाँडेगाउँ गाविसलाई जिल्लाको छैठौं पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. सुरेन्द्र चौरसियाले पूर्ण खोप सुनिश्चित गाविस घोषणा भएसँग बाँडेगाउँका बालबालिका स्वस्थ र निरोगी रहने बताउनुभयो । उहाँले पूर्ण खोप प्राप्त भएपछि बालबालिकालाई धेरै रोगबाट उन्मुक्ति मिल्ने बताउँदै बाल मृत्युदर घटाउन, बालबालिकालाई अस्वस्थ, अपाङ्गता हुनबाट बचाउन पूर्ण खोप आवश्यक रहेको बताउनुभयो । उहाँले २५ प्रतिशत बाल मृत्युदर खोपकै माध्यमबाट घट्ने समेत जानकारी दिनुभयो ।
पूर्ण खोप सुनिश्चित अभियानको बारेमा जानकारी दिँदै डा. चौरसियाले भन्नुभयो– ‘२०११ को सर्वेक्षण अनुसार ८७ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप लगाएको तथ्याङ्क भेटियो । सोही कारण २०११ बाट यो अभियान सुरु भएको हो ।’
उहाँले अबको १४ महिना भित्र सबै ठाउँलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने उद्देश्य रहेकोले यसमा सबैजना तदारुकताका साथ लाग्नुपर्ने र यो अभियानलाई सबैको साथ, सहयोग आवश्यकता रहेको बताउनुभयो । साथै उहाँले अब जन्मिने कुनै पनि बच्चाहरु खोप लगाउनबाट वञ्चित नहुने भन्ने अनुरोध समेत गर्नुभयो ।
नेपाल सरकारले स्वास्थ्य संस्था मार्फत ८ प्रकारका भ्याक्सिन ११ प्रकारका रोगविरुद्व लगाउने गरेको छ । जस अन्र्तगत क्षयरोग, भ्याकुतेरोग, लहरे खोकी, धनुष्टङ्कार, पोलियो पक्षघात, दादुरा, हेपटाईटिस बि, हिमोफिलस ईन्फुल्इन्जा, निमोनिया, रुवेला र जापनीज ईन्सेफ्लाइटिस रहेको डा. चौरसियाले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेलले पूर्ण खोप सुनिश्चित गाविस घोषणा भएपछि अब यस गाविसका बालबालिकालाई कुनै समस्या नहुने बताउनुभयो । उहाँले यस गाविसको लासगि आफू र आफ्नो संस्थाबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने बताउँदै रेडक्रसले भूकम्प पछि जिल्लामा सक्रिय रुपमा विभिन्न कार्यक्रम गर्दै आएको र यसको उपयोग सबैले गर्नुपर्ने समेत बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय खोप समन्वय समितिको सचिवालय सिन्धुपाल्चोकको आयोजना र नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको सहयोगमा भएको उक्त कार्यक्रममा सिपातिनघरे संस्कृत माविका प्राचार्य उमाप्रसाद आचार्य, टे«ेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष राधाकृष्ण श्रेष्ठ लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बालबालिकालाई लगाइने सम्पूर्ण खोपको जानकारी सबैलाई निरन्तर रुपमा दिने, बाँडेगाउँ गाविसमा जन्मिएका सबै बालबालिकाको अभिलेख नियमित रुपमा अधावधिक गरिने, स्वयम्सेविकाहरु मार्फत सबै वडाका बालबालिकाहरुलाई कुनै पनि खोप लगाउन नछुटाउने जस्ता प्रतिवद्धता गरिएको थियो ।
कार्यक्रममा  नवलपुर र शिखरपुर  गाविसलाई पूर्ण खोपमुक्त गाविस घोषणा गर्न अमूल्य योगदान पु¥याउनुहुने राधाकृष्ण श्रेष्ठ, पूर्ण खोप सुनिश्चित गाविस घोषणाको लागि अमूल्य योगदान पु¥याउनु हुने डा. मौसमि बोहरा लगायत रेडक्रसका स्यवम्सेक, महिला स्वयम्सेविकाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
विभिन्न सांस्कृतिक कार्यक्रम, लोक दोहोरी, व्याण्डबाजा, झाँकीले मनोरञ्जन दिलाएको उक्त कार्यक्रमको सभापतित्व गाविस सचिव तथा रेडक्रस सोसाइटी नवलपुर उपशाखाका सभापति जगतमान ताल्चाभँडेलले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय लगायत छिमेकी गाविसका मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.