बसोबासको लागि जग्गा व्यवस्था गर्न माग

विनाशकारी भूकम्पका कारण आफ्नो बसोबास गरेको बस्तीहरु जोखिममा परेपछि आवश्यक बसोबासको व्यवस्था मिलाउन भूमिअधिकारवादीहरुले सरकारसँग माग गर्न थालेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको विभिन्न गाविसहरुमा २०७२ बैशाखमा गएको भूकम्पको कारण आफ्ना वस्ती बसोबास गर्न नहुने भएपछि सिम्पालकाभ्रे गाविस वडा नं. २ र ५ का गरी ४४ घर परिवारको नयाँ जग्गा दर्ताको लागि निवेदन गरेका छन् ।
उनीहरु यसअघि भूकम्प जाने बित्तिकै आफ्नो सुरक्षित वासस्थान नभएपछि नवलपुर गाविस वडा नं. ९ को वनमा अस्थायी बसोबास गर्दै आएका थिए । यसरी अस्थायी बसोबास गरेको ठाउँमा स्थानीय वन उपभोक्ता समितिहरुले उक्त स्थानमा बसोबास गर्न नमिल्ने बताएपछि उनीहरु झन् समस्यामा परेका हुन् ।
नेपाल सरकार पुनर्निर्माण प्राधिकरणबाट अनुदान सम्झौता वापत पहिलो किस्ता रकम रु ५० हजार पाइसकेको भएपनि घर बनाउने घडेरी नहुँदा समस्यामा परेको छेवाङ तामाङले बताउनुभयो ।
भूमी अधिकार मञ्च सिन्धुपाल्चोकको पूर्णकालिन कार्यकर्ता सुगम अधिकारीले पीडितहरुको लागि आवश्यक व्यवस्थापन गर्न सहजिकरण गर्दै मालपोत कार्यालय र सहरी भवन डिभिजन कार्यालयलाई स्थानीयको समस्या बारे जानकारी गराउनुभएको थियो ।
स्थानीयको पत्र बुझ्दै डिभिजन कार्यालयका प्रमुख युवराज पौडेलले पीडितको समस्या समाधान गर्न आफूले केन्द्रमा पत्राचार गर्ने बताउनुभयो ।


,
Lokpriyasamachar@. Powered by Blogger.