‘गुणस्तरीय शिक्षा आजको आवश्यकता’

सामुदायिक शैक्षिक संस्थामा गुणस्तरीय शिक्षा विषयक एक दिने अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न भएको छ । विभिन्न विद्यालयका प्रअहरुको सहभागितामा हिजो उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कपन बहुमुखी क्याम्सको आयोजना र नेत्रज्योती मासिक पत्रिकाको संयोजनमा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा शिक्षाविद्  प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षामा गुणस्तरीता हुनुपर्ने विषयमा चर्चा गर्नुभएको थियो । उहाले भन्नुभयो– ‘गुणस्तरीय शिक्षा सम्भव छ, व्यवसायिक शिक्षा पनि सम्भव छ । मुख्य कुरा भनेको सम्भवन बनाउन कसलाई जिम्मेवार ठान्ने भन्ने कुराको हो ।’



उहाँले गुणस्तर शिक्षा भनेको के हो ? गुणस्तरको जिम्मेवारी कसको हो ? व्यवसायिक शिक्षा कसरी सुनिश्चित गर्ने लगायतका विषयहरुमा प्रष्ट्याउँदै विगतका शिक्षण सिकाई र अहिलेको सिकाईमा धेरै फरक रहेको अहिलेका विद्यार्थीहरुलाई शिक्षा दिन विभिन्न उपायहरु अपनाउनु परेको समेत बताउनुभयो ।  डा. कोइरालाले व्यवसायिक शिक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयको जानकारी गराउँदै भाषा, वर्णविन्यास, सिकाईलाई उपलब्धीमूलक कसरी बनाउने लगायतका विषयमा समेत प्रष्ट पार्नुभएको थियो ।
त्यसैगरी चौतारा नगरपालिकाको कार्याकारी अधिकृत भुवनेश्वर लामिछानेले आफूले शिक्षण पेशाको अनुभव सुनाउँदै त्यो बेलाको शिक्षा र अहिलेको शिक्षामा धेरै परिवर्तन आएको बताउनुभयो । उहाँले अहिलेको शिक्षामा गुणस्तरियता बढिरहेको समेत जानकारी दिनुभयो । सोही गुणस्तरलाई ख्याल गर्दै आफ्नो बालबच्चाहरुलाई कपन क्याम्पसमा पढाउन समेत लामिछानेले सबै शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।
त्यसैगरी प्रमुख अतिथिको आसनबाट जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकका सहायक जिल्ला शिक्षा अधिकारी रेविका अमात्यले कार्यक्रम धेरै उपलब्धीमूलक रहेको बताउनुभयो । उहाँले अझ पनि सिकाई उपलब्धीमा सुधार गर्न आवश्यक रहेको र त्यस कार्यमा शिक्षक, अभिभावक, विव्यस सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै कपन बहुमुखी क्याम्पसका अध्यक्ष कुमारप्रसाद ओझाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सामुदायिक क्याम्पसहरुमै अध्ययन गराउन प्रेरित गर्नुपर्ने बताउँदै आफूले सिन्धुपाल्चोकमा विद्यालय सञ्चालन गर्दा कुटाई समेत खानुपरेको अनुभव सुनाउनुभयो ।
सिन्धुपाल्चोकका सामुदायिक विद्यालयका प्रअहरुलाई भेला गराई सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरीताको विषयमा यसरी अन्तरक्रिया गराउन नेत्रज्योती मासिक पत्रिकाले सहजिकरण गरेकोमा पत्रिकालाई धन्यवाद व्यक्त गर्दै शिक्षा विकासको लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुको तर्फबाट कृष्ण मावि थकनीका प्रअ मनमाया भट्टराईले यसरी कार्यक्रमको आयोजना गरी शिक्षाविदहरुसँग अन्तरक्रिया गराइदिन पहल गरेकोमा नेत्रज्योती मासिकका नेत्रबहादुर बस्नेतलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरु समय अनुसार भइरहनुपर्ने औंल्याउनुभयो ।
चौताराको होटल गौरीशंकरमा भएको उक्त कार्यक्रममा जिल्लाका २१ वटा माध्यमिक विद्यालयका प्रअहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि प्रअहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.