पुनःनिर्माणको काम तदारुकताका साथ अघि बढाउनुपर्छ–राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको बताउनुभएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले हिजो आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना गाउँ नछोड्ने, पुरानो संस्कार र संस्कृतिले सरकारलाई नयाँ बस्ती बसाल्न गाह्रो भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति भण्डारीले परआश्रित प्रवृत्तिको अन्त्यमा जोड दिँदै आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।
उहाँले भूकम्प प्रभावित क्षेत्रका विभिन्न गाउँमा एकीकृत नमुना बस्ती बसाल्न सकिने औँल्याउँदै पुनःनिर्माणको काममा राज्य र जनसमुदाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले भौगोलिक बनावटको हिसाबले नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले पहाडी क्षेत्रमा पूर्वाधारको अभावले गर्दा एकीकृत बस्ती बसाल्न कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘अब पुनःनिर्माणको काम शीघ्र र तदारुकताका साथ अघि बढाउनुपर्छ ।’
समारोहमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले एकीकृत नमुना बस्ती सरकारका लागि सिक्नलायक विषय भएको उल्लेख गर्दै यसखालका अभ्यासलाई देशका अन्य भागमा पनि लागू गर्न सकिने बताउनुभयो ।
सांसद अग्नि सापकोटाले नयाँबस्ती पुनःनिर्माणको महाविश्वविद्यालय भएको र यो राजनीतिक पार्टीका लागि सिक्ने विषय भएको बताउनुभयो । अर्का सांसद शेरबहादुर तामाङले भूकम्पपीडित समुदायलाई एकीकृत घर निर्माण गरेर कलाकारधुर्मुस–सुन्तलीले ठूलो पुन्य कमाएको उल्लेख गर्नुभयो ।
सो कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि नमुनाबस्ती उदाहरणीय भएको बताउनुभयो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले नमुना एकीकृत बस्ती समानताको प्रतिविम्ब भएको बताउनुभयो ।
स्वच्छ र हरियाली सहरको अवधारणासहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका र भवन विभागसँग समन्वय गरी ती निर्माण गरिएका हुन् । आर्थिक अवस्था कमजोर भएका तामाङ सामुदायलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी ६५ घरधुरीका एक÷एक तथा दैनिक ज्यालादारीमा काम गर्ने ३१ र विभिन्न सङ्घसंस्थाबाट गरी एक सयजनाको दैनिक श्रमबाट बस्ती निर्माण सम्पन्न गरिएको हो ।
हेलम्बु राजमार्गअन्तर्गतको सिन्धुखोलाबाट करिब ६ किमी उकालो लागेपछि उक्त बस्तीमा पुग्न सकिन्छ । सो बस्तीमा खानेपानीको व्यवस्थाका लागि सिन्धुखोलाबाट पानी ल्याउने प्रबन्धसमेत मिलाइएको बताइएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.