चौताराको फोहोर तुरुन्तै व्यवस्थापन हुने

जिल्लाको सदरमुकाम चौतारा नगरपालिका भएको २ वर्ष पुगिसक्दा पनि चौतारा नगरपालिकामा फोहारमैलाको व्यवस्थापन हुन नसकेपछि चौतारा नगर सुधार समितिले नगरपालिकाको सहयोगमा फोहोर व्यवस्थापन कार्यक्रम गर्ने भएको छ ।
नगर सुधार समितिको हिजो बसेको बैठकले समितिका उपाध्यक्ष विष्णुबहादुर उप्रेतीलाई फोहोरमैला व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी समेत प्रदान गरिएको छ । नगर सुधार समितिका सचिव लुमडीबहादुर पौडेलका अनुसार उप्रेतीको संयोजकत्वमा बन्ने उप समितिले यथाशीघ्र फोहोर व्यवस्थापनको स्थानको खोजी गरी टोल टोल र घर घरबाट फोहोर संकलन गरी उक्त स्थानमा फोहोर व्यवस्थापन गर्नेछ ।
यसरी फोहोर व्यवस्थापन तथा कार्यक्रम सञ्चालन गर्न नगरपालिकासँग नगर सुधार समितिले आवश्यक सहयोगको समेत माग गरेको छ ।
यसैबीच सदरमुकामवासीलाई खानेपानीको समस्या हुन नदिन नगर सुधार समितिले तत्काल खानेपानी ट्याङ्करको समेत व्यवस्था गरी खानेपानीको आपूर्ति व्यवस्थापन गर्न समितिका प्रमुख सल्लाहकार कृष्णबहादुर ठकुरीलाई जिम्मेवारी दिँदै नगरपालिका भित्र रहेका नागरिकहरुको सुरक्षा र उनीहरुको स्वास्थ्यको लागि स्वच्छता र सरसफाईमा समेत ध्यान दिन विभिन्न कार्यक्रमको आयोजना गरी चेतनामूलक कार्यक्रम समेत गर्न लागिएको सचिव पौडेलले जानकारी दिनुभयो ।
नगर सुधार समितिले तत्काल प्रत्येक वडाहरुमा परेका समस्याहरु संकलन गरी समस्या समाधनार्थ नगरपालिकामा माग समेत गर्ने भएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.