अधिकार खोज्दै सदरमुकाममा

लोकप्रिय रिपोर्टर/चौतारा-
स्थानिय विकास अधिकारी कृष्णबहादुर शाहीले भूमि अधिकारबाट बञ्चित किसानलाई अधिकार सहित आवास निर्माणका लागि राहत उपलब्ध गराउन आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकामा कुनै कञ्जुस्याइँ नगरिकन सहयोग गर्ने बताउनुभएको छ । उहाँले सरकारले ल्याएको जग्गा दर्ता सम्बन्धी कार्यविधिले समेत भूमिको समस्या हल गर्न केही समस्या देखिएकोले त्यो समस्या समाधान गर्न राजनीतिक दलको लिखित प्रतिवद्धता सहित नीतिगत रुपमा निर्णय गर्नुपर्ने बताउनु भयो ।


उहाँले उक्त कुरा भूमी अधिकार मञ्च सिन्धुपाल्चोकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बताउनुभएको हो । हिजो सिन्धुपाल्चोकका भूकम्पबाट प्रभावित भूमि अधिकारबाट बञ्चित किसानहरुले आफूहरुले बसोबास गरेको जमिनमा घर बनाउन पाउनु पर्ने र सुरक्षित स्थानमा बसोबासको लागि सरकारले जग्गा ब्यवस्था गर्नुपर्ने माग स्थानीय विकास अधिकारी समक्ष राखेपछि उहाँले भूमिहिनहरुलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । जिल्लाको सदरमुकाम चौतारामा जम्मा भएका भूमिहिनहरुले आफूहरुले पनि अरु सरह अधिकार पाउनुपर्ने भन्दै दशंैको मुखमा चौतारा आएर अन्तरक्रिया कार्यक्रममा  आफ्ना समस्याहरु राखेका हुन् ।
किउल गाविसका भूमिहीन किसान शोभाराम वि.क.ले हामी पहिलेदेखि गुठीको जग्गामा बसोबास गर्दै आयौं । भुकम्पले घर भत्क्यो । सानो छाप्रो बनाएका थियौं । त्यहिपनि गुठिको पुजारीले आएर भत्काईदियो । अहिले बसोबास गरेको ठाउँ भासिएको छ । पहिरो छ । हामी कहाँ घर बनाउँ भन्ने जस्ता पीडा राख्नुभएको थियो ।
किउल, हेलम्बु, सिम्पालकाभ्रे, नवलपुर, बतासे, फटकसिला, राम्चे, पाल्चोक, बाँर्खक, भिमटारका किसानहरुले स्थानिय विकास अधिकारी, राजनीतिक दल, पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि सामु आफ्ना पीडा राखेका छन् ।
अन्तरक्रिया कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका सम्पर्क व्यक्ति तथा चौतारा नगरपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले सरकारले गरेको अहिलेको पुनर्निर्माण प्रकृयामा भूमिहिनहरुको यस्तो विषयमा पुर्ण निर्णय नआइसकेको र प्राधिकरणबाट यस सम्बन्धमा निर्णय आएपछि आफूले सोही अनुसार गर्ने बताउनुभयो । उहाँले हामीले एक अर्काप्रति दोष दिनु भन्दा पनी सरकार दल र नागरिक मिलेर पुनर्निर्माणको प्रकृयालाई महाअभियानको रुपमा लग्नु पर्ने बताउनु भयो । सुरक्षित जग्गा सहित पुनर्निर्माणका लागि सबै तहमा दबाव दिनुपर्ने उहाँको जिकिर थियो ।
कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका निवर्तमान अध्यक्ष सोमप्रसाद भण्डारीले अहिलेको सरकारी नीति र काम गर्ने तौरतरिकाले दिगो पुनर्निर्माण नहुने बताउनु भयो । भौतिक संरचना निर्माणले मात्र पुनर्निर्माण पुरा नहुने उहाँको धारणा थियो । साथै पुनर्निर्माणका कार्यमा भूमि अधिकारबाट बञ्चित किसानलाई बिर्सेर देश र समुदायको पुनर्निर्माण हुन नसक्ने बताउनु भयो । पुनर्निर्माण गर्दा समुदायको अगुवाईलाई ध्यान पु¥याउनु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रमको अन्त्यमा बोल्दै पुर्व जिविस सभापति शरेस नेपालले सरकारी आलटाले भूमिहीनहरुलाई मर्का परेको बताउनु भयो । त्यसमा पनि मन्त्रालयका सचिव तथा कर्मचारीले भूमिसुधारका कुरा सुन्नै चाहँदैनन् । यदि सुनिहाले पनि कार्यान्वयनमा ल्याउँदैनन् । त्यसैले नेपालमा भूमिसुधार हुन नसेको उहाँले बताउनु भयो । कार्यक्रममा भेला भएका किसानहरुले आफ्नो मागहरु सम्बोधन नभए दशैं लगत्तै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.