रेडक्रस अरु गैर सरकारी संस्था भन्दा किन फरक–११?

हरि सुवेदी-
प्रस्तुत शीर्षक बारेको यो एघारौंं श्रृङ्खला हो । यस पटकको श्रृङ्खलामा विरामी र घाइतेहरुको जीवन बचाउन नेपाल रेडक्रस सोसाइटीले देशभरी उपलब्ध गराइरहेको एम्बुलेन्स सेवाको प्रसङ्ग जोड्दै छु । नेपाल रेडक्रस सोसाइटीलाई गाउँ–गाउँमा चिनाउने यो सेवाका कारण पनि रेडक्रस अरु गैर सरकारी संस्था भन्दा रेडक्रस फरक रहेको विषय प्रस्ट्याउने प्रयास गरेको छु ।
नेपाल रेडक्रसमा एम्बुलेन्स सेवाको इतिहास
नेपाल रेडक्रस सोसाइटीले घाइते र विरामीहरुलाई तुरुन्त दक्ष स्वास्थ्यकर्मीको सेवा उपलब्ध स्वास्थ्य संस्था पुर्याउन वि. सं. २०२२ देखि देखि एम्बुलेन्स सेवा शुरु गरेको जानकारहरु बताउँछन् ।जर्मन सरकारको सहयोगमा तत्कालिन राजा महेन्द्रलाई उपहार प्राप्त एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरे पश्चात यो सेवा शुरुभएको भनाइ छ । त्यसको केही बर्षमै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीका वर्तमान अध्यक्ष तादातेरु हनोइले जापानबाट एउटा एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराएर यो सेवाको विस्तारमा योगदान गरेका थिए । यहाँनेर उल्लेख गर्नै पर्ने कुरा के छ भने तादातेरुले कलकत्ता बन्दरगाहबाट आफैले एम्बुलेन्स चलाएर काठमाण्डौं ल्यााई नेपाल रेडक्रसलाई हस्तान्तरण गरेका थिए । शुरुमा नेपाल रेडक्रस केन्द्रीय कार्यालयले यो सेवा सञ्चालन गरेको थियो भने जिल्ला शाखाहरुको स्थापनासँगै शाखाहरुले पनि एम्बुलेन्स सेवा शुरु गरेको पाइन्छ । जिल्ला तहमा पनि एम्बुलेन्सको आवश्यकता महशुस भए अनुरुप देशको भौगोलिक अवस्था, जिल्लावासीको माग र सेवा सदुपयोग हुने संभावना समेतलाई ध्यानमा राखी मोरङ,  पर्सा र कञ्चनपुर जिल्लामा नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा मार्फत यो सेवा क्रमिक रुपमा शुरु गरियो ।यो कुरालाई पछिल्ला दिनहरुमा नीति नै बनाई व्यवस्थित गरेको पाइन्छ ।
मानवीय सेवा उपलब्ध गराउने मूल मन्त्र रहेको रेडक्रसका केन्द्र र शाखाहरुले क्रमिक रुपमा एम्बुलेन्स सेवा जिल्ला तहमा विस्तार गरिरहँदा अरु कुनै पनि गैरसरकारी संस्था, सरकारी अस्पताल र अन्य निकायहरुले यो सेवा शुरु गरेका थिएनन् । अझ भनौ केही अवधि नेपाल रेडक्रस सोसाइटीका निकायहरुले मात्र आकस्मिक अवस्थामा रहेका घाइते र विरामीहरुलाई यो सेवा उपलब्ध गराएका थिए ।
नेपाल रेडक्रस सोसाइटीको इतिहासमा वि.सं. २०४७देखि शाखा विकासका कार्यक्रमहरु संचालनमा आए देखि धेरै जिल्लामा यो सेवाले चर्चा पायो । रेडक्रसको पहिचान बृद्धि गर्न पनि जिल्ला शाखाहरुले प्राथमिकताका साथ एम्बुलेन्स सेवा संचालन गर्ने कार्य अघि बढाए । कतिपय शाखाले एम्बुलेन्स सेवा संचालनकालागि केन्द्रलाई अनुरोध गरे र केन्द्रलाई विभिन्न निकायबाट प्राप्त एम्बुलेन्स पनि निश्चित मापदण्डका तयार गरी शाखा तथा उपशाखालाई उपलब्ध गराउने अभ्यास थाल्यो ।
पहिला निःशुल्क रुपमा उपहार स्वरुप एम्बुलेन्स प्राप्त हुन्थे भने पछि पछि शाखा तथा उपशाखाहरुले स्थानीय स्रोतसाधनको जोहो गरेर एम्बुलेन्स खरिद गरेर पनि सेवा दिन थाले । निःशुल्क आउँदा निःशुल्क सेवा दिइने गरिएको एम्बुलेन्स सेवाको दीगोपनको कुरा चर्चामा आएसँगै खरिद गरी ल्याइएको एम्बुलेन्सहरुबाट न्यूनतम शुल्कमा सेवा दिने अभ्यास शुरु भयो । अन्य निकायले पनि यो सेवा शुरु गरेको तत्कालिन अवस्थामा लागत पुनर्लाभको नीति अवलम्बन गरियो । नेपाल रेडक्रस सोसाइटीले वि.सं. २०४८ मा उपशाखाको अवधारणा ल्याएबाट स्थानीय आवश्यकता अनुरुप उपशाखाहरुले पनि यो सेवा शुरु गरेको देखिन्छ । यसका अतिरिक्त रेडक्रसका उपशाखाको भन्दा सानो कार्यक्षेत्र भएका सहयोग समिति र जुनियर÷युवा सर्कलले पनि सफल रुपमा एम्बुलेन्स सेवा संचालन गरेका छन् ।
नेपालमानेपाल रेडक्रसका निकायहरुबाट उपलब्ध भैरहेको एम्बुलेन्स सेवाको विवरण
पूर्वाञ्चल विकास क्षेत्रका १६ जिल्ला मध्ये खोटाङ बाहेकका नेपाल रेडक्रस सोसाइटीका १५  जिल्ला शाखाहरुबाट १९ वटा एम्बुलेन्स संचालन गरी सेवा उपलब्ध गराइएको छ भने २२ वटा उपशाखाहरुबाट २५ वटा एम्बुलेन्स संचालनमा ल्याइएको छ । पूर्वाञ्चल विकास क्षेत्रका  १६ जिल्लामा ४४ वटा एम्बुलेन्स संचालन गरेर सेवा उपलब्ध गराइरहेको छ । यस क्षेत्रमा एकभन्दा बढी एम्बुलेन्स संचालन गर्ने जिल्ला शाखामा सिराहा– ४ र सुनसरी– २ रहेका छन् ।
मध्यमाञ्चाल विकास क्षेत्रकासबै १९ वटा जिल्लामा नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरुबाट २४ वटा र उपशाखाहरुबाट ५१ वटा गरी ७५ वटा एम्बुलेन्स संचालन गरी सेवा उपलब्ध गराइएको छ । यस विकास क्षेत्रका जिल्लाहरु मध्ये सबैभन्दा धेरै १९ वटा एम्बुलेन्सहरु चितवन जिल्ला शाखा, उपशाखा, सहयोग समिति र जुनियर रेडक्रस सर्कलहरुबाट संचालन भै रहेका छन् । यस जिल्लाको पार्वतीपुरमा रहेको सहयोग समिति र लकु लक्ष्मी उच्च माध्यमिक विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलले क्रमशः ना.१.च.९२९८ र ना.१ च. ९५२० नम्बरको एम्बुलेन्सबाट सेवा उपलब्ध गराएका छन् । १६ वटा उपशाखाहरुबाट पनि यो सेवा उपलब्ध गराइएको छ ।
पश्चिमाञ्चल विकास क्षेत्रका मनाङ बाहेकका १५ जिल्लामा नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरुबाट १८ वटा र उपशाखाहरुबाट २६ वटा गरी ४३ वटा एम्बुलेन्स संचालन गरी सेवा उपलब्ध गराइएको छ । यस विकास क्षेत्रका जिल्लाहरु मध्ये पाल्पा र नवलपरासीले २÷२ वटा एम्बुलेन्स संचालनमा ल्याएका छन भने कास्की, गुल्मी र नवलपरासीका ४÷४ वटा उपशाखाहरुले पनि यो सेवालाई निरन्तरता दिइरहेका छन् । यो विकास क्षेत्र अन्तरगतको नवलपरासी जिल्लामा रहेको श्री कुमारवर्ती इङ्लिस स्कूल, रजहरमा रहेको जुनियर रेडक्रस सर्कलले पनि एक वटा एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।
मध्य पश्चिमाञ्चल विकास क्षेत्रका सडक सञ्जालमा जोडिन नसकेका डोल्पा, हुम्ला र सडकको पहुँच भए पनि सहज हुन नसकेका जाजरकोट र मुगु जिल्ला बाहेकका ११ जिल्लामा नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरुबाट १५ वटा र उपशाखाहरुबाट ११ वटा गरी २६ वटा एम्बुलेन्स संचालन गरी सेवा उपलब्ध गराइएको छ । यस विकास क्षेत्रका जिल्लाहरु मध्ये बाँकेमा ७ वटा बर्दियामा ७ वटा एम्बुलेन्स सञ्चालित छन । यस विकास क्षेत्रको बाँके जिल्लाको कोहोलपुरमा रहेको उपशाखाले ४ वटा एम्बुलेन्स सञ्चालन गरेर सेवा दिइरहेको छ ।
त्यसैगरी सुदुरपश्चिमाञ्चाल विकास क्षेत्रका दार्चुला बाहेकका ८ जिल्लामा जिल्ला शाखाहरुबाट ८ र उपशाखाहरुबाट ९ वटा गरी १७ वटा एम्बुलेन्ससञ्चालनमा छन् । यस विकास क्षेत्रका जिल्ला शाखाहरुमध्ये कञ्चनपुर जिल्ला शाखाले ३ वटा एम्बुलेन्स सञ्चालन गरिरहेको छ भने सोही जिल्लाका ५ वटा उपशाखाहरुबाट पनि यो सेवालाई निरन्तरता दिइएको छ ।
समग्रमा नेपालका ७५ जिल्ला मध्ये ६५ जिल्ला शाखाहरुमा जिल्ला शाखाबाट ८४ वटा, १०६उपशाखाहरुबाट ११७, २ सहयोग समितिहरुबाट २ र २ जुनियर रेडक्रस सर्कलहरुबाट २ वटा गरी जम्मा २०६ वटा एम्बुलेन्सहरुले २४ सै घण्टा विरामी तथा घाइतेहरुलाई अकस्मिक अवस्थाको यातायात सेवा उपलब्ध गराइरहेका छन् ।
नेपाल रेडक्रसलाई एम्बुलेन्स सेवा संचालनमा सहयोगी निकायहरु
जर्मन सरकारले तत्कालिन राजा महेन्द्रलाई एम्बुलेन्स उपहार दिएको र केही समय पछि फेडेरेसनका वर्तमान अध्यक्ष तादातेरुले नेपाल रेडक्रसलाई दिएको कुरा बारे माथि चर्चा गरि सक्यौ । यसका अतिरिक्त भारतीय राजदूतावास, जापानिज राजदूतावास, अमेरिकन राजदूतावास, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, लायन्स क्लवहरुले एम्बुलेन्स उपलब्ध गराउँदै आएका छन् ।
यसैगरी कतिपय व्यक्तिहरुले आफ्ना दिवंगत अभिभावकको सम्झनामा एम्बुलेन्स खरिद गरी सेवा दिन रेडक्रसलाई सघाएका छन भने कतिपय स्थानमा एम्बुलेन्स सेवाको आवश्यकता परिपूर्ति गर्न स्थानीय रेडक्रसको अगुवाईमा आयोजित धार्मिक कार्यक्रम, चन्दा तथा दान संकलन, देउसीभैलो जस्ता कार्यक्रमहरुमा स्थानीयहरु सहभागी भै सहयोग गर्नुभएको छ ।
केही अनुकरणीय प्रयासहरु
नेपाल रेडक्रस सोसाइटीले शाखा, उपशाखा, सहयोग समिति र जुनियर÷युवा सर्कल मार्फत देशव्यापी रुपमा उपलब्ध गराएको यो सेवा आफैमा अनुकरणीय छ । यसका अतिरिक्त मकवानपुर र सिन्धुली  शाखा जसले बैंकबाट ऋण लिई एम्बुलेन्स खरिद गरेर सेवा दिएका छन् भने मोरङ, सुनसरी, मकवानपुर, चितवन, बाँके लगायतका जिल्लाहरुले नियमित रुपमा बार्षिक१० हजार हजारभन्दा बढीलाई सेवा उपलब्ध गराइरहेका छन् । चितवन सबैभन्दा बढी १८ वटा एम्बुलेन्स संचालन गर्न सफल जिल्ला शाखाको रुपमा रहेको छ । त्यसैगरी उपशाखाको हकमा बाँकेको कोहोलपुर उपशाखाले ४ वटा, सुनसरीका इटहरी र इनरुवा उपशाखाले क्रमशः ३ र २ वटा एम्बुलेन्स संचालन गरी सेवा उपलब्ध गराइरहेका छन् ।
वि.सं. २०६२÷६३ को जनआन्दोलन, संविधान सभाको पहिलो चुनाव, वि.सं. २०७२ को महाभुकम्प जस्ता आकस्मिक अवस्थामा एम्बुलेन्सका अतिरिक्त रेडक्रसले आफ्ना जीपहरुलाई प्राथमिक उपचार टोलीका साथ एम्बुलेन्सको रुपमा परिचालन गरेर धेरैको जीवन बचाएको थियो । आकस्मिक अवस्थाका साथै जिल्ला जिल्लामा भएका कैयौं सवारी दुर्घटनामा रेडक्रसका निकायहरुले निःशुल्क एम्बुलेन्स सेवा र साथमा प्राथमिक उपचार सेवा पनि उपलब्ध गराएका छन् ।
सरकारको एम्बुलेन्स नीति र सेवा सुदृढीकरणको सवाल
नेपालमा एम्बुलेन्स सेवा संचालनको अग्रणी संस्था भएको नाताले एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन नेपाल रेडक्रसको पहलमा सरकारले वि.सं. २०६० एम्बुलेन्स सेवा संचालन नीति तर्जुमा गरी लागू गरेको छ । यो नीति अनुरुप जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने यो समितिमा रेडक्रस शाखाका मन्त्री सदस्य रहने व्यवस्था छ ।
रेडक्रस बाहेक पनि अन्य निकायहरुबाट एम्बुलेन्स सेवा संचालनमा ल्याए पश्चात यसलाई व्यवस्थित गर्न नेपाल सरकारले लागू गरेको एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरिएको छ । गाउँ नै गाउँले बनेको हाम्रो देशमा एम्बुलेन्स गुड्ने सडकको स्तर अनुसार तेस्रो श्रेणीका एम्बुलेन्स संचालनमा छन् ।
सडक सञ्जाल पुग्न नसकेका जिल्लाको कुरै छोडौं, पुगेका जिल्लामा पनि कच्ची र ग्राभेल छन् । जवसम्म सडकको स्तर सुधार हुदैन तबसम्म क र ख श्रेणीका एम्बुलेन्स सञ्चालनमा ल्याउन गाह«ो छ । धेरै सुबिधा रहेको जिल्ला र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा रहेर सेवा दिन नचाहने हाम्रा चिकित्सकहरु एम्बुलेन्स सेवा नीतिले तोके अनुसार सेवा दिन एम्बुलेन्सका ड्राइभरसँगै हिंडाउन एक दुई बर्ष मै सम्भव होला त ? यो पनि कतिपय ग्रामीण स्वास्थ्य चौकीहरुमा अभ्यास भै रहे बमोजिम कार्यालय सहयोगी नै डाक्टर भए जस्तो हुन्छ कि?
अनि नीतिमा भनिए जस्तो अनुगमन प्रणाली कति प्रभावकारी छ? साच्चै भन्ने हो भने सेवाबाट आर्जन भएको आम्दानी अर्को काममा प्रयोग नगर्ने हो भने पुनः अर्को एम्बुलेन्स शुरु गर्न सकिन्छ तर इमान्दारिता चाहिन्छ संस्था संचालक र एम्बुलेन्स ड्राइभरको । फेरी अर्को कुरा एकपटक सेवा शुरु भयो भन्दैमा निरन्तर हुन्छ भन्न सकिंदैन । रेडक्रसका पनि अछाम, दैलेख र सिन्धुपाल्चोकमा सेवा स्थगित भएको अवस्था छ । यो सेवाको निरन्तरताको लागि नीतिमा स्क्र्याप गरेर अर्को प्राप्त गर्न सकिने व्यवस्था छ तर यो प्रकृया पुरा हुँदासम्म पहिलेको एम्बुलेन्स चलेको सेवा क्षेत्रमा कोही विरामी र घाइते हुँदैनन् र? हुन्छन भने प्रभावकारी सेवा दिन यो नीति नै अपुरो छ अनि कसरी सेवा सबल हुन्छ? नेपालभरि प्रभावकारी एम्बुलेन्स सेवा उपलब्ध गराउन सफल संस्था नै रेडक्रस हो । कतिपय समुदायमा त रेडक्रस बारे थाहा छ भन्नासाथ एम्बुलेन्स सेवा उपलब्ध गराउने संस्था हो भन्ने सुनिने गरेको छ । विरामी र घाइतेहरुकालागि हरेक क्षण आकस्मिक अवस्था हो । यास्तो अवस्थामा सेवा दिन रेडक्रसका निकायहरुले देशभरि यो सेवा संचालन गरेर सरकार र समुदायलाई मूल्यमा चर्चा गर्नै नसकिने योगदान गरेको स्पष्ट छ जसको तुलना अन्य गैरसरकारी तथा नीजि संस्थासँग तुलना गर्नै मिल्दैन । त्यसैले पनि रेडक्रस अरु गैरसरकारी संस्थाभन्दा फरक छ, भिन्न छ ।
(सुझाव र प्रतिक्रियाकालागि जबचष्कगदभमष्लउ२नmबष्।िअयm)


Lokpriyasamachar@. Powered by Blogger.