कुञ्चोक पूर्ण खोप सुनिश्चित घोषणा

सिन्धुपाल्चोेक जिल्लाको कुञ्चोक गाविसलाई सोमबार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको छ ।
स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । योसँगै कुञ्चोक गाविस जिल्लाको चौंथौ पूर्ण खोप सुनिश्चित घोषणा भएको गाविस हो । यसअघि २०७३ असोज १४ मा नवलपुर, २०७१ माघ २४ मा सुनखानी र २०७१ फागुन ९ मा पाङ्ग्रेटार गाविस घोषणा भइसकेको छ । कुञ्चोकमा भएको पूर्ण खोप कार्यक्रममा विषेश अतिथिका रुपमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेन्द्रप्रसाद चौरसिया, वरिष्ठ जनस्वास्थ्य अधिकृत मंगला मानन्धर, नेपाल रेडक्रस सोसाइटी नवलपुर शाखाका अध्यक्ष जगतमान ताल्चाभँडेल, मानव अधिकारकर्मी नातीबाबु धिताल, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. चौरसियाले प्रमाणपत्र वाचन गरेर कुञ्चोकलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गर्नुभएको हो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिले मैनवत्ति दीप प्रज्वलन गरेर घोषणाको प्रतिवद्धता जनाउनुभएको  थियो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका स्थानीय विकास अधिकारी शाहीले कुञ्चोक पूर्ण खोप घोषणा हुनु मानव सभ्यताको विकासको चिनारी भएको बताउनुभयो । उहाँले बालबालिकालाई सम्पूर्ण खोपहरु लगायो भने २५ प्रतिशत रोगहरुबाट बचाउन सकिन्छ । त्यस्तै अपाङ्ग र बाल मृत्युदर घटाउन सकिन्छ भन्नुभयो ।
गाविस सचिव माधवराज घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रम सरस्वती अधिकारी र कपिल बानियाँले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा छिमेकी गाविस नवलपुरबाट समेत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला खोप समन्वय समितिको सचिवालयको आयोजनामा भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी र नर्वेजियन रेडक्रसले कार्यक्रममा सहजिकरण गरेको थियो । सो कार्यक्रममा कुञ्चोक गाविसमा रहेको महिला समूह र युवा क्लवका सदस्यहरुले बेजोड सांस्कृतिक कार्यक्रम गरेको थियो । कार्यक्रममा स्थानीय लोक गायक सुरेन्द्र गिरी र गायिका सरस्वती अधिकारीले– ‘कदम छायाँ हासेर लाउँ माया बोलको गीत गाएर कार्यक्रमको माहोल भव्य बनाएको थियो । कार्यक्रममा उपस्वास्थ्य चौकीका इन्चार्ज रिनेशकुमार महर्जन, अनमि लिला बानियाँ र सहयोगी मुना थापा, गाविस सचिव माधवराज घिमिरे र महिला स्वयम्सेविकाहरुलाई स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएकोमा प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा महिला स्वयम्सेविकाहरुले खोप र स्वास्थ्य सम्बन्धी सन्देशमुलक गीत प्रस्तुत गर्नुभएको थियो ।
नेपाल सरकारले स्वास्थ्य संस्थामार्फत ८ प्रकारका भ्याक्सिन ११ प्रकारका रोग विरुद्ध लगाउने गरेको छ । जस अन्तर्गत क्षयरोग, भ्यागुते रोग, निमोनिया, लहरेखोकी, धनुष्टंकार, पोलियो, पक्षघात, दादुरा, हेपाटाइटिस बी, हिमोफिलस, इन्फ्लुयन्जा, रुबेला र जापानीज इन्सेफ्लाइटिस रहेका छन् । कुञ्चोक घोषणा भएसँगै शिखरपुरमा कात्तिक ४ र बाँडेगाउँमा कात्तिक ८ गते घोषणा गर्ने तयारी रहेको खोप अधिकृत गोविन्द थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त गाविसहरुमा परिक्षणका सबै प्रक्रियाहरु सकिएका छन् ।
बालबालिकाहरुमा सबै प्रकारका रोगका विरुद्ध लगाइने खोपले बाल मृत्युदर घट्नुको साथै लुला लंगडा र अपाङ्ग हुने क्रम समेत क्रमशः घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालयको दावी छ ।  

Lokpriyasamachar@. Powered by Blogger.