पुनर्निर्माण कार्यक्रम अनुगमन

संघीय तथा स्थानीय विकास राज्य मन्त्री श्रप्रिसाद जवेगुले सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानहरुमा भएका विकास तथा पुनर्निर्माण कार्यक्रमहरुको अनुगमन गर्नुभएको छ ।
जिल्ला विकास समिति सिन्धुपाल्चोकमा शुक्रबार आउनुभएको मन्त्रीले हिजो भोटेकोशीले कटान गरेका स्थानहरुमा जिल्ला विकास समितिबाट भए गरेका कामहरुको बारेमा स्थलगत निरिक्षण समेत गर्नुभएको छ ।

शुक्रबार जिल्ला विकास समितिको कार्यालय आइपुग्नुभएको राज्यमन्त्री जवेगुले जिल्ला विकास समितिको कार्यकक्षमा स्थानीय विकास अधिकारी लगायत जिल्ला विकास समिति अन्तर्गत रहेका कर्मचारीहरुसँग जिल्लाका वस्तु स्थितिबारे जानकारी लिँदै कर्मचारीहरुले गरेको कामको प्रगति विवरणको विषयमा समेत छलफल गर्नुभयो । छलफलका क्रममा सिन्धुपाल्चोक जिल्ला विकास समितिका तर्फबाट भए गरेका कामहरुको विषयमा जानकारी गराउँदै स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले नेपाल सरकारले तोकेकै मितिमा भूकम्प पीडित अनुदान सम्झौता सम्पन्न गरी पहिलो किस्ता वापत पीडितले पाउने राहत उपलब्ध गराएको, जिल्ला विकासका कार्यक्रमहरुमा जिल्ला विकास समितिबाट प्रत्यक्ष अनुगमन तथा विकास कार्यक्रमहरुको स्थलगत व्यवस्थापन गरेको, भूकम्पबाट पीडित रहेको र बढी क्षति भएको स्थानमा जिल्ला विकास समितिले प्राथमिकता क्रमको आधारमा विकास निर्माणको कार्यक्रमहरु गरेको, पुनर्निर्माणमा सरकारको नीति, निर्देशिका अनुसार आवश्यक मापदण्ड तयार गरी पुनर्निर्माणको लागि आवश्यक व्यवस्थापन गर्दै गरेको भोटेकोशी बाढीका कारण क्षति भएका किनारा छेउछाउका वस्तीहरुलाई पुनर्वासको लागि आवश्यक व्यवस्थापन गर्न लागिएको विषय लगायत जिल्ला विकास समितिबाट भए गरेका कामहरुको बारेमा जानकारी गराउनुभएको जिल्ला विकास समितिका सूचना अधिकृत युगबहादुर खड्काले बताउनुभयो ।
यसैबीच हिजो स्थानीय विकास राज्य मन्त्री जवेगुले भोटेकोशी बाढीबाट क्षति भएका स्थानहरुको स्थलगत निरिक्षण गर्दै जिल्ला विकास समिति लगायत सिन्धुपाल्चोक जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यालय, स्थानीय सरोकारवालाहरु तथा राजनीतिक दलहरुबाट तत्काल उद्धारको लागि गरिएको कार्यको प्रशंसा गर्दै पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारले दिएको निर्देशन कार्यान्वयन गर्ने क्रममा सिन्धुपाल्चोक अग्रसर रहेकोमा प्रशंसा गर्नुभयो ।
स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही, जिविसका आन्तरिक लेखापाल अनिरुद्र नेपाल, सामाजिक परिचालक अधिकृत खम्बध्वज कार्की लगायत जिविसका पदाधिकारीहरु सहित गएको स्थलगत निरिक्षणमा जिल्ला विकास समितिबाट गरेका कार्यक्रमहरुको विषयमा समेत मन्त्रीले जानकारी लिनुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.