साँगाचोक गढी रानीपोखरीको माग

साँगाचोक गढीको रानिपोखरी गाउँपालिका गठन गर्न माग गर्दै ४ वटा गाउँ विकास समितिका राजनीतिक दलका प्रतिनिधिहरुले हिजो जिल्ला विकास समितिमा एक ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा सरकारबाट गठित स्थानीय निकाय पुनर्संरचना आयोगद्वारा इलाकालाई पनि आधार मानि निर्धारण गरिएका जनसंख्या लगायतका मापदण्ड पूरा हुने सामथ्र्यका हिसावले सक्षम र एतिहासिकताको आधारमा प्राचिन नेपाल भोट बीचको सामरिक र व्यापारिक मार्गमा रहेको प्राचिन साँगाचोक गढी आसपासका हाल सिन्धुपाल्चोक जिल्लाको इलाका नं. ९ अन्तर्गतका साँगाचोक, ठूलोसिरुवारी, इर्खु र कदमवास गाविस मिलाई एक अलग्गै गाउँपालिका गठन गर्नका लागि साँगाचोक गाउँ विकास समितिको आव्हानमा मिति २०७३ कात्तिक ६ र ९ गते उल्लेखित चार वटै गाविसका राजनीतिक दल, नागरिक समाज एवम् अन्य सरोकारवाला समितिको उपस्थितिमा भएको व्यापक छलफल र सम्बन्धित गाविसहरुले आन्तरिक रुपमा गरेका बिचार विमर्श समेतबाट अलग्गै गाउँपालिका गठन गर्ने निर्णय गरेको हुँदा माथि उल्लेखित ४ वटा गाउँ विकास समितिहरुको एक अलग्गै साँगाचोक गढी रानीपोखरी गाउँपालिका गठनको लागि २२ हजार ३ सय ८९ जना नागरिकको तर्फबाट माग गरिएको बताइएको छ । ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा माओवादी, क्रान्तिकारी माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल लगायतका दलका प्रतिनिधिहरु सहितको टोलीले स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही मार्फत ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी शाहीले स्थानीयहरुको माग सम्बोधनको लागि आफूले पहलकदमी गर्ने बताउँदै आफू र आफ्नो तर्फबाट हुनपर्ने सहयोग हुने बताउनुभएको नेपाली कांग्रेसका साँगाचोक गाउँ इकाई समितिका सभापति केशवराज गिरीले जानकारी गराउनुभयो ।
जिल्ला विकास समिति मार्फत बुझाइएको उक्त पत्रको कार्यान्वयनको सम्बन्धमा आ–आफ्नो दलहरुबाट दवाव दिने योजना रहेको पार्टी प्रतिनिधिहरुले बताएको छ ।
यस अघि रामदेवी मावि साँगाचोकमा सर्वदलीय सर्वपक्ष भेला समेत भएको थियो । उक्त भेलामा नेपाली कांग्रेस साँगाचोक इकाईका केशवराज गिरी, कदमवासका दुर्गाराज गिरी, इर्खुका तीर्थबहादुर श्रेष्ठ लगायतका कांग्रेसका गाउँ प्रतिनिधिहरु र  साँगाचोक नेकपा एमालेका साधुराम खतिवडा, सुदनराज गिरी, यमबहादुर महत लगायतका उपस्थिति रहेको थियो भने एनेकपा माओवादीका सल्लाहकार संयोजक विष्णुलाल श्रेष्ठ, दलबहादुर दंगाल, नेकपा माओवादी केन्द्रका दधिराम पराजुली, राप्रपाका झम्कबहादुर सापकोटा, नेकपा माओवादीका देवी दुलाल लगायतका नागरिक वडा समाजका सदस्यहरु समेतको उपस्थितिमा नेपालको संविधान २०७२ अनुसार गठित राज्य पुर्नसंरचना आयोगले निर्धारण गरेको मापदण्ड अनुसार सिन्धुपाल्चोक जिल्ला इलाका नं. ९ अन्तर्गतका ४ वटा गाउँ विकास समितिहरु साँगाचोक, ठूलोसिरुवारी, इर्खु र कदमवासका कूल जनसंख्या २०६८ को जनगणना अनुसार २२३८३ रहेको र सामथ्र्यको हिसावले पनि सक्षम र भौगोलिक संस्कृतिक हिसाव लगायत विभिन्न कारणले गर्दा ४ वटा गाविसको एक गाउँपालिका गठन गर्ने र त्यसको केन्द्र जल्केनीलाई तोक्ने र गाउँपालिकाको नाम साँगाचोक गढी रानीपोखरी गाउँपालिका राख्ने निर्णय गरिएको थियो ।
सो भेलाले साँगाचोकलाई ५ वटा वडा, ठूलोसिरुवारीलाई ३ वटा, इर्खुलाई २ वटा, कदमवासलाई २ वटा गरी १२ वटा वडा राख्ने प्रस्ताव समेत गरिएको छ । प्रस्तावमा साविक साँगाचोक गाविस वडा नं. ५ अन्तर्गत रहेको साँगाचोक बन्देउको दक्षिण तर्फ रहेको पूर्व सुनकोशी नदी, पश्चिम इन्द्रावती नदी र उत्तरतर्फ अरनिको राजमार्ग रहेको बन्देउ बुढाथोकी टार दोलालघाट क्षेत्र जिल्लागत हिसावले सिन्धुपाल्चोकको नक्शामा रहेको तर काभ्रेपलाञ्चोक जिल्लाले विगत ३५ वर्षदेखि कब्जा गरी आएकोले उक्त क्षेत्रलाई प्राकृतिक सीमा र जिल्लागत नक्शा समेतलाई आधार मानि प्रस्तावित साँगाचोक गढी रानीपोखरी गाउँपालिका अन्तर्गत राख्ने व्यवस्था गर्न सम्बन्धित पक्षसँग अनुरोध गर्ने निर्णय समेत गरेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.