भोलीदेखि चौताराको फोहोर व्यवस्थापन हुने

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा नगरपालिका सडक साँघुरो हुनुको साथै फोहोरमैला र खानेपानीको समस्याले ग्रस्त रहेको अवस्थामा फोहोरको भने व्यवस्थापन हुने भएको छ ।

नेपाल सरकार मातहतको नगरपालिकाबाट फोहोरमैला व्यवस्थापनको लागि वजेट व्यवस्थापन गरेको भएतापनि नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको थिएन । जिल्ला खानेपानी तथा सरसफाई समन्वय समिति, विभिन्न गैर सरकारी संघ संस्थाहरुले स्वच्छता तथा सरसफाई सम्बन्धी करोडौं रुपैंया खर्च देखाएर पनि नगरवासीहरुको लागि खासै कुनै काम गरेको नदेखिएकोले नगर सुधार समितिले यो पहल गर्न लागेको नगर सुधार समितिका सचिव लुमडीबहादुर पौडेलले बताउनुभयो ।
सयांै एनजीओ आइएनजीओहरुको करोडौं पर्ने गाडीहरु चौताराको बजारमा गुड्छन्, सरसफाई सम्बन्धी लाखौंलाख खर्च गरेको देखाउँछन् तर फोहोरमैला व्यवस्थापन र खानेपानीको स्थायी व्यवस्थापन गर्नेतर्फ कसैको ध्यान नजाँदा नगर सुधार समितिले सुरुवात गरेको यस कार्यक्रमले नगरवासीहरुलाई धेरै राहत पुग्ने नगरवासीहरुले बताएका छन् । नगर सुधार समितिका सल्लाहकार कृष्णबहादुर ठकुरीले चौतारा नगरवासीहरुबाट उत्पादित फोहोरमैला व्यवस्थित गर्न कुनै निकायबाट पहल नगरिएपछि नगर सुधार समितिले सुरुवात गरेको बताउनुभयो ।
समितिका अर्का सल्लाहकार सुन्तली ढुङ्गेलले नगर सरसफाईको लागि नगरवासी नै अग्रसर हुनु परेको यस अवस्थामा सबैले मिलेर यस कार्यलाई सफल पार्नुपर्ने बताउनुभयो ।
यस अघि नगर सुधार समितिको बैठकले समितिका उपाध्यक्ष विष्णुबहादुर उप्रेतीको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन उपसमिति समेत गठन गरिसकेको र सोही उपसमितिले सम्पूर्ण जिम्मेवारी वहन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न लागिएको नगर सुधार समितिले जनाएको छ ।
हिजै नगर सुधार समितिले बजार एरियामा माइकिङ गर्दै कात्तिक ८ गते सोमबारदेखि फोहोरमैला संकलन गर्ने भएकोले नगरवासीहरुलाई आ–आफ्नो घर आँगनमा फोहोरमैला व्यवस्थित तरीकाले संकलन गरी नगर सुधार समितिबाट पठाईएको गाडीमा राखिदिन अनुरोध समेत गरेको छ ।
फोहोर व्यवस्थापन उपसमितिका संयोजक उप्रेतीले फोहोर संकलन गरेर फोहोर गोदाम गर्नको निमित्त जग्गा भाडामा लिएको र सोही भाडामा लिएको जग्गामा बजारको फोहोर संकलन गरी व्यवस्थापन गरिने समेत बताउनुभयो ।  

,
Lokpriyasamachar@. Powered by Blogger.