हिजोबाट चक्काजाम खुल्ला

दूर्घटनामा परी मृत्यु भएका आफन्तहरुलाई ठूलोसिरुवारी–८ रानीटारकी २२ बर्षिया पुनम तामाङको आफन्तहरुले क्षतिपूर्तिको माग गर्दै तीन दिनसम्म गरेको चक्काजाम हिजोबाट खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल, जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकृष्ण अधिकारी, अरनिको यातायात सेवा समितिका अध्यक्ष श्यामबहादुर लामा, वरिष्ठ यातायात व्यवसायी केदार क्षेत्री लगायतका प्रतिनिधिहरु र आफन्तका तर्फबाट रामप्रसाद गौतम, लालबहादुर श्रेष्ठ, बलबहादुर तामाङ र सोमबहादुर तामाङ बीच बन्देउ प्रहरी पोष्टमा भएको छलफल पछि आफन्तले शव बुझेको र तीन दिनदेखि भएको बन्द खुलेको हो ।
वार्तामा सहभागि लालबहादुर श्रेष्ठले  मृतक परिवारलाई अरनिको यातायात सेवा समितिले तत्काल क्षतिपूर्ति दिने भएपछि सहमतिमा पुगेको बताउनुभयो । अरनिको यातायात सेवा समितिका अध्यक्ष श्याम लामाले नियम अनुसार पाउने क्षतिपूर्ति आफूले दिने सहमति गर्नुभएपछि छलफलबाट समस्या समाधान भएको प्रहरी इन्सपेक्टर केदार बस्नेतले बताउनुभयो ।
यसअघि शुक्रबार काठमाडौंबाट चौतारातर्फ आउँदै गरेको बा.२ ख ६३६३ नम्बरको जुगल यातायातको बस र काठमाडौंतर्फ जाँदै गरेको बा ७८ प २७८२ नम्बरको मोटरसाइकललाई साँगाचोकमा ठक्कर खाँदा दूर्घटना भएको थियो ।
दुर्घटनापछि स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै जुगल यातायातको सवारी साधनहरु सडकमा चल्न दिएका थिएनन् ।
मोटरसाइकल चालक भक्तपुर कमलविनायक–४ निवासी वर्ष २२ को विकास घोरासैनी र जुगल यातायातका सवारी चालकलाई प्रहरीले हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

Lokpriyasamachar@. Powered by Blogger.