बिश्राम स्थल निर्माणका लागि बृद्धबृद्धाहरु आफै जागे

आर्थिक अभावका कारण करिब १ बर्षदेखि अधुरो अवस्थामा छोडिएको बिश्राम स्थलनिर्माणको कामलाई पुनः सुचारु गर्न ठूलोसिरुवारी गाविसका बृद्धबृद्धाहरुले कम्मर कसेका छन् । बृद्धबद्धाहरुलाई आरामगर्ने थलोको रुपमा निर्माण गर्न लागिएको सो बिश्राम स्थल गाविसको ७० हजार आर्थिक सहयोगबाट  कोटडाँडामा निर्माण गर्न थालिएको हो ।



पर्याप्त बजेट अभावका कारण विगत १ बर्षदेखि अलपत्र अवस्थामा छोडिएको सो बिश्राम स्थलको कार्य अगाडी बढाउन टुकी संघ सुनकोसीमा कार्यरत यज्ञराज कार्की, रेणुका खड्का र होमनाथ चौलागाईंको अगुवाईमा स्थानीय ज्येष्ठ नागरिकहरु स्वयंले आर्थिक सहयोग संकलनको अभियान समेत सुरु गरेर उक्त आश्रम सम्पन्न गराउन लागि परेका छन् । ज्येष्ठ नागरिकहरु सम्मिलित ९ सदस्सिय ज्येष्ठ नागरिक कल्याण मञ्च नामक एक समितिको गठन गरी बृद्धबृद्धाहरुस्वयंले आफैंले आर्थिक सहयोग समेत जुटाउन थालेका छन् ।
‘धेरैलाई सहयोगको लागि गुहार मागियो तर कसैले सहयोगको हात फैलाएनन्’ ७९ वर्षिय खड्ग बहादुर पुरीले बिश्राम स्थल निर्माणका लागि रु १ हजार आर्थिक सहयोग प्रदान गर्दै भन्नुभयो – ‘अरुको मात्रै भर परेर नहुने रैछ, आप्mनो लागि आफै जाग्नुपर्ने रैछ ।’ खड्गबहादुर जस्तै स्थानीय ८३ वर्षिय केशरबहादुर थापाले पनि २ हजार आर्थिक सहयोग प्रदान गर्दै भन्नुभयो– ‘हामीले अरुलाई माग्नु भन्दा अगाडी दिन पनि जान्नु पर्दछ ।’
ठूलोसिरुवारी वडा नं. १ कोटडाँडामा आयोजित स्थानीय ज्येष्ठ नागरिकहरुको बैठकमा उपस्थित भएका १७ जना बृद्धबृद्धाहरु मार्फत १८ हजार ५ सय र्आिथक संकलन गरिएको छ । त्यस्तै टुकी संघका यज्ञराज कार्कीले ६ हजार, रेणुका खड्काले ५ हजार पाँच सय र होमनाथ चौलागाईंले पनि ५ हजार पाँच सय आर्थिक सहयोग प्रदान गर्नुभएको छ । सहयोगकै क्रममा स्थानीय डोपबहादुर पुरीले बिश्राम स्थलमा टिभी जडानका लागि डिस्कहोम प्रदान गर्ने घोषणा गर्नुभएको छ । विश्रमस्थल निर्माणको लागि काठमाडौ निवासी उज्ववल सिंह अधिकारीले ४ बोरा सिमेण्ट प्रदानगर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।
बिश्राम स्थलको निर्माण कार्यसंगसंगै ज्येष्ठ नागरिकहरुले मासिक रुपमा रु ५० का दरले बचत गर्ने अभियान समेत थालेका छन् । ‘भैपरि आउने समस्या टार्न मात्र होइन बिरामी पर्दा औषधोपचारका लागि सहयोग पुग्ने भएकोले हामीले बचत कार्यको सुरुवात गरेका हौं’ स्थानीय ७२ वर्षिय भमाई दुलालले भन्नुभयो ।
ठूलोसिरुवारीका ज्येष्ठ नागरिकहरुको जोश र जाँगर देखेर आपूm समेत उत्प्रेरीत भएको बताउँदै टुकी संघका यज्ञराज कार्कीले भन्नुभयो ‘आप्mनो मासिक भत्ताबाट केही रकम कटाएर सामाजिक कार्यका निमित्त आर्थिक दान गर्नका लागि बृद्धबृद्धाहरु आफै अग्रसर हुनु उदाहरणीय कार्य हो । यसबाट हामी युवाबर्गले पनि पाठ सिक्नु पर्छ ।’


ज्येष्ठ नागरिकहरु सम्मिलित बैठकले सो बिश्राम स्थलन निर्माणनार्थ थपआर्थिक सहयोग जुटाउन सबै बर्गमा अपिल गर्ने र सहयोगीहरुलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । ‘ज्येष्ठ नागरिकहरुको यो उत्साहमा युवा वर्गले पनि काँध मिलाउन सके सामाजिक परिवर्तनको पाटोमा नयाँ आयाम थपिने थियो’ मञ्चका अध्यक्ष दलबहादुर श्रेष्ठले भन्नुभयो ‘बृद्धबृद्धाहरुको सोच र युवा जोश मिल्यो भने असम्भव केही छैन ।’
ज्येष्ठ नागरिकहरुकै अगुवाईमा ३ सदस्यि निर्माण समिति समेत गठन गरी आगामी हप्तादेखिनै बिश्राम स्थलको निर्माण कार्य सुचारु गर्ने सुरसार कसेका ठूलोसिरुवारीका ज्येष्ठ नागरिकहरुसँग सबै नागरिकले पनि हात्तेमालो गर्नुपर्ने आवश्यक देखिएको छ ।
ठूलोसिरुवारी गाउँ विकास समिति अन्तर्गत डडुवामा स्थानीय समाजसेवीहरुको विषेश सक्रियतामा विगत २ वर्ष अगाडिदेखि वृद्धवृद्धाहरुलाई प्रत्येक महिनाको पहिलो शनिबार भेला गराएर एक आपसमा दुखसुख पोख्ने, विगतका कुराहरु आदानप्रदान गर्ने कार्यक्रम भइरहेको छ । उक्त कार्यक्रमको संयोजन गर्नुका साथै जेष्ठ नागरिक, अपाङ्ग र असहायहरुको लागि विभिन्न कार्यक्रमको संयोजन गर्दै आउनुभएका स्थानीय समाजसेवी नेत्रबहादुर बस्नेतलाई विषेश धन्यवाद दिँदै मञ्चका अध्यक्ष श्रेष्ठले आगामी दिनहरुमा पनि यस्ता माया गर्ने व्यक्तित्वहरुको खाँचो रहेको समेत औंल्याउँदै जेष्ठ नागरिकहरुलाई एकै ठाउँमा जम्मा पारेर हामीलाई विश्रामस्थलको समेत निर्माणमा प्रेरणा दिने टुकीसंघलाई समेत विषेश धन्यवाद दिनुभएको छ ।  


Lokpriyasamachar@. Powered by Blogger.