सूचनाको पालना गर्न निर्देशन

लोकप्रिय रिपोर्टर/चौतारा-
संघीय तथा स्थानीय विकास मन्त्रालयले मातहतका स्थानीय विकास अधिकारीहरुलाई राजपत्रमा प्रकाशित सूचना, मन्त्रालयबाट जारी निर्देशनलाई तुरुन्त कार्यान्वयन गराउन निर्देशन दिएको छ ।
सरकारकाले तोकेको सडक मापदण्ड लागू गर्न समस्या परेको विषयमा स्थानीय विकास अधिकारीहरुले आवाज उठाएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
भूकम्प पीडित जिल्लाहरुमा स्थानीय विकास अधिकारी, नगरपालिकाका कार्यकारी प्राविधिक कार्यालयका प्रमुखहरु बीच मन्त्रालयले पुनर्निर्माण तथा स्थानीय स्तरमा गर्नुपर्ने कार्यको बारेमा छलफलको क्रममा यस्तो भनाई आएको हो । जिल्ला विकासका लागि दिइएको रकम वितरणमा परेका समस्याहरुका विषयमा छलफल गरेर कस्तो नीति बनाउँदा सहज हुन्छ त्यस सम्बन्धमा सुझाव संकलन गर्दै पूर्वाधारको रकम खर्च नभएकोले यसलाई कसरी व्यवस्थित गर्ने, त्यस सम्बन्धमा तुरुन्त व्यवस्थापन गर्न समेत मन्त्रालयले स्थानीय विकास अधिकारीहरुलाई निर्देशन दिएको छ ।
पुनर्संरचनाको विषयमा जिल्लामा के कस्ता समस्या भएका छन्, त्यो समस्या समाधान गर्न के गर्न सकिन्छ यस विषयमा समेत सुझाव माग गर्दै मन्त्रालयले नेपाल सरकारद्वारा जारी निर्देशन राजपत्रमा प्रकाशित सूचना एवम् कार्यान्वयन नगरेर आलटाल गर्ने कर्मचारीहरुलाई कार्वाही समेत गरिने भएकाले यथाशीघ्र कार्यान्वयमा ल्याउन समेत निर्देशन दिएको छ । यो निर्देशनले सिन्धुपाल्चोकको बन्देउ चौतारा सडकको मापदण्ड पनि राजपत्रमा प्रकाशित सूचनाको आधारमा नै कार्यान्वय हुने भएको छ ।
त्यस सम्बन्धमा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीसँग सम्पर्क गर्दा मन्त्रालयलाई आफूले सडक मापदण्डको विषयमा जिल्लाको समस्याको अवगत गराएको भएता पनि अर्को निर्णय नभएसम्म राजपत्रमा प्रकाशित सूचना तथा मन्त्रालयको निर्देशन अनुसार कार्य गर्न भनेकाले आफूले उक्त निर्देशनको पालना गर्ने वाध्यतामा रहेको बताउनुभयो । उहाँले जिल्लाको प्रत्येक वडा, वस्तीमा टोल टोलमा, सामुदायिक पूर्वाधार निर्माण समन्वय समिति निर्माण गर्ने समेत निर्देशिका जारी भएको र त्यस समितिले समेत स्थानीय स्तरमा कार्यक्रम गर्ने भएकोले यसको समेत कार्यान्वयन गर्न निर्देशन भएको बताउनुभएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.