मेलाको पूर्वसन्ध्यामा सरसफाई

लोकप्रिय रिपोर्टर/चौतारा-
जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा विकसित भएको गौराती मेलाको सुरुवातसँगै सरसफाईको कार्यक्रम पनि सुरु भएको छ ।
स्थानीय गौराती युवा समूहको आयेजनामा हिजो जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यालय, गोरखबहादुर गण, चौतारा नगरपालिका कार्यालय, गौराती भीमेश्वर गुठी, गौराती युवा क्लव तथा नगर सुधार समिति चौताराका प्रतिनिधिहरुको विषेश उपस्थितिमा गौराती भीमेश्वर मन्दिरको परिसर सरसफाई गरिएको छ ।

विशेष गरी सेना र प्रहरीहरुको बाक्लो उपस्थितिमा भएको सरसफाई कार्यक्रममा जिल्लाका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नगरवासीहरु लगायत जिल्लाका अन्य क्षेत्रका बासिन्दाहरुको समेत उल्लेख्य सहभागिता रहेका थियो ।
गौराती मेलाको लागि आउने पर्यटकहरुलाई सहजता र सुरक्षाको निमित्त जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला विकास समिति तथा चौतारा नगरपालिकाले विभिन्न कार्यक्रमहरु गरेका छन् । विषेश गरी चाडबाडमा हुने हुलदंगा र पकेटमार तथा अप्रिय घटनाहरुसँग भक्तजनहरुलाई जोगाउनको निमित्त प्रहरीले ठूलो संख्यामा सादा पोशाकका प्रहरी समेत परिचालन गरेको छ । मेला लाग्ने समय सुरु भएपछि मेला भर्न आउनेहरुको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले प्रहरीको संख्या मेलामा केन्द्रीत गराएको प्रहरी निरिक्षक केदार बस्नेतले बताउनुभयो ।
हरेक वर्ष कार्तिक पूर्णिमाको दिनबाट शुरु भई पञ्चमीका दिनमा सकिने गौराती मेला हरिवोधनी एकादशीबाट सुरु भई पञ्चमीसम्म लाग्ने    गौराती युवा समूहका सचिव चन्द्रबहादुर खत्रीले बताउनुभयो ।
गौरती भिमेश्वरको मेला जिल्लाको सबैभन्दा ठूलो र रमणीयको रुपमा भक्तजनहरुले लिने गरेका छन् । यो मेलामा सिन्धुपाल्चोक लगायत छिमेकी जिल्ला काभ्रे, दोलखा, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, चितवन, काठमाडौं लगायतका जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आउने गरेको समेत सचिव खत्रीले बताउनुभयो ।
चौताराको पुरानोबजार स्थित गुठीघरबाट भिमसेनको मूर्तीलाई रथमा लगि पूणिमाको रात गौरती मन्दिरमा रहेको मूर्तीसँग मिलन गराएपछि पूर्णिमाको भोलिपल्ट पुनः फर्काईन्छ । गुठीयारको घरघरमा समेत पूजा गर्ने चलन छ । जिल्ला प्रशासन लगायत जिल्लाका सबै कार्यालयहरुमा समेत पूजा गरिन्छ ।
गाईले राती–राती एउटा ढिस्कोमा दुध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ती प्रकट भई दैनिक पूजा गरे भलो हुने बताएर मूर्ति अन्र्तध्यान भएपछि सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात गाईले राती दुध चढाएको कारण गौरती र भूमि खनेर  उत्पत्ति भएकोले भूमेश्वरको नामले चर्चित हुँदै कालान्तरमा भिमेश्वर हुन गएको मान्यता छ ।
यहाँको मूर्ति चोरले चोरेर लग्दा समेत गौराती भीमेश्वरको शक्तिका कारण फेला परेको गौरातीका स्थानीय वाङ्गेल लामाले बताउनुभयो । चोरी भएको मूर्ति फेला परेपछि चोरहरुलाई कार्वाहि गर्नुका साथै पूर्ति पुरातत्व विभागमा राखिएको थियो । स्थानीय नगरवासीहरुको माग अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतको विषेश सक्रियतामा मूर्ति पुनः मन्दिरमै राखिएको छ ।
पूर्णिमाको दिन बेलुका बत्ती बालेर मन्दिरमा पूजाआजा गरेमा कार्यसिद्ध हुने र मनले चिताएको पूरा हुने भएकोले बढी भक्तजनहरुको भीड लाग्ने गरेको स्थानीय श्याम तामाङले बताउनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.