गौराती मेला भोलि

नेत्रबहादुर बस्नेत/चौतारा-
सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिक स्थल गौरातीमा हरेक वर्ष कात्तिक पूर्णिमाको दिन लाग्ने मेलाको मुख्य दिन भोलि मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ । परम्परा, धर्म र संस्कृतिलाई बचाईराख्नको निमित्त राष्ट्रको विभिन्न क्षेत्रमा आवाज उठिरहँदा जिल्लाको प्रसिद्ध धार्मिक स्थलमा पनि सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

राष्ट्रिय कलाकारहरु शिवहरी नेपाल बैरागी, दमन रुपाखेती, इन्दिरा गुरुङ लगायत जिल्लाका वरिष्ट कलाकारहरुले आज बेलुकादेखि नै भक्तजनहरुलाई मनोरञ्जन दिने  कार्यक्रम रहेको गौराती युवा समूहका सचिव चन्द्रबहादुर खत्रीले बताउनुभयो ।
मन्दिर परिसरमा व्यापार, व्यवसायलाई समेत ध्यानमा राखि पसल राख्न स्टलहरु निर्माण गरिएको छ । प्रतिस्टल ५ सय देखि १५ सय भाडा तोकिएको र त्यसबाट उठेको रकम विद्युत प्राधिकरणमा विद्युतको रकम बुझाउने गौराती युवा क्लवका अध्यक्ष वाङगेल लामाले बताउनुभयो ।
गौराती भीमेश्वर जिल्लाको सदरमुकाम चौताराबाट करिब ४ कि.मी. उत्तरतिर पर्छ । यो जिल्लाको सबैभन्दा प्रसिद्ध तिर्थस्थल हो । यहाँ भीमेश्वरको मन्दिर छ । जसलाई गौराती भीमेश्वर भनिन्छ । यहाँ कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्दछ । यस मेलामा नेपालका विभिन्न ठाउँ र छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् । करिब ५,००० फिटको उचाईमा रहेको यो मन्दिरको सांस्कृतिक र धार्मिक महत्व त छँदैछ, अझ यहाँबाट जुगल हिमाल एवं चारैतिरका सुन्दर दृश्यहरूको दृश्यावलोकन पनि गर्न सकिने भएकोले यसको पर्यटकीय महत्व पनि रहेको छ । साथै पुनर्निर्मित गौराती भीमेश्वर मन्दिर परिसरको २०५३ साल मार्ग २ गतेका दिन तत्कालीन् राजा वीरेन्द्रबाट उद्घाटन भएपश्चात् यस मन्दिरको महत्व अझ बढेको पाइन्छ ।
गौराती मेला सिन्धुपाल्चोक जिल्लामा लाग्ने सबैभन्दा ठूलो मेला हो । यो मेला सांस्कृतिक हिसाबले सिन्धुपाल्चोकको धरोहर पनि हो । हाल गौराती चौतारा नगरपालिकामै पर्छ । विगतमा भने यो तत्कालीन् पीपलडाँडा गाविसमा पर्दथ्यो । प्रत्येक वर्षको कार्तिक पूर्णिमाका दिन लाग्ने सो मेलामा हजारौं दर्शनार्थीहरू भेला हुन्छन् । पौराणिककालमा पाँच पाण्डवहरू गुप्तबास बस्ने क्रममा काभ्रेको पाँचखालहँुदै गौराती बसेको र भीमसेनले गौरातीमा पूजा अर्चना गरेपछि त्यहाँबाट चौतारामा पाइला टेक्दै दोलखा गएको भन्ने जनश्रुति छ ।
कार्तिक पूर्णिमाको दिन चौतारा पुरानोबजारस्थित भीमेश्वरको मन्दिरबाट भीमसेनको मूर्ति रथमा राखी गौरातीस्थित भीमेश्वरको मन्दिरमा लगिन्छ । त्यहाँ चौतारा भीमेश्वर र गौराती भीमेश्वरको मिलन गराईन्छ । यो मेला चौतारा अस्तित्वमा आएदेखि नै चलिआएको छ । मेलामा जिल्ला भित्रबाट मात्रै होइन, देशका कुनाकाप्चा र भारतबाट समेत दर्शनार्थी आउने गर्दछन् ।
मेलालाई शान्त, सभ्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सुरक्षाको व्यवस्था कडा गर्दै मेलामा अप्रिय घटना घटन नदिन सादा पोशाकका प्रहरीहरु खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक केदार बस्नेतले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.