रेडक्रसको कार्यक्रम प्रभावकारी

नेत्रबहादुर बस्नेत/नवलपुर-
नवलपुरमा महिला नेतृत्व सहकारी प्रशिक्षण सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीले नवलपुर गाविस स्तरीय महिला सहकारी नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।
महिला नेतृत्व विकास कार्यक्रममा प्रशिक्षण दिँदै प्रशिक्षक बालकृष्ण सेढाईले विभिन्न ११ समूह निर्माण गरेर प्रत्येक समूहमा २०–२० जनाको सहभागितामा प्रति समूहलाई ३० हजारका दरले बाख्रा पालनमा सहयोग गरेपछि ४ वर्षको अन्तरालमा १८ लाख भन्दा बढीको आम्दानी भएको बताउनुभयो ।
उहाँले नेतृत्व विकास तथा आत्मनिर्भरता विषयमा आयआर्जन गर्ने तरीका र व्यवसायिक व्यवस्थापन तथा स्थानीय स्तरमै रोजगारीको अवस्था सिर्जना भएको बताउँदै विगत ४ वर्षमा नै यसरी उपलब्धीमूलक कार्यक्रम भएकोले यो कार्यक्रमलाई अझ प्रभावकारीता बनाउन सहकारीताको माध्यमबाट व्यवसाय विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।


महिलाहरुले गरेको काम स्थायित्व हुने र दीर्घकालिन रुपमा समेत यसले प्रभाव पार्ने भएकोले महिलाहरुलाई शसक्त ढंगले अगाडि बढाउनुपर्ने आवश्यकतामा समेत उहाँले जोड दिनुभएको छ ।
अर्का प्रशिक्षक हरि बजगाईले सहकारीताको माध्यमबाट स्थानीय विकास तथा स्वरोजगारको सिर्जना भइरहेको र यसको सहकारी ऐन नियम र मर्म अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीले विगतमा गरेका कामहरुको प्रशंसा गर्दै स्थानीय रमा सापकोटाले मानव बेचबिखन जीवनोपयोगि जातिय भेदभाव र एचआइभी रोग सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम दिएपछि स्थानीयहरु यस विषयमा जानकार भएका र एकले अर्कालाई बोल्दा लजाउने प्रवृत्ति समेत रोकिएको बताउनुभयो ।
स्थानीय सम्झना श्रेष्ठले आमा समूहमा रहेर काम गर्ने थुप्रै आमा तथा दिदीबहिनीहरुलाई नेपाल रेडक्रस सोसाइटीले चलाख बनाएको, विपद्को बेलामा सहयोग गरेको र रेडक्रसले विभिन्न चेतनामूलक कार्यक्रम गरेको कारण स्थानीय ४ सय ५० भन्दा बढी महिलाहरु यसबाट प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो ।
त्यस्तै स्थानीय देवकी तामाङले रेडक्रसबाट शिक्षा पाएपछि त्यहि शिक्षा अवलम्बन गरेर अनुसन्धान गर्दा बेचिन लागेको २ जना किशोरीको उद्धार गरेको र किशोरी बेच्ने आफन्तलाई कार्वाहि गर्न सफल रहेको बताउँदै नेपाल रेडक्रस सोसाइटीले विगतका दिनहरुमा गरेका कामहरुले धेरै मानिसलाई उद्धार गरेको बताउनुभयो ।
स्थानीय पार्वती खनालले नेपाल रेडक्रस सोसाइटी जस्ता अन्य संस्थाहरु पनि आए, अन्य संस्थाहरुले पैसा बाँढे तर रेडक्रसले पैसा बाँढेन शिक्षा बाँढ्यो, त्यसैले यो शिक्षाको स्थायित्वले गर्दा हामी महिलाहरुमा धेरै परिवर्तन गराएको छ भन्नुभयो ।

त्यस्तै नवलपुर माविमा कक्षा ९ मा अध्ययनरत संगम तामाङले लैगिक विभेद तथा जातिय विभेदको विषयमा विद्यार्थीहरुले शिक्षा प्राप्त गरेको बताउनुभयो । त्यस्तै अर्का विद्यार्थी एलिना लामाले रेडक्रसले सिकाएको कुरालाई व्यवहारमा कार्यान्वयन गराउँदा आफ्नो छिमेकमा धेरै मानिस रोजगारमा संलग्न रहेको बताउनुभयो । कक्षा ८ मा अध्ययनरत राजकुमार तामाङले विभिन्न लोभ देखाएर विदेशमा लगेर मान्छे बेच्ने काम रोक्नको निमित्त रेडक्रसले दिएको प्रशिक्षणले ठूलो काम गरेको बताउनुभयो ।
कार्यक्रममा मानव सेवा संस्थाका केन्दीय अध्यक्ष तथा नेत्रज्योती कृषि सहकारी संस्थाका अध्यक्ष शान्ता थापा क्षेत्री, मानव सेवा संस्थाका केन्द्रीय कोषाध्यक्ष तेजबहादुर क्षेत्री, नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक राजकुमार थापा लगायतको उपस्थिति रहेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.