कुविण्डेमा नमूना प्रविधी प्रदर्शनी घर बन्ने

साविकको कुविण्डे गा.वि.स. (हाल चौतारा नगरपालिका वडा नं. ५ र ६) को गाविस स्तरिय भेला देउरालीमा सम्पन्न भएको छ । उक्त भेलाले  टेक बहादुर नेपालको संयोजकत्वमा ११ सदस्य गाविस स्तरिय पूनर्निर्माण समिति गठन गरेको छ ।
राजनीतिक दलकोे प्रतिनिधि, वडा नागरिकको मञ्चका प्रतिनिधि, नगरपालिकाको इन्जिनियर, वडा स्तरिय पूनर्निर्माण समितिका सदस्यहरु साथै स्थानिय बुद्धिजीवी गरी ४२ जना भेलामा सहभागी थिए । वडा स्तरिय भेलाले मनोनयन गरेका ८५ व्यक्तिहरु मध्येबाट ४८ व्यक्तिहरु डकर्मी, सिकर्मी तालिमका लागि छनोट भएका छन् ।

छनौट भएका व्यक्तिहरुले करिव ४५ दिन लामो भुकम्प र जोखिम प्रतिराधी घर निर्माण सम्बन्धि तालिम पाउने भएका छन् । सो तालिम संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी)को सुदढ पूनर्निर्माणद्धारा सुरक्षित समाज निर्माण परियोजनाको सहयोगमा हुन लागेको हो ।
त्यस्तै सो भेलाले वडा स्तरिय भेलाबाट मनोनयनमा परेका ८ घरधुरीहरु मध्येबाट ४ घरधुरी नमुना प्रद्धशनी घर निर्माणका लागि छनोट गरेको छ । छनौटमा परेका घरधुरीहरुमा वडा नम्बर २, ४, ६ र ८ बाट क्रमशः वेलीश्रेष्ठ, पुर्णमाया तामाङ्ग, खड्ग कुमारी नेपाली र मंगलबहादुर रम्तेल रहेको यूएन्डिपीका परियोजना अधिकृत संजय परियारले जानकारी दिनुभयो । साथै उहाँले छनौटमा परेका घरधुरीहरुको घर निर्माण कार्य तुरुन्त सुरु हुन समेत जानकारी गराउनुभयो ।
परियोजनाले गाविस स्तरिय पूनर्निर्माण कार्ययोजना बनाउनको निमित्त पनि सहजिकरण गरेको थियो । कार्यक्रमको समापन वडा ५ र ६ का सचीव सरुप तामाङले गर्नु भएको थियो । उहाँले यूएन्डिपीको सहजिकरणमा छनौट गरिएका तालिमका सहभागी साथै नमुना घर निर्माणको लागि छनौेट भएका घरधुरीहरु अत्यन्त बैज्ञानीक र व्यवहारीक भएको जनकारी गराउँदै आगामी दिनमा नमूना घर निर्माणले साविकको कुविण्डे गाविसको पुनर्निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस यरियोजनाले कुविण्डे वाहेकका ईर्खु, सीपापोखरे, बाडेगाँउ र भोटसिपा गाविसमा समेत  प्रविधी प्रदर्शनी घर बनाउने भएको छ । सिन्धुपाल्चोक जिल्लाको पाँच वटा गाविसमा २० नमुना घर बनाउनुको साथै २२५ भन्दा माथिको सङ्ख्यामा डकर्मी, सिकर्मी तालीम दिने परियोजना अधिकृत परियारले बताए ।

Lokpriyasamachar@. Powered by Blogger.