उद्योग दिवसको अवसरमा सम्मान

नेत्र बस्नेत/चौतारा- घरेलु तथा साना उद्योगीहरुको आत्मावल बढाउन र उनीहरुको उद्योगलाई स्थायित्व प्रदान गर्न सके मात्र ठूला उद्योगीहरुलाई मद्धत पुग्ने र घरेलु तथा साना उद्योगलाई विकसित र व्यवस्थित गर्नको निमित्त सबै पक्ष मिलेर सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताउनुभएको छ ।
उहाँले उद्योग दिवसको अवसरमा जिल्ला विकास समितिको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट उक्त कुरा बताउनुभएको हो ।



स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले सभापतिको आसनबाट बोल्दै विकासे कार्यक्रमहरु कार्यान्वयन गर्न र स्थानीय स्तरमा उत्पादित र सञ्चालित उद्योगहरुलाई व्यवस्थित तरिकाले सञ्चालित गर्न जिल्लाका उद्योग व्यवसायीहरुसँग जिल्ला विकास समिति सधैं हातेमालो गर्न तयार रहेको बताउनुभयो । साना तथा ठूला उद्योगहरुले देशमा स्वरोजगार सिर्जना गर्दै स्थानीय स्तरमा आयस्रोतको समेतमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट पार्दै उद्योग व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर गर्न प्रेरणा दिने उद्देश्यले सरकारले उद्योग दिवस मनाउन लागेको समेत प्रष्ट पार्नुभयो ।
घरेलु तथा साना उद्योग विकास अधिकृत सिन्धुपाल्चोकका कल्पना शर्माले खासगरी साना तथा ठूला उद्योग, कलकारखानाहरुको कारण नै  आर्थिक उन्नती हुने भएको हुँदा यस्ता उद्योगहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवस मनाउन लागेको बताउनुभयो ।
जिल्ला विकास समितिका कार्यक्रम अधिकृत राजुभाई श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जिल्लामा नियमित रुपले उद्योग व्यवसाय सञ्चालन गरी आएका उद्योगीलाई सम्मान तथा पुरस्कार दिएको थियो । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा जिल्ला विकास समिति सिन्धुपाल्चोक, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक, जिल्ला उद्यमी संघ सिन्धुपाल्चोकको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जितबहादुर गिरी (लप्सी क्याण्डी), सानुमाया गुरुङ (सिलाईबुनाई), छिरिङ ग्याल्वो लामा (हाते कागज), रामशरण लामिछाने र सन्तबहादुर बोगटी (छाला), फत्तलाल श्रेष्ठ (विग्रेट), कल्याणी घिसिङ (गार्मेन्ट) र पदमबहादुर विक (हस्तकला) साना उद्योगीहरुलाई सम्मानका साथै नगर पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै संस्थागत रुपले जिल्ला लघु उद्यमी संघ र सिन्धु विकास केन्द्रलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सिलाईकटाई तर्फ प्रशंसा पाउने व्यक्तिहरुमा सानुमाया गुरुङ, शेरबहादुर शिवाकोटी, सावित्री भण्डारी, परिमाया तामाङ, यमकुमारी घले, धनबहादुर दमाई रहनुभएको छ ।
नेपाल सरकार उद्योग मन्त्रालयको यस वर्षदेखि उद्योग दिवस मनाउने निर्णय गरे अनुसार सिन्धुपाल्चोकमा पनि हिजो उक्त दिवस मनाइएको हो । प्रेसचोकबाट प्रभातफेरी ¥याली सहित जिल्ला विकास समितिको प्राङ्गणमा पुगेर सम्मान कार्यक्रम गरिएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.