२९ गते साँगाचोक बन्दको घोषणा

ग्रामीण सडक नागरिक संघर्ष समिति साँगाचोकले जिल्ला विकास समितिलाई सरकारले तोकेको मापदण्ड अनुसार ग्रामीण सडकका दाँयाबाँयाका घर तथा जग्गाधनीलाई समस्या परेको भनि जिल्ला विकास समिति मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
साँगाचोक गाविस अन्तर्गत रहेको नेकपा माओवादी केन्द्र र नेकपा क्रान्तिकारी माओवादीको एक्येवद्धता साथ ५ बुँदे मागहरु राख्दै माग पूरा नभए जिल्ला विकास समितिलाई २९ गते साँगाचोक बन्दको कार्यक्रम सहितको ज्ञापनपत्र बुझाइएको सञ्चारकर्मी अशोक पराजुलीले जानकारी दिनुभएको छ ।
ग्रामीण सडकको हकमा जिल्ला विकास समितिले परिपत्र गरेको सडक नियमावली खारेज गरिनुपर्ने, सडक नियमावली देखाएर जनतालाई आतंकित पार्ने काम बन्द गरी सहज रुपमा घर बनाउने वातावरण सिर्जना गर्नुपर्ने, गाविसले निर्धारण गरेको ग्रामीण सडक नियमावली कार्यान्वयन गरिनुपर्ने, राज्यको सूचीमा सूचिकृत हुनबाट वञ्चित गरिएका भूकम्प पीडितहरुलाई गुनासो फारम भरेका नागरिकाको गुनासो तत्काल सुनुवाई हुनुपर्ने, सरकारी अनुदान पाउनेको सूचीमा नाम भएर पनि विविध कारणले (विदेशमा भएर, नाम नमिलेर) अनुदान रकम पाउनबाट वञ्चित पीडित परिवारलाई तुरुन्त रकम दिने व्यवस्था मिलाउन माग गरेको छ ।
ग्रामीण सडक नागरिक संघर्ष समितिका संयोजक चक्रबहादुर तामाङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा २५ गतेसम्म उल्लेखित मागहरु पूरा नगरे २६ गते विहान ८ बजेदेखि ९ बजेसम्म १ घण्टा, २७ गते विहान ८ बजेदेखि १० बजेसम्म २ घण्टा, २८ गते विहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा चक्काजाम गर्नुका साथै २९ गते साँगाचोक बन्द गराई सोही दिनदेखि गाविसमा खटिएका पुनर्निर्माण प्राधिकरणका इन्जिनियर तथा प्राविधिकलाई कामकाजमा रोक लगाउने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, शहरी विकास कार्यालय सिन्धुपाल्चोक र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिन्धुपाल्चोकलाई बोधार्थ दिएर बुझाइएको ज्ञापनपत्रमा सरकारी मापदण्ड अनुसार ग्रामीण सडकको हकमा दाँया ७.५, बाँया ७.५ मिटर र सेटव्याक ३ मिटर गरी १८ मिटर चौडाई सडक रहने भनिएकोमा ग्रामीण क्षेत्रमा त्यो मापदण्ड लागू गर्दा धेरै जनता घरवारविहीन हुने भएको र सुकुम्बासी बनाउन समेत लागेको बताउँदै ग्रामीण सडकमा दोहोरो गाडी गुड्दा बाटो फराकिलो चाहिने भएको हुँदा जनतालाई मर्कामा नपर्ने गरी गाविसले तयार गरेको मापदण्डलाई लागू गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.