एम्बुलेन्स चालकलाई प्रशिक्षण

लोकप्रिय रिपोर्टर/चौतारा-
मानवको जन्मसँगै बाँच्ने आशा हुन्छ । जन्मने वित्तिकै उसले आफ्नो अधिकार खोज्छ । मानव विकासको लागि स्वास्थ्यको मुख्य भूमिका हुन्छ । जो मानिस स्वस्थ र शिक्षित रहन्छ त्यो मानिसले जीवनमा कुनैपनि दुःख भोग्नु पर्दैन । मानिसलाई समस्या परेको बेला समस्याको समाधान गर्नु मुख्य दायित्व रहन्छ । दूर्घटना जानकारी दिएर हुँदैन । आकस्मिक हुन्छ । यसरी आकस्मिक हुने दूर्घटनाबाट मानिसलाई कसरी बचाउने भन्ने विषयमा लोकप्रिय समाचार दैनिकले जिल्लाभरीका एम्बुलेन्स चालक, सुरक्षा निकायका चालकलाई जिल्लामा भेला गराएर प्रशिक्षण कार्यक्रम गरेको छ ।








जिल्ला विकास समिति सिन्धुपाल्चोकको सभाहलमा हिजो भएको उक्त कार्यक्रममा नेपाली सेना, जनपथ प्रहरी, शसस्त्र प्रहरीका सवारी चालक, जिल्ला भरी रहेका एम्बुलेन्स चालकहरुको विषेश उपस्थितिमा भएको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रविन्द्र केसीले गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले अकस्मात दूर्घटना हुँदा सर्वप्रथम सुरक्षाकर्मी त्यहाँ पुग्ने सुरक्षाकर्मीले तत्काल उद्धारको कार्य गर्नुपर्ने बताउँदै एम्बुलेन्स चालकले प्रारम्भिक चरणमा गर्नुपर्ने कार्यको लागि लोकप्रिय दैनिकले यसरी कार्यक्रम गरेकोमा धन्यवाद दिँदै समाजमा घट्ने कुनैपनि घटनामा तत्काल घटनास्थलमा गर्नसक्ने प्राथमिक उपचार र मानिसलाई बचाउन खेल्नुपर्ने भूमिकाको बारेमा प्रष्ट पार्नुभएको थियो ।
केसीले सुरक्षा निकाय मात्र नभई सबै नागरिकले प्राथमिक उपचार सम्बन्धी ज्ञान हासिल गर्नु, विरामीलाई सुरक्षित अस्पतालसम्म पु¥याउने विषयमा जानकार रहनुपर्ने बताउनुभयोे ।
प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य राख्दै लोकप्रिय दैनिकका प्रकाशक नेत्रबहादुर बस्नेतले जिल्लामा अहिलेसम्म एम्बुलेन्सको तथ्याङ्क समेत नभएको स्वास्थ्य क्षेत्र बिस्तारै तहसनहस हुँदै गएको प्रति इङ्कित गर्दै सामाजिक संस्थाहरुले समाजलाई शिक्षित गर्न र समाज विकास गर्न स्वास्थ्यको विकास गर्नुपर्ने र जिल्लामा रहेका एम्बुलेन्स चालकको विवरण हुनु, उनीहरुको समस्या समाधान गर्नु पनि सबैको दायित्व रहेको बताउनुभयो ।
बस्नेतले सवारी एम्बुलेन्स चालकहरुले पनि साथमा सवारी चालक परिचय पत्र र सवारी दर्ता किताव अनिवार्य राखेर सेवा दिन आग्रह गर्दै जिल्लाभरीको एम्बुलेन्स चालकहरुलाई पर्न सक्ने समस्याको बारेमा सतर्क रहेर काम गर्न सकेन अनुरोध गर्नुभयो । उहाँले एम्बुलेन्स सेवा सञ्चालन गर्दा सवारी चालक तथा सञ्चालकलाई पर्ने समस्याको समाधान गर्न सबै एकजुट भएर लागि पर्नुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले लोकप्रिय समाचार दैनिक पत्रिकाले पत्रिका प्रकाशन गर्ने काम मात्र नभएर समाज विकासको लागि  स्वास्थ्य क्षेत्रमा पनि अविष्मरणिय कार्य गरेकोले धन्यवाद दिनुभयो ।
उहाँले सहभागिहरुलाई नाडेमबाट प्राप्त प्राथमिक उपचार सम्बन्धी सामग्रीहरु वितरण गर्दै यस्ता किसिमका सामाजिक कामहरु गर्नेलाई सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो । उहाँले दूर्गम ग्रामीण क्षेत्रमा सञ्चालित एम्बुलेन्सहरुलाई दिइएको यो सामान अति महत्वपूर्ण हुने र आज सिकेको प्रशिक्षणबाट धेरै नयाँ कुराहरुको ज्ञान हासिल भएकोले यस्तो किसिमको सीप अरुलाई पनि सिकाउन सहभागिहरुलाई आग्रह गर्नुभयो ।
सहभागिको तर्फबाट बोल्दै किष्टोन हस्पिटल बाह्रबिसेका सचिव ज्ञानेन्द्रबहादुर राउतले लोकप्रिय दैनिक पत्रिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको महसुस गर्दै जिल्लामै पहिलो पटक निःशुल्क चिनीरोग परीक्षण तथा औषधी वितरण गर्ने काम गरेको र अहिले जिल्लामा रहेका सबै एम्बुलेन्स चालक तथा सञ्चालकलाई यस्तो खालको अति आवश्यकिय प्रशिक्षण दिएर एम्बुलेन्सलाई आवश्यक पर्ने सामान समेत उपलब्ध गराएर ऐतिहासिक काम गरेकोले स्वास्थ्य क्षेत्रमा ठूलो मद्धत पुगेको बताउनुभयो ।
सहभागिकै तर्फबाट जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका गणेशकुमार रानाभाटले आफूहरु सुरक्षाकर्मीको तर्फबाट सवारी साधन लिएर घटनास्थलमा पहिला पुग्ने भएकाले यो प्रशिक्षण, अनुभव र आवश्यक सामग्रीहरुको अति आवश्यकता थियो, त्यो आवश्कतालाई नाडेम र लोकप्रियले पूरा गरिदिएकोमा धन्यवाद दिँदै आफूले सिकेका सीपहरु सबैलाई सिकाउने समेत प्रतिवद्धता गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा नेपाल डिजास्टर मेडिसिन सेन्टर (नाडेम)का प्रवन्ध निर्देशक तथा शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक डा. रमेशकुमार महर्जनले मानिसको विकासका बारेमा, मानिस दूर्घटनामा पर्दा कसरी सुरक्षित गर्ने, विरामी परेको मान्छे जिउँदो वा मृतक कसरी पत्ता लगाउने, विरामीलाई कसरी सुरक्षित स्थानसम्म पु¥याउने, घटना घटेको स्थानमा कसरी विरामीलाई सुरक्षित गर्ने लगायतका विषयमा प्रयोगात्मक प्रकाश पार्दै घटनास्थलमा उपचारमा खटिएका चालक र आपतकालिन अवस्थामा रहेका मानिसलाई सुरक्षित गराउने तर्फ प्रशिक्षण दिनुभएको थियो ।
उहाँले प्रत्येक एम्बुलेन्स र सुरक्षाकर्मीको सवारी चालकलाई प्राथमिक उपचार सम्बन्धी आवश्यक सामग्री उपलब्ध गराउनुभयो ।
यसरी प्रशिक्षण लिनेहरुमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट गणेशकुमार रानाभाट, राजु बस्नेत, विरेन्द्र खत्री, सिताराम श्रेष्ठ, जितेन्द्र खड्गी, गोरखबहादुर गणबाट अच्युत सापकोटा, देवीलाल तामाङ, सशस्त्र प्रहरीबाट सुकदेव नेपाली, बद्रीबहादुर अधिकारी, चौतारा एम्बुलेन्स सेवाबाट भीमबहादुर लामा, महांकाल हेलम्बू स्वास्थ्य सेवाबाट चन्द्रबहादुर ज्योती, सिन्धु सदावहार अस्पतालबाट अविनाश थापा, सिन्धु उपकार बचत तथा ऋण सहकारी संस्थाबाट राजु श्रेष्ठ, एरिना स्मृती प्रष्ठिानबाट राजन नेपाल, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेबाट चन्द्रबहादुर गुरुङ, सदावहार युवा क्लवबाट सन्तोष खत्री, महांकाल स्वास्थ्य सेवा समितिबाट विष्णुप्रसाद खड्का, किष्टोन हस्पिटलबाट ज्ञानेन्द्रबहादुर राउत, दुलालेश्वर युवा क्लवबाट ज्ञानदिप तामाङ, सिन्धु सदावहार अस्पतालबाट नानीकाजी भण्डारी, साँगाचोकबाट भरबहादुर गिरी, नवलपुर एम्बुलेन्स सेवा समितिबाट प्रकाश तामाङ, प्रेमबहादुर बोम्जन, रमादेवी न्यौपाने, प्रयास नेपालबाट तेजबहादुर भुजेल, सिन्धु उपकारबाट राजन राउत, मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रबाट लक्ष्मण माझी, मानव सेवा संस्थाबाट सन्तोषी बस्नेत लगायतले प्रशिक्षण लिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा नाडेमका रिमा थापा महर्जन, सुसाता मल्ल, समृद्धि थापा, विषेक श्रेष्ठ, रिदम महर्जन लगायतका टोलीले सिन्धुपाल्चोक जिल्ला चौतारामा आएर उक्त प्रशिक्षण दिनुभएको हो ।
यसअघि जिल्लाको ठूलोसिरुवारी गाविस डडुवामा सामुदायिक स्वास्थ्य इकाइ डडुवा र लोकप्रिय समाचार दैनिकको संयोजनमा स्थानीयलाई प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
एम्बुलेन्स चालकहरुको हिजै एक भेला बसी एम्बुलेन्स यातायात चालक संघको समेत गठन गरेका छन् ।

Lokpriyasamachar@. Powered by Blogger.