सिन्धुपाल्चोकलाई सरकारले विषेश रुपमा हेर्नुपर्ने

सिन्धुपाल्चोक जिल्ला भूकम्प पीडित मध्ये नेपालको सबैभन्दा पीडित भएको जिल्ला हो । र यो जिल्लालाई विकास तथा पुनस्र्थापनाको लागि सरकारले विषेश रुपले हेर्नुपर्ने मानव अधिकारकर्मी तथा शिक्षाविद् एवम् राष्ट्रिय निर्वाचन परिवेक्षण समिति (नियोक)का कपिल श्रेष्ठले बताउनुभएको छ ।
उहाँले नेपालमा भूकम्प पश्चात जनताको कुरा सरकारले सुनेको छैन, सरकारको कुरा जनताले बुझेको छैन भन्दै भूकम्प पीडित नागरिकलाई यथाशीघ्र पुनर्वासको व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । उहाँले निर्वाचन गर्ने तर्फ सरकार लागि परेको भएतापनि यस सम्बन्धमा के कस्ता कार्यक्रमहरु भए र गर्न सकिन्छ भन्ने विषयमा नियोकले परिवेक्षण तथा अनुगमन गर्ने कार्य गर्दै आएको छ । २०१५ डिसेम्बर १६ देखि सबैभन्दा बढी क्षति पु¥याएको जिल्ला सिन्धुपाल्चोक, गोरखा र दोलखामा यो कार्यक्रम गरिरहेको बताउनुभयो ।

उहाँले जिल्लाको ४ वटा गाविस र एक नगरपालिका इर्खु, गाती, बाँडेगाउँ, किउल र चौतारालाई केन्द्र मानेर भूकम्प पश्चात प्रभावितहरुको पुनर्निर्माण अवस्था र सरोकारवाला निकायको भूमिकाको बारेमा स्थलगत अनुगमन तथा छलफल गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको बताउनुभयो ।
यो कार्यक्रम आवास निर्माणका लागि पाएका सेवा सुविधा र वर्तमान सवाल तथा सरोकारवाला निकायको पारदर्शिता जवाफदेहीता साथै सरोकारवाला निकायलाई ध्यानाकर्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रष्ट पार्नुभयो ।  उहाँले विषेश गरी अनुदान सम्झौता दर्ता प्रक्रिया कस्तो रह्यो, सूचना र समन्वको अवस्था, आवास निर्माण अनुदान वितरण प्रक्रिया र पुनर्निर्माणको व्यापकता र प्रभावका बारेमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा सहभागि मध्ये नेकपा एमालेका झम्क नेपालले पुनर्निर्माणको लागि जस्तो केन्द्रमा व्यवस्था छ जिल्लमा पनि त्यसैगरी नै संरचना हुनुपर्छ, पुनर्निर्माणको लागि छुट्टै कर्मचारीहरुको व्यवस्था गरिनुपर्ने, नगरपालिकाकै कार्यकारीलाई जिम्मेवारी दिँदा नगरपालिकाको कार्यक्रम हेर्ने कि पुनर्निर्माणको हेर्ने यसमा समस्या उत्पन्न भएको बताउनुभयो ।
वडा नागरिक मञ्चका संयोजक नरमान श्रेष्ठले पुनर्निर्माणको लागि जनशक्तिको खाँचो भएको अवस्थामा सरकारले पुनर्निर्माणमा जिम्मेवारी वहन गर्ने व्यक्तिको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
नेकपा माओवादीका नेत्र दंगालले पीडितहरुले अझैपनि राम्रोसँग अनुदान पाइनसकेकोमा अनुदानको एकिनता गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।
लोकप्रिय दैनिकका प्रकाशक नेत्रबहादुर बस्नेतले भूकम्प पश्चात सूचना प्रशस्त मात्रामा गाउँमा नपुगेको, स्थानीय विकास अधिकारी तथा जिल्लाका अधिकारीहरुले गाउँ गाउँमा दिनुपर्ने सूचना राजपत्रमा प्रकाशित मापदण्डहरु गाविस मार्फत प्रत्येक गाविसमा सार्वजनिक गर्नु भनिएतापनि केही गाविसहरुमा त्यस्तो नदेखिएको पुनर्निर्माणको लागि गुठी समस्या, वृद्ध महिला, र अपाङ्गलाई पछाडि पारेकोले यसतर्फ सुधार गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाका इन्जिनियर बद्रीनारायण भुजेलले नगरपालिका तथा गाउँ विकास समितिको भवन निर्माणको मापदण्डको विषयमा जानकारी गराउनुभएको थियो भने रेडक्रसका राजकुमार लम्साल,  लगायतले भूकम्प पीडित सम्बन्धी विभिन्न आवाजहरु समेट्नुपर्ने बताएका थिए ।

Lokpriyasamachar@. Powered by Blogger.