‘हिन्दू राष्ट्र बनाऔंः देश बचाऔं’

सन्ध्या बस्नेत-
नेपाली कांग्रेस हिन्दू राष्ट्रिय महाअभियान केन्द्रीय समितिले आज वृहत्तर सनातन हिन्दू धर्मको विषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्न लागेको छ । ‘नेपाललाई सनातन हिन्दू राष्ट्र बनाऔं– देश बचाऔं’ भन्ने मूल नाराका साथ यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस हिन्दू राष्ट्रिय महाअभियानका केन्द्रीय महासचिव कुमार रेग्मीले बताउनुभयो ।






नेपालको संविधानमा धर्म निरपेक्षता लेखिएपछि त्यसको विरोध गर्दै नेपाली कांग्रेसका वरिष्ठ लोकप्रिय नेता खुमबहादुर खड्काको नेतृत्वमा धर्म निरपेक्षता हटाएर हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राख्दै आएको कांग्रेस कार्यकर्ताहरु एवम् सनातन हिन्दू धर्मावलम्वीहरुले अब नेपालमा सनातन हिन्दू राष्ट्र पुनस्र्थापना नभएसम्म आन्दोलनको आँधीबेरी सिर्जना गर्ने बताइरहेको अवस्थामा यो अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।
आज प्रज्ञा भवनमा हुने अन्तरक्रिया कार्यक्रममा डाक्टर, इन्जिनियर, शिक्षक, विद्यार्थी, विभिन्न राजनीतिक दलका व्यक्ति, विभिन्न सामाजिक व्यक्तित्व, संघसंस्थाका प्रतिनिधिहरु समेतलाई अन्तरक्रिया कार्यक्रममा सहभागि गराई आगामी आन्दोलनको रुपरेखा तयारी गरिने कुरा रेग्मीले बताउनुभयो ।
नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउनको निमित्त यसअघि विभिन्न मितिमा विभिन्न आन्दोलनहरु भएका छन् । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको नेतृत्वमा बानेश्वर संविधान सभा भवन अगाडि समेत  विरोधको कार्यक्रम गरिएको थियो भने देशव्यापी कार्यकर्ताको उपस्थितिमा संविधानसभा घेराउ समेत गरिएको थियो ।
यस सम्बन्धमा नेपाली कांग्रेस राष्ट्रिय महाअभियान जिल्ला शाखाले हिजो एक वक्तव्य निकाली आज हुने कार्यक्रममा सहभागि भइदिन सम्पूर्ण हिन्दू धर्मावलम्वीहरुलाई हार्दिक अनुरोध गरेको छ । हिन्दू राष्ट्रिय महाअभियानका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक नेत्रबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको नेपाली कांग्रेस १३ औं महाधिवेशनले नेपाललाई हिन्दू राष्ट्र पुनस्र्थापना गराउन कांग्रेसको जिल्ला कार्यसमितिलाई मत दिएको र सोही मतलाई समेत कदर गर्दै केन्द्रीय नेतृत्वले पनि ९४ प्रतिशत हिन्दू धर्म मान्ने नागरिकहरु रहेको देशलाई सनातन हिन्दू राष्ट्र पुनस्र्थापना गर्नुपर्ने बताउनुभयो ।
यसअघि २०७२ भदौमा चलिरहेको आन्दोलनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रभाबशाली नेता तथा नेपाली काँगे्रस हिन्दुराष्ट्र स्थापना महाअभियानका केन्द्रिय संयोजक खुमबहादुर खडकाले नेपाली काँगे्रसका बहुमत सदस्यहरुबाट देशलाई सनातन हिन्दु राष्ट्र कायम गराउने प्रतिबद्धता ब्यक्त गरेकाले आफनो आन्दोलन स्थगित गरिएको बताउनु भएको थियो । तर हिन्दू राष्ट्र पुनस्र्थापना सम्बन्धी अहिलेसम्म कुनैपनि निर्णय नभएकोले हिन्दू धर्मावलम्वीहरुले अब आन्दोलनको आँधीबेरी ल्याउन लागेको बताएका छन् ।
नेपाललाई धर्म निरपेक्षता बनाएर आन्तरिक द्वन्द्व गराउन लागेको आरोप लागिरहँदा सम्पूर्ण सनातन हिन्दू धर्मावलम्वीहरुको देशको पहिचान बोकेको शव्दलाई झिकेर देशका नागरिकहरुलाई अनावश्यक दुःख दिएको नागरिकहरुले बताउन थालेका छन् । अबको आन्दोलन निर्णायक हुने समेत हिन्दू धर्मावलम्वीहरुले बताएका छन् ।

Lokpriyasamachar@. Powered by Blogger.