सदाचारिताका लागि क्षमता अभिवृद्धि

मानव अधिकृत तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट) नेपाल केन्द्रीय कार्यालय काठमाडौंको सहयोग र जिल्ला शाखा सिन्धुपाल्चोकको समन्वयमा हिजो सदरमुकाम चौतारामा विद्यालय सदाचारिताका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
उक्त तालिमको समापन समारोह जिल्ला विकास समिति सिन्धुपाल्चोकका स्थानीय विकास अधिकारी एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष कृष्णबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
तालिमका ३० जना सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि शाहीले निजामती कर्मचारीतन्त्रमा भ्रष्टाचार बढी मौलाएको कुरा बताउनुभयो ।

भ्रष्टाचारी समाजलाई सदाचारी बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउँदै प्रमुख अतिथि शाहीले विद्यालयका कलिला बालबालिकाबाट अभियान सुरु गरिएकाले अभियान प्रभावकारी हुने कुरा बताउनुभयो ।   एउटा सदाचारी व्यक्ति उच्च पदमा पुगेपछि परिवारका कारण भ्रष्टाचारी बन्ने कुराको उजागर गर्दै प्रमुख अतिथि शाहीले सदाचारिताको तालिम जिल्ला तथा गाउँमा क्रियाशिल राजनीतिक दलहरु, उपभोक्ता समितिहरुलाई पनि प्रदान गर्नुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रमका विषेश अतिथि एवम् जिल्ला शिक्षा अधिकारी निर्मलराज घिमिरेले  सदाचारिता शिक्षाको तालिम जिल्लाभरका विद्यालयहरुमा आवश्यक रहेको कुरा बताउनुभयो । घिमिरेले जिल्लाका विदालयहरु निर्माणको चरणमा रहेकोले पुनर्निर्माणको चरणमा आफूले सक्दो पारदर्शिता अपनाउने कुरा बताउनुभयो ।
विद्यालय बनाउन आउने डोनरहरुलाई आफूले सक्दो पारदर्शिताका लागि पहल गर्ने कुरामा घिमिरेले जोड दिनुभएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै काहुरास्ट नेपालका केन्द्रीइ अध्यक्ष विष्णुपुकार श्रेष्ठले काहुरास्टको विगतदेखि वर्तमानसम्मको क्रियाकलापहरुको बारेमा जानकारी गराउनुभयो ।
तालिमले सहभागिहरुमा उर्जा प्रदान गरेको कुरामा जोड दिँदै श्रेष्ठले सिन्धुपाल्चोक जिल्लालाई सदाचारी जिल्लाको रुपमा काहुरास्टले पहल गर्ने कुरा बताउनुभयो ।
कार्यक्रममा सम्पूर्ण सञ्चारकर्मीहरुको तर्फबाट मन्तव्य राख्दै रेडियो सुनकोशी १०५.६ मेगाहर्जका स्टेशन मेनेजर यज्ञ दंगालले तालिमले भूकम्प पछिको पुनर्निर्माणमा भरपुर सहयोग मिल्ने कुरा बताउनुभयो ।
कार्यक्रममा सहभागिहरु मध्येबाट कालिकादेवी मावि देउरालीका शिक्षिका प्रमिला तामाङले सहभागि शिक्षकहरुको तर्फबाट मन्तव्य राख्नुभएको थियो भने सहभागि विद्यार्थीहरुको तर्फबाट कृष्ण रत्नगंगा माविका छात्र सुसान्त श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । उक्त समापन समारोह काहुरास्ट सिन्धुपाल्चोक शाखाका अध्यक्ष भुपेन्द्रबहादुर तामाङ थिङको सभाध्यक्षतामा सम्पन्न भएको थियो । सभाको समापन गर्दै सभाध्यक्ष थिङले पुनर्निर्माण अभियानलाई मनलाई सफा राखेजस्तै सफा बनाउनुपर्ने कुरा बताउनुभयो । तालिममा २ वटा नीजि तथा ८ वटा सामुदायिक विद्यालयका चौतारा नगरपालिकाका ३० जना शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
तालिममा काहुरास्ट नेपालका केन्द्रीय अध्यक्ष विष्णुपुकार श्रेष्ठ, कार्यक्रम संयोजक सरला महर्जन, कार्यक्रम सहायक कृष्टिना महर्जन, चौतारा नगरपालिकाका इन्जिनियर बद्रीबहादुर भुजेल, जिल्ला शिक्षा अधिकारी निर्मलराज घिमिरे र काहुरास्ट जिल्ला शाखा सिन्धुपाल्चोकका कार्यदल संयोजक लुमडीबहादुर पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.