मानव अधिकार संगठनको प्रशिक्षण

लोकप्रिय रिपोर्टर/चौतारा-
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सिन्धुपाल्चोकले हिजो एक कार्यक्रम गरी मानव अधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कानुनमा भएका मानव अधिकार सम्बन्धी कुराहरु र मानव अधिकार हनन् लगायत त्यसको संरक्षण र व्यवस्थापनमा केन्द्रीत रहेर भएको उक्त प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले मानव अधिकारवादीहरुले यसरी विभिन्न समयमा कार्यक्रम गरी जनचेतनामूलक सन्देश र मानव अधिकार सम्बन्धी अभियानहरु सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
ऋषिकेश शाहले यसरी मानव अधिकार सम्बन्धी संस्थाहरु खोलेर मानव अधिकारका विषयमा अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरेको आज सिन्धुपाल्चोकमा पनि नेपाल मानव अधिकार संगठनले विभिन्न सरकारी कार्यालय, राजनीतिक दल, शिक्षक, विद्यार्थीहरु भेला गराई यसरी मानव अधिकार सम्बन्धी शिक्षा कार्यक्रमको आयोजना गरेकोले आफूलाई खुसी लागेको बताउनुभयो ।
बारम्बार आफूहरुले कुनै काम गर्दा पनि मानव अधिकारको ख्याल गरेर काम गरिरहेको र मानव अधिकार हनन् हुने काम कहिँकतैबाट गर्न नहुने कुरामा आफू र आफू मातहतका कार्यालयहरु सचेत रहेको प्रष्ट पार्नुभयो ।
विषेश अतिथिको आसनबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पर्क व्यक्ति तथा चौतारा नगरपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले आफ्नो मानव अधिकारको बारेमा कुरा गर्दा अरुको अधिकार हनन् गर्न नहुने सबैले बराबरी हिसावले मानवीय व्यवहार गर्नुपर्ने बताउँदै मानव अधिकार सम्बन्धी कार्यक्रम सदरमुकाम भन्दा पनि गाउँमुखी भए अझ राम्रो हुने बताउनुभयो ।
राजनीतिक दलहरुको तर्फबाट बोल्दै कृष्णबहादुर ठकुरीले सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले मानव अधिकार सम्बन्धी ज्ञान र शिक्षा लिएर अगाडि बढे कुनैपनि कार्यबाट असफलता प्राप्त नहुने बताउँदै मानव अधिकारका विषयमा सबै जानकार हुनुपर्ने आवश्यकता महसुस गरेको बताउनुभयो । चौतारा क्याम्पसका प्राध्यापक राजु बोगटीले शैक्षिक क्षेत्रमा बढी मानव अधिकारको विषयमा केन्द्रीत रहेर मानव अधिकार संगठनले विभिन्न स्तरमा विभिन्न कार्यक्रमहरु गरेकोमा प्रशंसा गर्दै मानव अधिकार शैक्षिक विकास कार्यक्रम विद्यालय स्तरमा पनि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मानव अधिकार संगठन तत्कालिन पञ्चायती व्यवस्था र त्यस बेला मानव अधिकारको स्थितिलाई मध्यनजर गर्दै मानव अधिकार हनन् भएको महसुस गरी २०४५ सालमा स्थापित रहेको संस्था हो । २०४६ सालमा प्रजातन्त्र स्थापना भइसकेपछि पनि नेपालमा मानव अधिकार अनुकूल कानुन नीतिहरु निर्माण भएका भएपनि समायोचित ढंगले लागू हुन कठिनाई रहेको र यस्ता मानव अधिकार सम्बन्धी दस्तावेजहरु र नियमहरु कानुनले मात्र प्राप्त नहुने हुँदा उचित प्रयोग र ज्ञानको आवश्यकता गरे मात्र मानव अधिकार संरक्षण हुने भन्ने ठहर गर्दै मानव अधिकार संगठनले हरेक जिल्लाहरुमा यस्तो मानव अधिकार शिक्षा कार्यक्रमको आयोजना गरेको छ ।
हालसम्म लगभग १६ सय भन्दा बढी मानव अधिकारबाट लाभान्वित भएको नेपाल मानव अधिकार संगठनको दावी रहेको छ ।
संविधानविद् तथा मानव अधिकारकर्मी दिनेश त्रिपाठी, जनप्रशासन क्याम्पसका प्राध्यापक तथा मानव अधिकारकर्मी डा. गोविन्द ढकालले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण दिँदै ढकालले मानव अधिकार भनेको के हो ? मानव अधिकारका मूलभूत सिद्धान्तहरु के के हुन् भन्ने विषयमा प्रष्ट पार्दै मानव  अधिकार र नेपाली कानुनका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा मानव अधिकार सम्बन्धी ठूला महासन्धीहरु भएको स्मरण गराउँदै १९६५ मा जातिय विभेद सम्बन्धी महासन्धी, १९६६ मा नागरिक र राजनीतिक अधिकार सम्बन्धी महासन्धी, १९६६ मा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बन्धी महासन्धी, १९७९ मा महिला अधिकार सम्बन्धी महासन्धी, १९८४ मा यातना विरुद्धको अधिकार सम्बन्धी महासन्धी, १९८९ मा बाल अधिकार सम्बन्धी महासन्धी, १९९० मा आप्रवासी श्रमिक अधिकार सम्बन्धी, २००६ मा बलपूर्वक गरिएको बेपत्ता सम्बन्धी, २००६ मा अपाङ्ग व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी भएको प्रष्ट पारिएको थियो । मानव अधिकार सम्बन्धी घोषणापत्रलाई नेपालले १९९१ मे १४ मा अनुमोदन गरेको बताइएको थियो । सुशासन र मानव अधिकार, सुशासनको महत्व, सुशासन र कानुनी व्यवस्थाहरु, उपभोक्ता संरक्षण ऐन, प्रमुख कानुनी व्यवस्था लगायतमा प्रष्ट पार्दै सूचना हक सम्बन्धी ऐनका विषयमा समेत प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई प्रशिक्षण दिइएको थियो ।
विपद् व्यवस्थापनका सम्बन्धमा समेत प्रशिक्षण दिँदै विपद् व्यवस्थापनको लागि आवश्यक पर्ने कुराहरु, प्रभाव लगायतको विषयहरुमा समेत प्रशिक्षण दिइएको थियो ।
जुगल होटल चौतारामा भएको उक्त प्रशिक्षण कार्यक्रमा नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सिन्धुपाल्चोकका सभापति यज्ञप्रसाद दंगालको सभापतित्वमा सम्पन्न भएको थियो ।  कार्यक्रममा सेना, प्रहरी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी लगायत विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.