‘विकासको लागि सबैको दायित्व बराबर’

लोकप्रिय रिपोर्टर/चौतारा-
जिल्लामा रहेका सबै कार्यालय प्रमुखहरुले आफू यसै जिल्लाको स्थायी बसोबास गरेका नागरिक बराबरको दायित्व वोध गरेर जिल्ला विकासमा लागि पर्नुपर्ने कुरा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताउनुभएको छ ।




उहाँले जिल्ला विकास समिति सिन्धुपाल्चोकबाट आयोजित जिल्लाको पुनर्लाभ तथा पुनस्र्थापना सहितको आधविक जिल्ला विकास योजना तर्जुमा कार्यशाला गोष्ठीमा बताउनुभएको हो ।
गोष्ठीको प्रमुख अतिथि प्रजिअ सिलवालले जिल्लाका सबै कार्यालय प्रमुखहरु ५ वर्षसम्म यस जिल्लामा स्थायी गरेर नबस्ने हुनसक्छ ।  कोही कार्यालय प्रमुखहरु दुई–तीन महिनामा पनि सरुवा हुन सक्छन् । तर त्यस्ता कुराहरुलाई छोडेर आफू निरन्तरता बसेर कार्यक्रम गर्ने र विकास गर्ने योजनामा छु भनेर विश्वस्त रहि विकासका योजनाको तर्जूमा गर्न कार्यालय प्रमुखहरुलाई अनुरोध गर्नुभयो ।
स्थायी विकासको लागि जिल्लामा रहेका सबै कर्मचारीहरुले योजनावद्ध तरिकाले जिल्ला विकास गर्न सक्यो भने जिल्लाको नामसँगै कर्मचारीको पनि नाम अगाडि आउने बताउँदै उहाँले आफूले अगाडि सारेको योजना योजनामा मात्र सीमित हुने गरी होइन कार्यान्वयनमा समेत सहज हुने गरी योजना तर्जुमा गर्न अनुरोध गर्नुभयो ।
जिल्ला विकास समिति सिन्धुपाल्चोकको आयोजनामा जाइकाको सहजिकरणमा हिजो र आज दुई दिन हुने पञ्चवर्षिय आवधिक योजना कार्यक्रमको सभापतित्व जिल्ला विकास समितिका योजना तथा अनुगमन अधिकृत निमित्त स्थानीय विकास अधिकारी राजेन्द्रप्रसाद नेपालले गर्नुभएको थियो । सभापतिको आसनबाट बोल्दै नेपालले समग्र जिल्ला विकासको निमित्त सबै राजनीतिक दल, संघसंस्था, पत्रकार तथा नागरिक समाजको सहयोगको महत्वपूर्ण आवश्यकता भएकोले ५ वर्षिय योजनाको लागि त्यो आवश्यकता पूरा गर्न हामी सबैले मिलेर बेलैमा दिगो विकासको लागि योजना तर्जुमा गर्न सके सिन्धुपाल्चोक नमूना बन्न सक्ने समेत बताउनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य जिल्ला विकास समितिका कार्यक्रम अधिकृत राजुभाई श्रेष्ठले गर्नुभएको थियो । उहाँले स्वागत मन्तव्य दिँदै पहिलो आवधिक जिल्ला विकास योजना तर्जुमा निर्वाचित प्रतिनिधिहरुको निर्णय अनुसार भएको र अहिले निर्वाचित पदाधिकारीहरु नहुँदा दोस्रो आवधिक जिल्ला विकास योजना तर्जुमा कार्यक्रम गर्नु परेको यस अवस्थामा सुरु भएको आवधिक विकास योजना स्थायित्व र दीर्घकालिन हुने गरी प्रस्ताव गर्न आवश्यक रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रविन्द्र केसी, शसस्त्र प्रहरी वल प्रमुख सुन्दर खड्का, सेना प्रमुख, विषेश प्रहरी लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागितामा जिविस हलमा कार्यक्रम भएको थियो । कार्यक्रम सञ्चालन जिविसका आन्तरिक लेखापाल अनिरुद्र नेपालले  गर्नुभएको थियो । कार्यक्रममा पाँच समूहमा विभाजित भई समूहगत र विषयगत योजनामा छलफल गरी आ–आफ्नो समूहको प्रस्तुती गरी परामर्शदाता विषयगत समितिका परामर्शदाताहरु समेतले आ–आफ्नो खाकाहरु तयार गरेका छन् ।
आज विषयगत खाका सम्बन्धी समूहगत प्रस्तुती प्रमुख कार्यक्रम तथा आयोजनाहरुको पहिचान विषयगत रुपमा पाँच वर्षको कार्यक्रम तथा बजेट, अनुमान तथा जिम्मेवारी तालिका निर्माण गरी विषयगत कार्यक्रम तथा बजेट अनुमानको प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ ।  

Lokpriyasamachar@. Powered by Blogger.