पीडितले अझै पाएनन् स्थायी बसोबास

भूकम्पबाट प्रभावित बाँसखर्कको सामुदायिक बनमा बसोबास गरिरहेका १ सय ११ भूकम्प पीडितहरुले अझैसम्म स्थायी बसोबासको सुविधा पाएका छैनन् ।
२०७२ बैशाखमा गएको भूकम्पबाट गोल्चे, बतासे, बराम्ची, सेलाङ लगायतका भूकम्प पीडितहरु आ–आफ्नो घर जग्गामा बस्न नसक्ने गरी खोजिममा परेकोले उक्त स्थानमा आई अस्थायी बसोबास गर्दै आएका छन् ।
सेलाङ गाविसको वडा नं. १ स्थित बाँसखर्क सामुदायिक बनमा बसोबास गरिरहेका उनीहरुलाई स्थायी बसोबास गर्न समस्या परिरहेको भएतापनि सरकारले पहिलो किस्ता वापत पाउने रु ५० हजारका दरले दिइने सुविधा दिएको छ । भूकम्प पीडित तुला विक्रम सिलवालले सरकारले ५० हजार दिएको भएतापनि त्यो ५० हजार कुन ठाउँमा प्रयोग गर्ने भन्ने निक्र्यौल नहुँदा आफूहरु अन्यौलमा परेको बताउनुभयो ।
उहाँले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सेना प्रमुख लगायत सरकारी कार्यालय प्रमुखहरु तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु सबै आई स्थानीय स्तरमा भएका समस्याको अनुगमन गरिसकेको भएतापनि अहिलेसम्म कुनै निर्णय नहुँदा झन आफूहरु समस्यामा परेको बताउनुभयो ।
सरकारले दिएको राहत वापतको पहिलो किस्ता रकमको सदुपयोग कहाँ र कसरी गर्ने भन्नेमा आफूहरु चिन्तित रहेको भूकम्प पीडितहरुले बताएका छन् । सरकारले तत्काल हिउँदको समयमा उनीहरुको बसोबासको व्यवस्था गरी भूकम्प पीडितले पाउने दोस्रो र तेस्रो किस्ताको रकम लिने व्यवस्था मिलाइदिनुपर्ने पीडितहरुको माग रहेको छ ।  


Lokpriyasamachar@. Powered by Blogger.