देशलाई बालमैत्री बनाउन ‘ज्योती’

वाल्यकालदेखि नै समाज विकास तथा व्यक्तित्व विकास हुनेगरी शिक्षा प्रदान गर्न र नेपाललाई वालमैत्री राष्ट्रको रुपमा देखाउनुपर्ने आवश्यकता महसुस गरी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)द्वारा निर्मित चलचित्र ‘ज्योती’ हिजो सदरमुकाम चौतारामा प्रदर्शन गरिएको छ ।
साँझ टुडिखेलमा प्रदर्शन गरिएको उक्त चलचित्रका कारण सिन्धुपाल्चोकमा पनि बालमैत्री जिल्ला बनाउन सहजिकरण भएको बताइएको छ ।


संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उक्त चलचित्र प्रदर्शन गर्नको लागि  जिल्ला विकास समिति सिन्धुपाल्चोकलाई सहयोग गर्न समेत निर्देशन दिएको बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगायत जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारहरु, स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थितिमा उक्त चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्र प्रदर्शन गर्नुअघि धुर्मुस–सुन्तली फाउण्डेशनको तर्फबाट पत्रकार भेटघाटको कार्यक्रम गर्दै धुर्मुस–सुन्तलीले आफूहरु सिन्धुवासीसँग नजिक रहेको बताउनुभएको थियो । भेटघाटमा बोल्दै धुर्मुसले आफूहरुले देश विकासका लागि अरुको मुख ताक्नु भन्दा पनि आफै लागि प¥यो भने सक्षम भइन्छ भन्ने विश्वासका साथ यो अभियान चलाएको बताउनुभयो ।
उहाँले भूकम्प जाने बित्तिकै सिन्धुपाल्चोकमा आफूहरुले राहतको प्याकेज ल्याएको र बराम्ची, पीपलडाँडा लगायतका स्थानमा न्यानो कपडा, सिरक, डस्ना समेत वितरण गरेको र गिराञ्चौरमा एकीकृत नमूना वस्ती निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको समेत बताउनुभयो । उहाँले आफूहरुले खटेर गरेको काममा सफलता प्राप्त हुने भएकोले सबै नागरिक मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सुन्तलीले आफू विदेशमा रहँदाको अवस्थामा भूकम्प गएर नेपालमा भएको क्षतिप्रति दुःख लागेको बताउँदै यो क्षतिमा परेका पीडितलाई पुनर्वास तथा पुनस्र्थापनाका लागि विभिन्न क्षेत्रबाट पहल गरेको र गरिरहने पनि  दुःखका साथ बताउनुभयो ।
उहाँले जबसम्म बालमैत्री देश हुन सक्दैन तवसम्म देशको विकास हुँदैन भन्ने आफ्नो फाउण्डेशनले ठहर गरेकोले बालमैत्री देश बनाउनको निमित्त आफूहरु लागि परेको समेत बताउनुभयो । उहाँले बालकले राम्रो शिक्षा पायो भने मात्रै राष्ट्रले सफल नेतृत्व पाउने, सफल नेतृत्व रह्यो भने राष्ट्र सफल हुने समेत बताउनुभएको छ । यिनै विषयहरुलाई समेटेर वालमैत्री देश निर्माणको लागि चलचित्रले महत्वपूर्ण भूमिका खेलेको समेत उहाँले बताउनुभयो ।
पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष युवराज पुरीले जिल्लामा भएका धनाढ्य उद्योगी  तथा नागरिकले समेत नसोचेको र गर्न नसकेको काम धुर्मुस सुन्तलीले गरेर देखाएकोमा आभार व्यक्त गर्नुभएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.