सम्बन्ध जोडिदिँदै मिर्मिरे समूह, एचआइभी संक्रमित जोडिले गरे विवाह

नेत्रबहादुर बस्नेत/चौतारा-
मिर्मिरे समुह सिन्धुपाल्चोकको विशेष सक्रियतामा एचआइभि लागेका युवा तथा युवतीले हिजो वैवाहिक सम्बन्धमा गाँसिएका छन् । वनदेवी मन्दिरमा सम्पन्न भएको उक्त विवाहमा मिर्मिरे समूहको अध्यक्ष किपक तामाङले बेहुला र बेहुलीलाई टिका लगाएर सम्पन्न गराउनुभएको हो ।

एचआईभि रोग लागेकाहरुलाई उपचार तथा उक्त रोगीहरुलाई मनोबल उच्च राख्न विभिन्न कार्यक्रमहरु गर्र्दै आएको मिर्मिरे समूहले यसरी एचआईभि लागेकाहरु बिच सम्बन्ध कायम गराउँदै त्यस्ताका बालबच्चाहरुलाई शैक्षिक सामाग्री समेत वितरण गर्दै आएको छ ।
हिजो ईचोक वडा नं. २ कि वर्ष ३५ कि सोनु तामाङ र थाङपालकोट वडा नं. ६ मानेखर्कका घेलुङ तामाङबीच विवाह भएको हो ।


विवाह पश्चात सोनु तामाङले आफूले २५ वर्षको उमेरमा दुवाचौरको एक युवकसँग विवाह गरेको र विवाह गरेपछि २ वर्षसम्म आफ्ना श्रीमान् विरामी परिरहेकोले उहाँको उपचारमा संलग्न रहेको र २ वर्षपछि श्रीमान्को मृत्यु भएको बताउनुभयो । उहाँले २०६३ सालमा विवाह भएको र ०६५ सालमा श्रीमान् बितेको दुखेसो पोख्दै आफूलाई यो रोग सम्बन्धी ज्ञान नभएको ज्ञान भएको भए श्रीमान्लाई बचाउन सक्ने स्थिति रहेको समेत बताउनुभयो ।
आफ्नो विवाह भन्दा पहिले श्रीमान् भारतमा गई काम गर्ने गरेको र भारतबाट आएर विवाह गरेको र त्यसैबेला आफूलाई रोग सरेको बताउनुभयो ।
उहाँले आफूलाई यो रोग सम्बन्धी कुनै ज्ञान नभएको र श्रीमान् बितेपछि आफूलाई पनि श्रीमान्को जस्तै रोग लाग्न थालेको, सुरुमा ज्वरो आउने, पखला लाग्ने, खान नरुच्ने भएपछि आफूलाई श्रीमान् बितेको चिन्ताले होला भनि वास्ता नगरेको तर रोगले च्याप्दै जाँदा स्वास्थ्य परीक्षण गर्दा यो रोग लागेको थाहा पाएपछि आफू झन् चिन्तित भएको बताउनुभयो । श्रीमान् बितेको २ वर्षसम्म आफू विरामी भएर बसेको र काठमाडौंको टेकुमा उपचार गर्दा एचआइभी लागेको बताएपछि यसको उपचारको विषयमा स्वास्थ्यकर्मीहरुबाट दिएको सल्लाह अनुसार नियमित औषधी खान थालेको बताउनुभयो । उहाँले ६ वर्षसम्म मिर्मिरे समूहको सहयोगमा औषधी नियमित रुपमा खाइरहेको बताउँदै आफूले विवाह भएको २ वर्षसम्म श्रीमान्सँग बस्दा श्रीमान्कै उपचारमा बढी समय दिनु परेकोले वास्तविक पारिवारीक रहनसहनमा समेत त्यति हेलमेल हुन सकेन । पछि एक्कासी श्रीमान् बितेपछि समाजले म माथि हेर्ने दृष्टिकोण परिवर्तन गर्न थालेको समेत बताउँदै आफूलाई परेको जस्तो समस्या शत्रुलाई पनि नपरोस् भन्नुभयो ।
रोग पत्ता लागिसकेपछि सुरुमा साह्रै चिन्ता लागेको भएपनि नियमित औषधी सेवन गरेपछि मृत्युको संघारबाट बच्न सकिने एचआइभी संक्रमित साथीहरुबाट पाठ सिकेर आफू पनि मिर्मिरे समूहको सम्पर्कमा आएको बताउनुभयो ।
२०६८ सालदेखि मिर्मिरे समूहको सम्पर्कमा रहेर औषधी समेत सेवन गरिरहेको र अहिले मिर्मिरे समूहले आफ्नो चाहना अनुसार बैवाहिक सम्वन्धको समेत प्रवन्ध मिलाइदिएकोले मिर्मिरे समूहले ठूलो गुण लगाएको बताउनुभयो । विवाह पश्चात के गर्नुहुन्छ भन्ने प्रश्नमा उहाँले आफू एचआइभी संक्रमित भएपनि नवविवाहित श्रीमान्को घरमा खेतीपाती गर्ने र समाजमा आफूले यस्तो समस्या भोगेकोले कुनैपनि दिदीबहिनीहरुले यस्तो समस्या भोग्नु नपरोस् भन्नको निमित्त सबैलाई आफूले भोगेका पीडाहरु पोख्ने समेत बताउनुभयो ।
उहाँले सबै गाउँका दिदीबहिनीहरुले यो समस्याबाट वञ्चित हुन विवाह सम्बन्ध गाँस्नुभन्दा पहिले आफूसँग विवाह गर्न खोजेको केटाको बारेमा पूरै जानकारी लिई उनको स्वास्थ्य परीक्षण समेत गरेर वैवाहिक सम्बन्ध राख्नु र आफ्नो जीवनलाई अन्जानमा बर्बाद नगर्न सल्लाह दिन्छु भन्नुभयो ।
विवाह पछि पनि श्रीमान् कहाँ जानुहुन्छ, के गर्नुहुन्छ त्यसको जानकारी आफूले लिनुपर्ने र बैदेशिक रोजगारमा जानुभएको छ भने सकभर स्वास्थ्य परीक्षण गरेर मात्र श्रीमान्को सम्पर्कमा जानुपर्ने र केटाहरुले पनि महिला दिदीबहिनीहरुलाई मलाई जस्तो समस्या आउन नदिन स्वास्थ्य परीक्षण गरेर मात्र सम्बन्ध कायम गर्न र मानवीय व्यवहार देखाउन आग्रह गर्नुभयो ।
यस्तै बेहुला एचआइभी संक्रमित घेलुङ तामाङले अहिलेसम्म आफूले तीन विवाह गरेको, पहिलो विवाह गरेको श्रीमती अर्काको लहलहैमा लागेर विवाह भएको ६ वर्षपछि ३ वर्षको बच्चा समेत लिएर भागेको र पछि बुझ्दै जाँदा भारतमा छन् भन्ने थाहा पाएपछि आफू श्रीमती खोज्न भारत गएको बताउनुभयो । भारतमा गएर श्रीमतीको पत्तो नलागेपछि आफू त्यहिँ बसेर ज्यामी काम गर्न थालेको बताउनुभयो । आफू १८ वर्षको उमेरमा विवाह गरेको श्रीमती नभेट्दा चिन्तित रहेको अवस्थामा ७ वर्षसम्म भारतमा ज्यालादारी काम गरेर बसेको र सोही समयमा अर्को महिलाले विवाह गर्ने प्रस्ताव राख्दा आफूले स्वीकार गरी उनलाई विवाह गरेर गाउँमा ल्याएको बताउनुभयो ।
गाउँमा ल्याएर ६ वर्षसम्म पारिवारिक सम्बन्ध बिताएपछि श्रीमती धेरै विरामी हुने जहाँ लगेपनि रोग निको नहुने भएपछि स्वास्थ्य परीक्षण गर्ने क्रममा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले एचआइभी लागेको बताएपछि मिर्मिरे समूहको सहयोगमा उपचारको सुरुवात गर्न लागिएको थियो । मिर्मिरे समूहका अध्यक्ष किपक तामाङले आफ्नो परिवारको उपचारको लागि मेलम्चीसम्म गएर यातायातको व्यवस्थापन गरी स्वास्थ्य परीक्षण तथा उपचारमा सहयोग गरेकोले मिर्मिरे समूहले ठूलो गुण लगाएको भएतापनि श्रीमती बचाउन नसकेकोमा आफू चिन्तित रहेको बताउनुभयो ।
एचआइभी संक्रमित व्यक्तिहरुलाई नियमित औषधी सेवन गर्दा मृत्युबाट बच्न सकिने कुराको एकिन नहुँदा र एचआइभी रोग लागेको समेत प्रमाणित नहुँदा धेरैले अनाहकमा ज्यान गुमाउनु परेको आफूले महसुस गरेको बताउनुभयो । उहाँले आफ्नो श्रीमतीको एचआइभीको कारण टेकु अस्पतालमा मृत्यु भएको थाहा भएपछि आफूले पनि स्वास्थ्य परीक्षण गराउँदा श्रीमतीबाट एचआइभी सरेको प्रमाणित भयो । र आफू अञ्जानकै कारण एचआइभी संक्रमित हुन पुगेको उहाँले बताउनुभयो ।
त्यसपछि आफू मिर्मिरे समूहकै सम्पर्कमा रहेर नियमित औषधी सेवन गर्ने, समय समयमा स्वास्थ्य परीक्षण गर्ने गरेको समेत उहाँले बताउनुभयो । एचआइभी संक्रमित नवविवाहित जोडीलाई प्रायः यस्ता विरामीको नाम र तस्वीर सार्वजनिक गर्ने गरिएको छैन, के गर्ने भनि सोधिएको प्रश्नमा उहाँहरुले यो जानेर लागेको रोग नभएको र एचआइभी रोग कसैले जानी जानी सार्ने र सार्न लगाउने नभएको र यो रोग सम्बन्धी सबै युवायुवतीले जानकारी लिनुपर्ने र हामीले जस्तो अञ्जानमा रोग बोकेर चिन्तित र जीवन बर्बाद नहोस् भन्नको निमित्त सबैलाई जानकारी गराउनु आवश्यक देखिएकोले आफूहरुले यो कदम चालेको बताउनुभयो ।
मिर्मिरे समूहका अध्यक्ष किपक तामाङले हालसम्म जिल्लामा १ सय ९१ एचआइभी संक्रमित विरामी भएको जसमा लिसंखु गाविसमा १ महिला १ पुरुष गरी २ जना, ठूलोपाखरमा १ पुरुष, बाह्रबिसेमा १ महिला, १ पुरुष गरी २ जना, राम्चेमा १ महिला र १ पुरुष गरी २ जना, ठूलोधादिङमा १ महिला र १ पुरुष गरी २ जना रहेको बताउनुभयो ।
त्यसैगरी मांखामा १ महिला, मार्मिङमा १ महिला र १ पुरुष गरी २ जना, गातीमा १ महिला र १ पुरुष गरी २ जना, तातोपानीमा १ महिला र १ पुरुष गरी २ जना, सुनखानीमा १ महिला, कुञ्चोकमा १ महिला ३ पुरुष गरी ४ जना, सानोसिरुवारीमा १ महिला, चौतारामा २ महिला १ पुरुष, भोटसिपामा ५ महिला, ५ पुरुष र १ बालिका गरी १२ जना, ठूलोसिरुवारीमा ३ महिला १ पुरुष गरी ४ जना एचआइभी संक्रमित रहेका छन् ।
त्यस्तै साँगाचोकमा १ महिला ३ पुरुष गरी ४ जना, बाँडेगाउँमा २ महिला र ३ पुरुष गरी ५ जना, स्याउलेमा १ जना महिला र २ जना पुरुष गरी ३ जना, सिपापोखरेमा १ जना महिला र १ जना पुरुष, शिखरपुरमा १ जना पुरुष, ज्यामिरेमा ५ जना महिला र १ जना पुरुष, थाङपालकोटमा ४ जना महिला, ३ जना पुरुष र १ जना बालक गरी ८ जना एचआइभी संक्रमित रहेका छन् ।
त्यसैगरी भोटेचौरमा २ जना महिला, २ जना पुरुष र १ बालक गरी ५ जना, पाल्चोकमा ४ जना महिला, ५ जना पुरुष र एक बालिका गरी ९ जना दुवाचौर ४ जना महिला, ३ जना पुरुष र १ जना बालिका गरी ८ जना, महांकालमा ७ जना महिला, ५ जना पुरुष, थाङ्पालधापमा  १ महिला र २ पुरुष, गुन्सामा २ महिला १ पुरुष र  १ बालक, एचआइभी संक्रमित रहेका छन् ।
त्यस्तै किउलमा ५ जना महिला, ५ जना पुरुष र १ जना बालिका, इचोकमा २५ जना महिला, २३ जना पुरुष, ४ जना बालक र १ जना बालिका गरी ५३ जना, हेलम्बूमा २ जना महिला र ३ जना पुरुष गरी ५ जना, मेलम्चीमा १ जना महिला, थकनीमा ३ महिला र ३ पुरुष, तालामाराङमा १ पुरुष, लाँगर्चेमा १ पुरुष, बाँसखर्कमा १ महिला १ पुरुष एचआइभी संक्रमित रहेका छन् ।

 

Lokpriyasamachar@. Powered by Blogger.