घोषणापत्र जारी गर्दै अपाङ्ग दिवस

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा ५ बुँदे घोषणापत्र जारी गर्दै सिन्धु मानव अपाङ्ग सामुदायिक संस्था चौतारा सिन्धुपाल्चोकले २५ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाएको छ ।
उक्त अपाङ्ग दिवस ‘हासिल गरौं दिगो विकासको १७ लक्ष्यः सुनिश्चित गरौं हामीले चाहेको भविष्य’ भन्ने मूल नाराका साथ मनाइएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुलाई गाँस, वास र कपासको अवधारणा राखी ३ वटा मैनवत्ती बालेर काहुराष्ट नेपालका जिल्ला अध्यक्ष एवम् सिन्धु मानव अपाङ्ग सामुदायिक संस्थाका कानुनी सल्लाहकार अधिवक्ता भुपेन्द्रबहादुर तामाङ थिङ र नेपाली कांगे्रसका महासमिति सदस्य बिलबहादुर तामाङले संयुक्त रुपमा दिवसको उद्घाटन गर्नुभएको थियो ।

अपाङ्गता भएको व्यक्तिहरुलाई दया होइन अवसरको खाँचो छ भन्दै अधिवक्ता भुपेन्द्र थिङले कार्ययोजनाको पत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त एक वर्षे रणनीतिक कार्ययोजनाको प्रस्तुतीपछि नेपाली कांग्रेसका महासमिति सदस्य बिलबहादुर तामाङले मन्तव्य राख्दै अन्य संस्थाको तुलनामा सिन्धु मानव अपाङ्ग सामुदायिक संस्था कार्य सम्पादनमा अग्रणी रहेको कुरा बताउनुभयो । आफू र आफ्नो पार्टीको संस्थाप्रति लगाव र झुकाव रहने तामाङको भनाई थियो ।
रणनीतिक कार्ययोजनाको प्रस्तुतीमाथि छलफल पछि उक्त कार्यक्रमबाट ५ बुँदे सिन्धुपाल्चोक घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा एक वर्षभित्र संस्थाको आफ्नै अपाङ्गमैत्री भवन निर्माण गर्ने, विषम् परिस्थितिमा पनि संस्थाले अपाङ्गता भएका व्यक्तिको हक, हित र अपाङ्गता परिचय पत्रको विभेदलाई अन्त्य गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको गाँस, वास र कपासको अधिकारलाई मानव अधिकारको रक्षाको रुपमा कार्यान्वयन गर्ने, विभेद र तिरस्कारको कारण सडकमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई पुनस्र्थापना गराउन पहल गर्ने, भूकम्पपछिको पुनर्निर्माणलाई अपाङ्गमैत्री बनाउने कार्यलाई कार्यान्वयन गराउने जस्ता महत्वपूर्ण बुँदाहरु समेटिएका थिए ।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष लुमडीबहादुर पौडेलको सभाध्यक्षता र सचिव रामशरण अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला च्याप्टर सिन्धुपाल्चोक र ग्रामीण महिला सिर्जनशिल परिवारले पनि विभिन्न कार्यक्रम सहित अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाएको छ ।
सिन्धुपाल्चोक जिल्लामा झण्डै १० हजारको हाराहारीमा अपाङ्गता भएका व्यक्तिहरु रहेको अनुमान गर्न सकिन्छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.