अन्तर्राष्ट्रिय व्यापार मेलाको दोस्रो दिन ४० हजार जनाद्वारा अवलोकन


करिब दुई करोड माथिको व्यापार-
अन्तर्राष्ट्रिय व्यापार मेलाको दोस्रो दिन (शनिबार) ४० हजार जनाले अवलोकन गरेका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उपलक्ष्यमा भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी क्षेत्रफल रहेको खाली जग्गामा जारी मेलाको दोस्रो दिन सोको संख्यामा अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जनाएको छ । मेलामा सहभागी अवलोकनकर्ताहरुले प्रदर्शनी स्थलमा रहेका विभिन्न प्रदर्शनीहरुको निक्कै चाखपूर्ण तरिकाले अवलोकन गरेको प्रदर्शनीकर्ताहरुको भनाइ छ ।


प्रदर्शनीस्थलको ७२ नं.मा मेटल तथा स्टिलका विभिन्न सामानहरुको प्रदर्शनी गरिरहेका साख मेटल उद्योगका प्रोपाइटर नवराज साखकर्मीले मेलामा सहभागी भएका अवलोकनकर्ताहरुले सकारात्मक प्रतिक्रिया दिएको बताएको जानकारी दिए । उनले आफूले शनिबारमात्र ३ वटा सेफको अर्डर आएको बताउँदै मेलामा सहभागीहरुको उल्लेख्य सहभागिताले आफूजस्तै व्यवसायीहरुलाई पनि उत्साहित बनाएको प्रतिक्रिया दिए ।
‘मेला निक्कै राम्रो, व्यवस्थित पायौं, त्यति धेरै मानिसहरुको भीडमा पनि आयोजकले निकै राम्रो तरिकाले व्यवस्थापन गरेको पायौं ।’ मेला हेरेर आफू दंग भएको मात्र नभएर आफूले रु. ५५ हजारको इलेक्ट्रोनिक्स सामान पनि खरीद गरेको बताउँदै कोटेश्वरबाट आएका संगम लामाले भने । अवलोकनकर्ता लामाले मात्र नभएर मेला हेरेर आफूले धेरै कुराको जानकारी लिएको अर्का अवलोककर्ता एवं गृहणी लक्ष्मी पाण्डेले बताइन् । उनले दैनिक उपभोग गर्ने सामानहरुमात्र नभएर मेलामा विभिन्न जिल्लाको पहिचानको रुपमा रहेका उत्पादनहरुको प्रदर्शनीले पनि आफूलाई आर्कर्षित गरेको बताइन् ।
जेडटीइ स्मार्ट फोनको प्रस्तुति र जगदम्बा स्टिलको मुख्य प्रायोजनमा सुरु भएको सो मेला भक्तपुरमा पहिलोपटक आयोजना भएको बताउँदै मेलाले भक्तपुरको पहिचान बढाउन सहयोग पुगेको आयोजकको भनाइ छ । मेला संयोजक राजुमृगेन्द्र जोशीले दोस्रो दिनको सहभागिताले अझ उत्साहित बनाएको बताउँदै दोस्रो दिन रु. २ करोड माथिको व्यापार भएको जानकारी दिए ।
औद्योगिक उत्पादनहरुको प्रवद्र्धन तथा नवीन सम्भावनाहरुको पहिचान र सदुपयोग भई भक्तपुर जिल्लालगायत मुलुककै आर्थिक उत्थानमा नयाँ आयाम थप्ने कार्यमा सहायकसिद्ध गर्ने उद्देश्यका साथ आयोजित उक्त मेलामा मौलिक हस्तकलाका उत्पादनहरुको प्रदर्शनी, घरेलु तथा लघु उद्यमका उत्पादनहरुको प्रदर्शनी, सूचना–प्रविधि प्रदर्शनी, कृषि उत्पादनहरुको प्रदर्शनी, दैनिक उपभोग्य तथा घरायसी सामग्रीहरुको सुपथ मुल्य पसल लगायत जिल्लाको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थलहरुको जानकारी तथा परम्परागत साूस्कृतिक नाचगानको पनि प्रदर्शनी स्थल रहेको भक्तपुर वाणिज्य संघका अध्यक्ष केपी अवालले जानकारी दिए ।
‘मेला गरौं, मेला भरौं, मेला– महोत्सवबाट विकास गरौं’ भन्ने मूल नाराका साथ गरेको मेलाले निक्कै उत्साहित बनाएको छ ।’ अध्यक्ष अवालले भने । त्यस्तै मेला आयोजक समितिका सदस्य एवं नेपाल चाइना चेम्बर भक्तपुर च्याप्टरका महासचिव रोशनकुमार अवालले मेला व्यवस्थित भएको र अवलोककर्ताहरुलाई विभिन्न सेवा र सुविधा समेतको व्यवस्था भएको बताए ।
‘प्रत्येक अवलोकनकर्तालाई गेटपास(टिकट) देखि नै विभिन्न अफरहरुको व्ययवस्था छ, यहाँ अवलोकन गरेपछि कुनै पनि अवलोकनकर्ता पछुताउनु पर्दैन ।’ उनले थपे ।
विद्युतीय सामग्रीहरु तथा निर्माण सामग्रीहरुको समेत विशेष स्टल रहेको उक्त मेलामा विभिन्न ब्राण्डका सवारी साधनहरुदेखि लिएर नेवारी मौलिक खानाका स्टलहरु समेत छन् ।
मेलामा आउने बालबालिकाहरुका लागि समेत बाल मनोरञ्जनका सामग्रीहरुको उपलब्धता रहेको उक्त मेलामा १ सय ७२ वटा स्टलहरु छन् । मेलामा भारत, बंगालादेश, पाकिस्तान, चीन, श्रीलंका, मलेसियालगायतका देशका स्टलहरु छन् । मेलाअन्तर्गत भक्तपुर सौन्दर्य कला व्यवसायी संघ र रोट्याक्ट क्लब अफ पाटन दरबार स्क्वायरको संयोजनमा २७, २८ र २९ गते फेशन शो आयोजना हुने आयोजकले जनाएको छ । मंसिर २८ गते मंगलबार योमरी पुर्णिमाको दिन विशेष कार्यक्रम हुनेछन् ।
दोस्रो दिनको मेलामा गायक दीपक बज्राचार्य र एक्स ब्यान्डका सुनिल क्षेत्री  लगायत राष्ट्रिय स्तरमा ख्याति प्राप्त गायक तथा कलाकारहरुले आफ्नो प्रस्तुति दिएर अवलोकनकर्ताहरुलाई मनोरञ्जन दिएका थिए ।


Lokpriyasamachar@. Powered by Blogger.