उद्यमशील बन्दै भूकम्प प्रभावित

लोकप्रिय रिपोर्टर/चौतारा-
अक्सफामको सहयोग र ग्रामीण महिला सिर्जनशील परिवारको आयोजनामा ५ दिने उद्यमशीलता विकास तालिम हिजो खाडिचौरमा सम्पन्न भएको छ ।
नेपाल भुकम्प प्रतिकार्य पुर्नलाभ कार्यक्रम अन्र्तगत सञ्चालित खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम अन्तर्गत ७ वटा गाविसहरु राम्चे, बाह्रविसे, तातोपानी, चोकटी, पांग्रेटार, कालिका र सुनखानी का १५ जना साना उद्यमी व्यवसायीहरुलाई उक्त तालिम दिइएको होे ।

सिन्धुपाल्चोक जिल्लामा अक्सफामले १६ वटा गाविसहरुमा आवास, खाद्यसुरक्षा तथा जीविकोपार्जन, खानेपानी तथा सरसफाइ र लैङ्गिकताको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । यस क्रममा पांग्रेटार क्लष्टर अन्र्तगतका माथि उल्लेखित ७ गाविसहरुमा भुकम्प प्रभावित अति जोखिम परिवार छनौट गरी १९२० परिवारलाई कृषि सामग्रीतर्फ सहयोग, १८७२ परिवारलाई पशु पुनस्थापनतर्फ प्रति परिवार रु.१०,०००।–का दरले सहयोग तथा २५२ परिवारलाई रु.२०,०००।–का दरले सहयोग गरिएको मध्ये पहिलो चरणमा ८ महिला र ७ पूरुषलाई व्यवसाय विकासका सो तालिम पौष ४ देखि ८ सम्म अधेरी स्थित फ्याफूल्ला रेष्टुरेण्ट एण्ड लजमा संचालन गरिएको थियो ।
०७२ बैसाख १२ गतेको विनासकारी महाभुकम्प र त्यसपछिको पराकम्पनले सिन्धुपाल्चोक जिल्लामा ठुलो धनजनको क्षती भयो साथै मानिसहरुको जीविकोपार्जन गर्ने आधार पनि टुटेको थियो । उक्त संस्थामा कार्यरत कार्यक्रम संयोजक राजु विक भन्नुहुन्छ – “भुकम्प पश्चात् विस्तारै आफ्नो पुरानै उद्यम व्यवसायलाई पुनः निरन्तर दिने, जीविकोपार्जनलाई दिगोपना बनाउने र उद्यमशीलता संस्कारको विकास गराउने उद्देश्यले  यो तालिम आयोजना गरिएको हो ।” तालिमको सहजिकरण प्रशिक्षक ओम तामाङले गर्नुभएको थियो भने तालिमको समापन अक्सफाम सिन्धुपाल्चोकका वरिष्ठ खाद्य सुरक्षा अधिकृत सन्तोष पाण्डेले गर्नुभएको थियो ।
तालिम पश्चात सहभागीहरुलाई स्व व्यवसाय तर्फ उन्मुख गराई दिगो जीविकोपार्जनमूखि क्रियाकलापहरु टनेल खेती, च्याऊ खेती, दुग्ध व्यवस्थापन र व्यवसायिक पशूपालन कार्यमा लाग्ने सहभागिहरुलाई सहयोग गर्ने कार्यक्रम रहको अक्सफाम सिन्धुपाल्चोक खाद्य सुरक्षा टीम लिडर रोशन सुवेदीले जानकारी दिनुभएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.