ठूलोसिरुवारीमा समन्वय समिति गठन

ठुलोसिरुवारी गाउँ विकास समितिमा रहेका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको भेलाले एक गाविस स्तरीय समन्वय समिति गठन गरेको छ ।
गाउँ विकास समितिका सचिव तथा गाविस अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा बसेको गाउँमा सक्रिय रहेका राजनीतिक दल, वडा नागरिक मञ्चका संयोजकहरु, विभिन्न गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु, विद्यालयका प्रअहरु लगायत गाविसमा रहेका क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरु सहितको एक वृहत्तर भेलाले गाउँमा कार्यरत सरकारी तथा गैर सरकारी संस्थाहरुको समन्वय समिति गठन भएको हो ।
उक्त समितिको संयोजकमा दुर्गाप्रसाद ढुङ्गेल र सदस्यहरुमा नेत्रज्योती कृषि सहकारी संस्थाका नेत्रबहादुर बस्नेत, टुकी संघका यज्ञराज कार्की, कम्फोर्टका स्वस्तिका गहतराज, सेवक नेपालका गंगाप्रसाद नेपाल, आर्सो नेपालका चेतनाथ लम्साल, नेपाल हिल्फे वाइलिङ्ग्रिस जर्मनका श्याम पण्डित, एनआरसीपीसीएनका सकुन्तला माझी, टीपीओ नेपालका सिता श्रेष्ठ, स्वच्छ व्यवसायी संघ नेपालका दीर्घराज गौलिस, हेल्पका होमनाथ चौलागाई सदस्य रहेको समन्वय समिति गठन भएको छ ।
उक्त समन्वय समितिले गाविसमा रहेका विभिन्न संस्थाहरुसँग समन्वय गरेर कुन कुन संस्थाले कहाँ कहाँ के कसरी काम गरेका छन् त्यसको समेत प्रतिवेदन सहित विवरण सार्वजनिक गरेर कार्यक्रमहरु अगाडि बढाउने निर्णय समेत भएको छ । गाविस स्तरीय समन्वय समितिले आ–आफ्नो संस्थाहरुबाट गरेका काम कार्यक्रमहरुको विषयमा समिक्षा गर्नको निमित्त र गाउँमा भएका कार्यक्रमहरुको बारेमा नीति निर्माण तथा योजनाहरु तर्जुमा गरी कार्यक्रम लागू गर्न प्रत्येक महिना बैठक बस्ने समेत निर्णय भएको छ ।
यसरी गाविसमा गठन भएको समन्वय समितिले गरेका काम कार्यहरुको विवरण र गर्नुपर्ने कार्यक्रमहरुको बारेमा गाविसलाई जानकारी गराउनुपर्ने भएपछि एउटै विकासको योजनाको नाममा विभिन्न संघसंस्था र गाविसको बजेट विनियोजन गर्ने क्रियाकलापको अन्त्य भई गाविसमा हुने विकासे कार्यक्रमहरुको पारदर्शिता हुने स्थानीय राजनीतिक दलहरुले बताएका छन् ।
नेपाली कांग्रेसका अध्यक्ष हेमबहादुर नेपालले कति संस्था गाविसमा कार्यरत छन्, कति खर्च हुन्छ यसबारेमा अन्यौलता रहेको अवस्थामा यो कार्यक्रमले सबैलाई प्रष्ट रुपले विकासे कार्यक्रमको योजना तर्जुमा गर्न सहज भएको बताउनुभयो ।
सेतीदेवी माध्यमिक विद्यालयका प्रअ हरिविक्रम नेपालले शैक्षिक क्षेत्रमा लगानी गरेका संस्थाहरुले प्राविधिक शिक्षाको लागि पनि पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
गाउँ बाल संरक्षण समितिका अध्यक्ष शिवबहादुर केसीले बाल विकासको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको र बालबालिकालाई गुणस्तरीय शिक्षा हासिल गर्न आवश्यक कार्ययोजना तयार गरी लागू गर्नुपर्ने बताउँदै बालबालिकाको हितको निमित्त बाल अक्षयकोष समेत स्थापना भएकोले यस्ता बालबालिका सम्बन्धी कार्यक्रमलाई सहज र सहजिकरण गरिदिन सबै संस्थाहरुसँग आग्रह गर्नुभयो । गाउँ सामाजिक परिचालिका दयालक्ष्मी श्रेष्ठले गाउँलाई मादकपदार्थ, लागूपदार्थलाई निर्मूल गर्नको निमित्त घरेलु मदिरा उत्पादनमा समेत रोक लगाउनुपर्ने कार्यक्रम भएकोले उक्त कार्यक्रमलाई सहजिकरण गर्न समेत यस्ता समन्वय समितिको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउनुभयो ।
झमलादेवी आधारभूत विद्यालयका प्रअ लालबहादुर श्रेष्ठले एउटै योजनामा विभिन्न निकायबाट बजेट विनियोजन हुँदा केही विकासे कार्यक्रमहरु ओझेलमा परेको अवस्थामा यस्तो खालको समन्वय समितिले त्यस्तो ओझेलमा परेका कार्यक्रमहरुलाई समेट्ने समेत बताउनुभयो ।
टुकी संघका कार्यक्रम संयोजक यज्ञराज कार्कीले टुकी संघले धेरै समय अघिदेखि ठूलोसिरुवारीमा विभिन्न कार्यक्रममा सहजिकरण गर्दै आएकोमा यति धेरै सरकारी गैर सरकारी संघसंस्थाहरु भएको गाविसमा यसरी समन्वय समिति गठन हुँदा खुसी लागेको बताउँदै गाउँ विकास समितिको स्थानीय व्यक्तिहरुको स्तरोन्नती तथा विकास कार्यक्रममा सहजिकरण गर्नको निमित्त यसरी विभिन्न संघ संस्थाहरुसँग सँगै बसेर काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा सेवक नेपालका गंगाप्रसाद नेपाल, आर्सो नेपालका केशव अधिकारी, नेत्रज्योती कृषि सहकारी संस्थाका नेत्रबहादुर बस्नेत लगायतले आ–आफ्नो संस्थाहरुबाट गरेको कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । सामान्यतया ठूलोसिरुवारीमा खानेपानी तथा सरसफाई कार्यक्रममा संघसंस्थाहरु बढी केन्द्रीत रहेको देखिएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.