माविमा गुनासो व्यवस्थापन समिति हुनुपर्ने

जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले विद्यालयको कार्य सम्पादनमा आधारित सम्झौता गर्नको लागि विभिन्न स्रोतकेन्द्रमा जिल्ला शिक्षा अधिकारीसहित जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु र विद्यालयका प्रधानाध्यापकहरु बीच विभिन्न निर्धारित स्रोतकेन्द्रमा जिल्ला शिक्षा अधिकारीसहित तोकिएका  आधिकारीक व्यक्तिहरुबाट सम्झौता गरिएको छ ।
सम्झौताकै क्रममा साँगाचोक स्रोतकेन्द्रमा भएको प्रअहरुको बैठकमा जिल्ला शिक्षा कार्यालयका विद्यालय प्रशासन शाखाका शाखा अधिकृत एवम् साँगाचोक स्रोतकेन्द्रका विद्यालय निरिक्षक उदयप्रसाद कोइरालाले विद्यालयको दीर्घकालिन नीति अवलम्बनका साथै विद्यालय सुधारको लागि प्रअहरुले खेल्नुपर्ने भूमिकाको विषयमा प्रकाश पार्दै माध्यमिक स्तरको विद्यालयमा यथाशीघ्र गुनासो व्यवस्थापन समिति गठन गरेर गुनासोपेटीका राख्नुपर्ने जानकारी गराउनुभएको छ ।


उहाँले महिला तथा बालबालिकाहरुबाट धेरै गुनासो आउने भएकोले र साना बालिका र ठूला ९–१० भन्दा माथिका छात्राहरुलाई विद्यार्थी, शिक्षक र अन्यबाट हेर्ने दृष्टिकोणका कारण कसैलाई पनि उक्त कार्यको उजुरी गर्ने ठाउँ नभएको हुँदा त्यस्ता गुनासो थाहा पाउनका लागि गुनासो पेटी राख्ने र यस व्यवस्थापन समिति गठन गर्नुपर्ने बताउनुभयो ।
उजुरीका आधारमा १५ दिन या १ महिनामा गुनासोपेटीका खोल्ने व्यवस्था मिलाउनुपर्ने आर्थिक पारदर्शिताको लागि संघसंस्थाबाट दिएका रकमहरुको बारेमा चनाखो रहनुपर्ने र संस्थाहरुबाट पैसाको घोषणा गर्ने तर पैसा नदिएर सामग्री दिँदा पनि समस्या त्यहाँ कमजोरी हुने र सो कमजोरीका जवाफदेहिता प्रअ हुन नहुने उहाँले बताउनुभयो ।    
उहाँले शिक्षा क्षेत्रमा लगानी गर्नको निमित्त विभिन्न गैर सरकारी संस्थाहरु आउने गरेको र त्यस्ता खालका केही संस्थाहरुले शिक्षा कार्यालयसँग समन्वय नगरी गर्दा एउटै शीर्षकमा २–३ क्षेत्रबाट लगानी हुन सक्ने भएको र उक्त लगानीको प्रमाणित भएमा विद्यालयको प्रअ स्वतः कार्वाहिमा पर्ने भएकोले आफूले जिल्ला शिक्षा कार्यालयको समन्वय विना कुनै पनि काम नगर्न समेत आग्रह गर्नुभयो ।
विद्यालयमा विगतमा भएका कार्यक्रम तथा अन्य विविध कार्यक्रमका विषयमा प्रष्ट रुपमा अध्ययन गरेर आगामी दिनमा आफूले गर्न सकिने योजना र कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै स्रोतव्यक्ति डम्बरबहादुर श्रेष्ठले विद्यालय सुधारका निमित्त आफै अग्रसर हुनुपर्ने, विद्यालयमा हुने गरेका  गतिविधिहरुको अद्यावधिक राख्ने र आफूहरुले शैक्षिक स्तरोन्नतीको लागि हर बखत अग्रणी भूमिका निर्वाह गर्नुपर्ने र आफू विद्यालयको समेत स्तरोन्नतीको लागि जिम्मेवार भई लाग्नुपर्ने बताउनुभयो ।
साँगाचोक स्रोतकेन्द्र अन्तरगतका विद्यालयहरुको प्रअहरु ज्ञानमन्दिर स्रोतकेन्द्रका स्रोतव्यक्ति खिकादेवी नेपाल लगायतको उपस्थितिमा उक्त सम्झौता भएको थियो । प्रअहरुको बैठकले स्रोतकेन्द्र अन्तरगतको गणेश आधारभूत विद्यालयका पूर्व शिक्षक पूर्णबहादुर श्रेष्ठको निधनप्रति शोक समेत व्यक्त गरेको छ ।

Lokpriyasamachar@. Powered by Blogger.