दुई दिने कार्यशाला सम्पन्न

प्रिती श्रेष्ठ/चौतारा-
एचआइभी, मानव बेचबिखन तथा सामाजिक विभेद विरुद्ध युवा सशक्तिकरण कार्यक्रम अन्तर्गत दिगोपनाका लागि कार्यशाला सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाद्वारा आयोजित कार्यशाला हिजो सम्पन्न भएको हो ।
एचआइभी, मानव बेचबिखन तथा सामाजिक भेदभाव विरुद्ध युवा सशक्तिकरण कार्यक्रमको पुनरावलोक एवम् हालको अवस्था कार्यक्रमबाट भएको प्रयासहरुको अधावधिक गर्ने, दिगोपनाका सामान्य अवस्था तथा त्यसका मुख्य तत्वहरुको बारेमा छलफल गर्ने, दिगोपनाको लागि स्थानीय स्तरमा कार्ययोजना तयार गरी प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्ने उद्देश्यका साथ कार्यशाला गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यशालामा एचआइभी एड्स, मानव बेचबिखन तथा सामाजिक भेदभावको कार्यक्रमको परिचय, दिगोपना अवधारणा र त्यसका मुख्य तत्वहरु, कार्यक्रमको प्रगति प्रस्तुती, दिगोपनको उपयुक्त गतिविधिहरुको पहिचान लगायतको विषयमा छलफल गरिएको थियो ।
समापन कार्यक्रममा सहभागिको तर्फबाट नवराज दाहालले कार्यशाला जीवनोपयोगी मात्र नभएर समाज उपयोगी समेत भएको बताउनुभयो । उहाँले कार्यक्रम निकै उपयोगी भएको बताउँदै कार्यक्रममा बनाइएको कार्ययोजनालाई कार्यक्षेत्रसम्म लैजान सबैमा आग्रह गर्नुभयो ।  
त्यसैगरी सहभागिकै तर्फबाट कालिका महिला समूह नवलपुरका सिर्जना खरेलले दुई दिनमा धेरै कुराहरु सिक्ने मौका मिलेको बताउनुभयो । उहाँले कार्यशाला पश्चात अझैपनि हामी केही गर्नसक्छौं भन्ने लागेको धारणा राख्नुभयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटीका विष्णुहरी देवकोटाले सहभागिहरुलाई धन्यवाद दिँदै कार्ययोजना कागजमा मात्र सीमित नराखी कार्यान्वयन समेत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस अभियानमा सरकारी निकायले पनि आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेलले कार्ययोजनालाई कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटी विभिन्न गाविसमा संगठन विस्तारमा समेत लागेको बताउनुभयो  ।
त्यसैगरी सभापतिको आसनबाट नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका उपसभापति हरीकुमार शर्माले दुई दिनको कार्यशालामा सहभागिहरु दिक्षित भएको बताउनुभयो । उहाँले व्यक्तिमा संस्कार र संस्कृति उचित हुनुपर्ने भन्दै कुसंस्कार र कुसंस्कृतिमा नलाग्न सबैमा आग्रह गर्नुभयो । साथै उहाँले समाज रुपान्तरणको लागि अवसर र चुनौतीलाई सँगसँगै लानुपर्ने समेत बताउनुभयो ।
उपशाखा समूह, महिला समूह, किशोर किशोरी समूह, जुनियर रेडक्रस सर्कल समूह, जिल्ला शाखा समूह गरी कार्यशालामा ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.