कसरी पाउने दोस्रो किस्ता ?

भूकम्प पीडित परिचयपत्र पाएर पहिलो किस्ता रकम लिएर अव कसरी दोस्रो किस्ता लिने भन्ने चिन्तामा हुनुहुन्छ ? अहिले यो प्रश्नले ५ लाख भूकम्प पीडितलाई पिरोलेको छ । बल्लतल्ल दिनभरि लाइनमा वसेर वैकबाट पहिलो किस्ता ५० हजार लिए जसरी दोस्रो किस्ता लिनको लागि संघर्ष गर्नु नपर्ने पूनर्निर्माण प्राधिकरणले जनाएको छ । तर यसका लागि तपाईले पहिलो किस्ता वापत लगेको ५० हजारको केही कामचाँही अनिवार्य रुपमा गर्नुपर्नेछ ।
नक्सापास अनिवार्य गर्नुपर्ने
भूकम्प पीडितहरुमध्ये पहिलो किस्ता लिनेहरुलाई अव कसरी दोस्रो किस्ता लिने भन्ने आम चासो छ । पहिलो किस्ता लिएर के के गरेपछि दोस्रो किस्ता पाउने हो भन्नेमा भूकम्प पीडितको सरकारसँग प्रश्न छ । वैकमा दिनभरि लाइन वसेर लिएको पहिलो किस्ता वापत ५० हजार रुपैयाँले घरको जग बनाउनुपर्ने भएपनि कतिपयले दशै खर्च त कतिले तिरोतारोमा नै पैसा सकेका छन् ।
भूकम्प अति प्रभावित ११ जिल्लाका करीव ५ लाख घर परिवारले पहिलो किस्ताको ५० हजार रुपैया लिइसकेका छन् । दोस्रो किस्ता डेढ लाख लिनका लागि भूकम्प पीडितहरु आतुर छन् । यसका लागि निम्न काम सकेको हुनुपर्ने पूर्न निर्माण प्राधिकरणले बताएको छ ।
पहिला तपाईले घर बनाउने घडेरी खारेर जग उठाउनु पर्ने छ । त्यसपछि कागजी प्रमाण पुर्याएर दोस्रो किस्ता माग गर्नुपर्नेछ । घर बनाउन जग राखिसकेकाहरुले आफ्नो घरको जग प्राधिकरणले तोकेको मापदण्डअनुरुपको रहेको भनी गाउँमा खटिएका प्राविधिकबाट चेकजाँच गरी प्रमाणित गर्नुपर्नेछ । त्यसपछि गाविसबाट एउटा फारम भरेर गाविस सचिवबाट सिफारिस लिएपछि दोस्रो किस्ताको लागि योग्य हुनुभयो ।  गाविस सचिव र प्राविधिकहरुले प्रमाणित गरेको कागजात लिएर वैंक जानुपर्नेछ । वैक जादाँ पहिलो किस्ताको ५० हजार लिएकै बैंकबाट दोस्रो किस्ता वापतको डेढ लाख रुपैयाँ पाउने  प्राधिकरणले जनाएको छ ।
अधिकाशं ठाउँमा काम नै हुन सकेन
एकातिर इन्जिनियरको आन्दोलन र अर्कोतिर विभिन्न चाडपर्व आएकोले भूकम्प पीडित जिल्लामा पहिलो किस्ता वापत लगेको रकमको काम नै हुन सकेको छैन । काम गर्ने खोज्नेहरुका लागि पनि कसरी काम गर्ने भन्ने अन्योलतका कारण जग बनाउने काम सुरु गर्न नसकिएको सिन्धुपाल्चोक जिल्लाको पाल्चोक गाविस–४ का शिवलाल श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– दोस्रो किस्ता लिनका लागि के के गर्नुपर्छ थाहा नै छैन । गाउँमा आएको इन्जिनियर पनि गाउँमा भेट्टिदैन ।
दोस्रो किस्ता लिन सजिलो छ –प्राधिकरण
पहिलो किस्ता लिनका लागि वडा वडाको समय तालिका नै तोकेर बैकमा दिनभरि लाइन वसेर पैसा लिएका भूकम्पपीडितहरु दोस्रो किस्ता पनि त्यसैगरी लिनुपर्ने हो कि भन्ने चिन्तामा छन् । तर दोस्रो किस्ता लिन वडाका सवै एकैचोटी जानु नपर्ने जसले कागजी प्रमाण पुर्याएको छ र काम गरेको छ उसैले जुनसुकै बेला व्यक्तिगत रुपमा गएर वैंकबाट लिन सक्ने प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवाली बताउनुहुन्छ । वैकमै खाता यसअघि नै खोलिसकेको ले कुनै झन्झट विना घरको जग उठाएको गाउँबाट प्रमाणित गरेको कागजात र इन्जिनियरले गरेको सिफारिस लिएर गएपछि सम्बन्धित वैंकहरुबाट बिना झन्झट डेढ लाख रुपैयाँ लिन सकिने प्राधिकरणले जनाएको छ ।
दोस्रो किस्ताको लागि अहिलेसम्म कोही पनि वैक पुगेका छैनन्
प्राधिकरणका अनुसार पहिलो किस्ता लिएका भूकम्पपीडितहरु दोस्रो किस्ताको लागि अहिलेसम्म कोही पनि वैक नपुगेको जनाएको छ । पहिलो किस्ता लगेपछी इन्जिनियरले गर्ने सिफारिस तथा काम नै नभएकोले केहीले जग खारेपनि जग उठाउन सकेका छैनन । भूकम्पपीडित जिल्लाहरु  सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, रसुवा, गोरखा लगायतका १४ जिल्लामै समस्या उस्तै छ । सिन्धुपाल्चोक जिल्लाको इचोक गाविसका अम्वर बहादुर पण्डितले भन्नुभयो–  गाउँका केहीले घर बनाउनका लागि जग खारेपनि कसरी कुन खालको घर बनाउने भन्ने इन्जिनियरले कुनै सल्लाह नदिदाँ त्यतिकै वस्नु परेको छ । आजभोली फुर्सद भएकोले घर बनाइ हाल्यौं भन्ने सवैको चाहाना भएपनि सरकार ढिलाईले केही गर्न सकिएन ।
उहाँको जस्तै भनाई छ किउल गाविसका काग्रेस सभापति विजयसिं तामाङको पनि । उहाँले भन्नुभयो– गाउँमा इन्जिनियर आएर कसरी घर बनाउने भन्ने सल्लाह नदिदाँ हामी सवै कामविहिन भएका छौं । दोस्रो किस्ताका लागि के गर्ने भन्ने पनि अन्योल नै छ ।  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, चौतारा नगरपालिका सहित वाह्वविसे लगायतका अलि सुविधा सम्पन्न स्थानमा पनि समस्या उस्तै छ भने विकट गाउँ गुम्वा, हेलम्व, बरुवा, तातोपानी लगायतका ठाउँमा त यस बारेमा झन् बढी अन्योलता रहेको छ ।
घर बनाइसक्नु भएको भए एकमुष्ठ अढाई लाख
सरकारको भर नपरी आफ्नो घर बनाइसक्नु भएको भए इन्जिनियरलाई देखाएर प्रमाणित गरे एकमुष्ठ  अढाई लाख दिने सरकारको योजना छ । बनिसकेका घरहरु भए प्राबिधिकले परीक्षण गरेर भूकम्प प्रतिरोधी प्रमाणित गरेको कागजात पेश गरेमा एकमुष्ठ एक लाख रकम पाउन सक्ने प्राधिकरणले जनाएको छ ।
५० हजार लिएर काम नगरे कारवाही
५० हजार लिएर घर नबनाए दोस्रो किस्ता नपाउने मात्रै होइन कारवाही नै हुने प्राधिकरणले जनाएको छ । ५० हजार लिएर अनुदान सम्झौता भएपछि २ वर्षभित्रमा तपाईले घर बनाइसक्नु पर्नेछ । अनुदान लिएर घर नबनाए त्यस्ता ब्यक्तिको नागरिकता, पासपोर्ट, पुलिस रिपोर्ट लगायत सरकारी सिफारिसहरु रोकि दिने तयारी गरेको छ । अझ त्यस्ता ब्यक्तिको तीन पुस्तासहितको नाम पत्रपत्रिकामा छापिने र गाविस नगर कार्यालयमा पठाइनेछ ।

Lokpriyasamachar@. Powered by Blogger.