१ करोड २८ लाख फिर्ता हुने सम्भावना

चौतारा नगरपालिकाको गत वर्ष ८७ लाख विकासे रकम फिर्ता भएजस्तै यस वर्षपनि १ करोड २८ लाख रुपैंया फिर्ता हुने सम्भावना बढेर गएको छ ।
मन्त्रालयबाट प्राप्त रकमको ५० प्रतिशत रकम नगरपालिकाले आफ्नो स्रोतबाट सहभागितामूलक कार्यक्रम मार्फत खर्च गरिने उक्त रकम नगरपालिकाको स्रोत नभएको कारण फिर्ता हुने भएको हो ।
गत वर्ष सहभागिमूलक कार्यक्रम अन्तर्गत आएको ८७ लाख रुपैंयामा ४३ लाख ५० हजार नगरपालिकाले जुटाउन नसक्दा उक्त रकम फिर्ता भएको थियो भने यस वर्ष पनि सरकारले १ करोड २८ लाख रुपैंया विनियोजित गरेको रकम मध्ये नगरपालिकाबाट ६४ लाख स्रोत जुटाउन नसके उक्त रकम फिर्ता जाने कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले बताउनुभएको छ ।
नगरपालिकामा क्रियाशिल रहेका राजनैतिक दल तथा अन्य संघसंस्थाहरुबाट यस सम्बन्धमा समयमै ध्यान जान सकेन भने यस वर्ष पनि उक्त रकम फिर्ता जाने प्रायः निश्चित भइसकेको छ । नगरपालिका भएको ४ वर्ष पुगिसक्दा पनि नगरवासीको हैसियतले सुविधाको अनुभव गर्न नपाएका नगरवासीले नगरपालिकालाई बुझाउनु पर्ने चर्को कर भने बुझाइरहेका छन् ।
नगरपालिकाले नगरवासीहरुलाई दिनुपर्ने सरसफाई, खानेपानी तथा बाटोघाटोको सुविधा समेत दिन सकेको छैन भने केही गैर सरकारी संस्थाहरुले दिएको सुविधालाई समेत नगरपालिकाले प्रोत्साहन दिनुपर्नेमा नगरवासीहरुको भनाई रहेको छ ।

Lokpriyasamachar@. Powered by Blogger.