बसबाट फोहोर फाल्न निषेध

सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा आजदेखि फोहर फ्याँक्न निषेध गरिएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो ।
सवारीबाट यात्रा गर्दा सार्वजनिकस्थल तथा सडकमा कुनै पनि फोहरजन्य पदार्थ (प्लास्टिक बोतल, खानेकुराको अवशेष, प्लास्टिक झोला, कागज आदि) जथाभावी फाल्दा फोहर भई वातावरणमा समेत प्रभाव परेकाले निषेध गरिएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिनुभयो ।

‘सार्वजनिक यातायातबाट निष्कासन हुने फोहरमैलालाई नियन्त्रण वा व्यवस्थित गर्न प्रत्येक सवारीमा ३० माइकोनमाथिको पोलिथिन थैलो वा डस्टविन राख्नुपर्ने व्यवस्था गरिएको छ, सवारी छुट्नुअघि चालकले डस्टविन प्रयोग गर्ने तरिकाबारे यात्रुलाई जानकारी गराउनुपर्छ’ – उहाँले भन्नुभयो ।
यो नियमको उल्लङ्घन गर्ने व्यक्ति, संस्था वा सवारीका सञ्चालकलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम रु ५०० देखि रु पाँच हजारसम्म जरिवाना र तीन महिनासम्म कैद गरिनेछ । मर्करीजस्ता वातावरणलाई असर पार्ने सामग्री फालेको पाइएमा रु एक लाख जरिवाना गर्ने व्यवस्था ऐनमा छ ।
सवारीबाट सार्वजनिकस्थल वा सडकमा फोहर फाल्नेको नामनामेसी सार्वजनिक गर्न केन्द्रले स्थानीय निकायलाई निर्देश गरेको छ । यो व्यवस्था कार्यान्वयनको अनुगमन स्थानीय निकायले गर्ने छन् । यो व्यवस्था लागू भएपछि सवारी साधनबाट सडकमा थुक्न पनि पाइने छैन । सवारीबाट सडकमा थुक्नेलाई समेत रु ५०० कारबाही हुने कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो ।
मुलुकभर चल्ने तीन लाखभन्दा बढी सार्वजनिक यातायातमा दैनिक लाखौं यात्रुले झ्यालबाट फोहोर फाल्दा सडक सौन्र्दय बिगारेको भन्दै सरकारले शुक्रबारदेखि फोहोर फाल्न रोक लगाएको हो । चिया वा खाना खाने बेलामा यात्रु ओर्लनुअघि फोहोरलाई निश्चित ठाउँमा फाल्न सूचना दिने व्यवस्था पनि मिलाउनेछन् । त्यस्ता सार्वजनिक यातायातले यात्राका क्रममा संकलन गरेका फोहोरलाई आफ्नो अन्तिम स्थान वा बिसर्जन विन्दुमा फाल्ने व्यवस्था गर्नेगरी सम्बन्धित नगरपालिकाले व्यवस्थापनको जिम्मा लिनेछन् ।
त्यो स्थानमा हुने नगरपालिकाले बसपार्कमा बसमा भेला हुने फोहोर बिसर्जन गर्ने स्थान तोक्ने र त्यहाँ फालिएका फोहोर संकलन गर्ने व्यवस्था पनि मिलाउने गरी तयारी भएको छ । सार्वजनिक सवारीहरु बस, मिनिबस, माइक्रोबस, टेम्पो लगायतमा सवार यात्रुका लागि फोहोर फाल्न डस्टबीन वा सरकारले तोकेको गुणस्तर पोलिथिन थैलोको अनिवार्य व्यवस्था गर्न लागिएको हो ।
यात्राका क्रममा पानीका बोतल, प्लाष्टिक र फास्टफुडका खोल लगायत यात्रुले खाएर उब्रिएका खाना आदि फोहोर यात्रुले सवारी साधनबाट सडकमा फाल्ने गर्दा सडकका साथै नालीसमेत थुनिने अवस्था भएको र त्यसले सहरी साथै सडकको सौन्दर्यमा समेत खलल आएको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो अभियान सुरु गरेको हो ।

Lokpriyasamachar@. Powered by Blogger.