जनजागृतीमा विव्यस गठन, अध्यक्षमा पुनः पराजुली

साँगाचोकको स्रोतकेन्द्र रहेको विद्यालय जनजागृती माध्यमिक विद्यालय साँगाचोकले नयाँ शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।
शिक्षा ऐन २०२८ आठौं संसोधन २०७३ को दफा १२ उपदफा १ अनुसार विद्यालय व्यवस्थापन समिति विघटन भएकोले नयाँ व्यवस्थापन समिति गठन गरिएको हो ।
स्रोतव्यक्ति डम्बर श्रेष्ठको अध्यक्षतामा भएको अभिभावक भेलाले ध्रुवप्रसाद पराजुली, धनमाया राना, चक्रबहादुर तामाङ र मैया गिरीलाई विद्यालय व्यवस्थापन समितिमा सर्वसम्मत चयन गरेको थियो भने अभिभावकको भेलाबाट चयन भएका सदस्यहरुको बैठकले स्थानीय बुद्धिजिविबाट रामकुमार खतिवडा, समाजसेवीबाट पार्वती गिरीलाई विद्यालय व्यवस्थापन समितिको सदस्य पदको लागि मनोनित गरिएको थियो ।
मनोनित सदस्य सहित बसेको विद्यालय व्यवस्थापन समितिको सदस्यहरुको बैठकले पुनः विव्यस अध्यक्षमा धु्रव पराजुलीलाई सर्वसम्मत चयन गरेको छ ।
निर्वाचित पदाधिकारीहरुलाई साँगाचोकमा सक्रिय रहेका राजनीतिक दलका नेताहरु नेपाली कांग्रेसका केशवराज गिरी, नेकपा एमालेका यमबहादुर महत, नेकपा माओवादी केन्द्रका दधिराम पराजुली, नेकपा माओवादी क्रान्तिकारीका चक्रबहादुर तामाङ, राप्रपाका नवलाल श्रेष्ठले नवगठित विद्यालय व्यवस्थापन  समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
यसअघि विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाको बारेमा विद्यालयका प्रअ पदमप्रसाद पराजुलीले अभिभावकहरुलाई परिवर्तित शिक्षा ऐनमा भएका व्यवस्था बारेमा प्रकाश पार्नुभएको थियो भने गाविस सचिव तथा गाउँ शिक्षा समितिका संयोजक सुरेश थापाले सहमति का साथ विव्यस गठन भएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि यसरी नै सहमतिका आधारमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भेलाका अध्यक्ष तथा स्रोतव्यक्ति डम्बर श्रेष्ठले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नको निमित्त शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र अभिभावकको बराबरी नै भूमिका रहने प्रष्ट पार्दै विव्यस गठन भएपनि आफ्ना बालबालिकाले कस्तो शिक्षा लिइरहेका छन् भन्ने विषयमा विद्यालयमा आई जानकारी लिन सबै अभिभावकलाई ढोका खुल्ला रहने प्रष्ट पार्नुभयो ।
विद्यार्थीहरुले विद्यालयमा सिकेका कुराहरु अभिभावकले पनि समय समयमा परीक्षण गरेमा आफ्ना बालबालिकाहरु अझै शिक्षित हुने र शिक्षकले पनि गृहकार्य दिँदा विद्यार्थीको अझै मनोवल बढ्ने समेत प्रष्ट पार्नुभयो ।
उहाँले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आगामी दिनहरुमा अझ सरकारले सुविधा उपलब्ध गराउने सरकारको नीति रहेको प्रष्ट पार्दै आगामी दिनहरुमा नीजि विद्यालय भन्दा सामुदायिक विद्यालयहरु धेरै अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।
जिल्लामा गत आवमा वितरण गरिएका भर्चुअल कक्षा सञ्चालन गर्ने मध्ये पहिलो जनजागृती माविले भर्चुअल कक्षाको समेत उद्घाटन गरेको छ । भर्चुअल कक्षा शैक्षिक तालिम केन्द्र धुलिखेलका वरिष्ठ प्रशिक्षक सिताराम कोइरालाले उद्घाटन गर्नुभएको थियो ।  भर्चुअल कक्षा प्रायः सबै सामुदायिक विद्यालयहरुमा सञ्चालन गर्न सके विद्यार्थीहरुको शिक्षामा स्तरवृद्धि हुने र अवलोकनात्मक शिक्षाबाट समय वचत र प्रविधिको उपयोग समेत हुने बताउँदै यसमा समस्याहरु देखिएमा तत्काल शैक्षिक जनशक्ति विकास केन्द्रमा सम्पर्क गरेर समाधान गर्न सकिने कोइरालाले बताउनुभयो ।  

Lokpriyasamachar@. Powered by Blogger.