नेत्रज्योतीको खाजा प्रभावकारी

सन्ध्या बस्नेत/ठूलोसिरुवारी-
स्थानीय स्तरमा उत्पादन भएका खाद्यान्नलाई स्थानीय स्तरमा नै बजारीकरण गर्न सक्यो भने कृषि विकासमा ठूलो मद्धत पुग्ने गाउँ विकास समिति सचिव तथा शिक्षा समितिका संयोजक दूर्गा ढुङ्गेलले बताउनुभएको छ ।




उहाँले सरकारको तर्फबाट कृषि विकासमा लागेका कृषकहरुलाई उनीहरुको स्तरोन्नतीको लागि आवश्यक अनुदानको व्यवस्था गरेको र गाउँमा रहेका खेतीयोग्य जमिनहरु बाँझो नरहुन भनेर उत्पादनमूलक कार्यमा विशेष अनुदानको योजना राखेको बताउनुभयो ।
नेपाल सरकार शिक्षा विभाग जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोक विश्व खाद्य कार्यक्रमको सहयोगमा नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडले ठूलोसिरुवारी गाविसको विद्यालयहरुमा शिशु कक्षादेखि ५ कक्षासम्मको दिवा खाजा व्यवस्थापन गरेकोमा दिवा खाजा निर्माण गर्ने कर्मचारी र सहकारी एवम् सरोकारवालाहरुको बीचमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त कुरा बताउनुभएको हो । उहाँले विद्यालयमा स्थानीय स्तरमा उत्पादन भएका गुणस्तरीय खाद्य प्रयोग भएको छ कि छैन भनेर अनुगमन गर्न पर्ने बेला भएको र आफ्नो संयोजकत्वमा अनुगमन समिति समेत गठन भइसकेकोले कुनै पनि समयमा अनुगमन हुन सक्ने भएकोले स्थानीय स्तरमा उत्पादित पौष्टिक आहार सफा र सुग्घर तरिकाले खुवाउन सबैमा आग्रह गर्नुभयो ।
नेत्रज्योती कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले आफ्नो गाउँमा उत्पादन भएको खाद्यान्नलाई गाउँमै वितरण गर्न सहजिकरण हुने र आफ्ना बालबच्चाहरुले पौष्टिक आहार खान पाउने भएकाले यो कार्यक्रमको प्रभावकारीता रहेको बताउनुभयो ।
मानव सेवा संस्थाका अध्यक्ष शान्ता थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वास्थ्यचौकी प्रमुख शिव पुरी, गाउँ बाल संरक्षण समितिका अध्यक्ष शिव केसी, टुकी संघ सुनकोशीका कार्यक्रम संयोजक यज्ञबहादुर कार्की, रेणुका खड्का, माध्यमिक विद्यालयका तर्फबाट सेतीदेवी माध्यमिक विद्यालयका प्रअ हरिविक्रम नेपाल, आधारभूत विद्यालयको तर्फबाट लालबहादुर श्रेष्ठ लगायत सबै विद्यालयमा खाजा निर्माण गर्ने सहयोगीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा विश्व खाद्य कार्यक्रमका जिल्ला सम्पर्क व्यक्ति रुद्र सुनुवारले खाजाको प्रभावकारीताको विषयमा विद्यालयका खाजा सहयोगीहरुसँग छलफल समेत गर्नुभएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.