‘बद्लिँदो परिस्थिति अनुसार सिकाई जरुरी’

गुणात्मक सिकाईको लागि शिक्षकहरु समर्पणभावका साथ पूर्व तयारी गरेर शिक्षण गर्नुपर्ने र बद्लिँदो परिवेश अनुसार शिक्षण सिकाईमा देखा परेका सिकाईका प्रविधिहरु शिक्षण विधि र तरिकाहरु कक्षा शिक्षणमा उपयोग गर्नुपर्ने स्रोतव्यक्ति डम्बरबहादुर श्रेष्ठले बताउनुभयो ।
रामदेवी माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्वसको अवसरमा प्रमुख अतिथिको आसनबाट श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

उहाँले सबै शिक्षकहरु सूचना, प्रविधिसँग परिचित भएर सूचना प्रविधिलाई शिक्षण सिकाईमा प्रयोग गर्न सक्षम हुनुपर्ने बताउनुभयो । त्यसैगरी विद्यार्थीहरु लगनशिल, अनुशासित भएर अध्ययन कार्यमा कडा मेहनतका साथ लाग्नुपर्ने, अभिभावक वर्गहरु उत्साहपूर्वक विद्यालयको हरेक गतिविधि क्रियाकलापमा सहभागि भएर विद्यालयको उन्नती, प्रगतिका लागि रचनात्मक सल्लाह, सुझाव उपलब्ध गराउनुपर्ने र बालबालिकाको सिकाई तथा व्यवहार, अनुशासन शैलीप्रति चिन्तनका साथ लाग्नुपर्ने कुरा श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले विद्यालय सेवाक्षेत्र भित्र विद्यालय उमेर समूहका बालबालिकाहरु विद्यालय नगईकन बसेका छन् भने ती बालबालिकाहरुलाई विद्यालयमा भित्राउन विद्यालयले योजना बनाई अगाडि बढ्नुपर्ने कुरा उल्लेख गर्नुभयो । साथै उहाँले २०७२ सालको एसएलसीमा शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल त्यस विद्यालयका शिक्षक परिवारलाई धन्यवाद प्रदान गर्नुभयो ।
त्यसैगरी कार्यक्रमका विषेश अतिथि नेत्रबहादुर बस्नेतले शैक्षिक क्षेत्रमा सुधारको लागि  सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा विकासकोे लागि विद्यालयमा राजनीति गर्न नहुने साथै विव्यस मात्र नभई अन्य सम्पूर्ण अभिभावकले विद्यालयलाई सहयोग गर्नुपर्ने बताउनुभयो । एउटै स्रोतकेन्द्र रहेको साँगाचोकमा पनि दिवा खाजाको व्यवस्था गर्न सबैले पहल गर्नुपर्ने, विद्यालय दिवा खाजाको व्यवस्थापन गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका दधिराम पराजुलीले विद्यालयमा आफ्ना बालबालिकाले गुणस्तर शिक्षा पाइरहेका छन् कि छैनन् भनेर बुझ्ने दायित्व अभिभावकको रहेको बताउनुभयो । उहाँले विद्यालयको विकासको लागि सबै स्वतन्त्र र निष्पक्ष भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका यमबहादुर महतले विद्यालयमा मानव सेवाका लागि स्काउट सुरु गरेकोमा धन्यवाद दिँदै सबै विद्यालयमा यस्तो प्रकारको स्काउट शाखा सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्यस्तै नेपाली कांग्रेसका मानबहादुर बोगटीले २१ औं शताव्दीका बालबालिकालाई शिक्षा दिन धेरै गाह्रो छ तर शिक्षा दिन शिक्षकको मात्र भर नपरेर सबैले आफ्ना बालबालिकालाई कस्तो शिक्षा प्रदान गर्ने भन्ने विषयमा बिचार पु¥याउनुपर्ने बताउनुभयो ।
पूर्व विव्यस अध्यक्ष पूर्णबहादुर खड्काले विद्यालयको स्तरोन्नतीको लागि सबै मिलेर काम गर्नुपर्ने र आफ्नो तर्फबाट पनि सकेको सहयोग गर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्व विव्यस अध्यक्ष हरिबहादुर बोगटीले विद्यालय व्यवस्थापन समिति गठनमा असन्तुष्टि व्यक्त गर्दै आफू बाहिरै बसेर भएपनि विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका पूर्व विद्यार्थी तथा जल्केनी युवा क्लवका अध्यक्ष शिव कार्की लगायतले वार्षिकोत्वसको सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले रामदेवी स्काउट ट्रुपका ३२ जना स्काउटका भाइबहिनीहरुलाई स्काफ लगाइदिएर दिक्षित गर्नुभयो । त्यसैगरी श्रेष्ठबाट वार्षिक परीक्षा, अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै २०७२ मा एसएलसी शतप्रतिशत उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।
स्काउटको बारेमा जिल्ला स्काउट सिन्धुपाल्चोकका सदस्य निर्मला श्रेष्ठले स्काउटले विद्यालयको शिक्षामा अति महत्व राखेको बताउनुभयो । स्काउट जिल्लामा २०३६ सालमा स्थापित भएको बताउँदै स्काउट ३ प्रकारले सिकाइन्छ त्यस्तै सानै उमेरदेखि आफ्नो धर्म, संस्कार र संस्कृतिलाई संरक्षण गर्दै सामाजिक सेवामा समर्पित गराउनु नै स्काउटको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रअ केशवलाल श्रेष्ठले विद्यालयको विकासमा भएको काम कार्यहरु र वर्तमान अवस्था एवम् ५९ लाख पचास हजार एकहत्तर रुपैंया बत्तीस पैसाको आम्दानी खर्चको विवरण पेश गर्नुभएको थियो । उहाँले आगामी वर्षदेखि कक्षा ११ मा समेत कक्षा सञ्चालन गर्ने योजना रहेको र यसका लागि सबै विद्यार्थी नियमित रुपमा विद्यालयमा अध्ययन गर्न पठाउन अभिभावकलाई अनुरोध गर्नुभयो ।
विद्यालयका अध्यक्ष रहरबहादुर तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षिका काजल बोगटीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सुभद्रा कार्कीले  गर्नुभएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.