बन्यो नमूना भवन ठूलोसिरुवारीमा

ठूलोसिरुवारी गाउँ विकास समितिमा रहेको गाउँ बाल संरक्षण समितिले आफ्नै भवन निर्माण गरेको छ ।
कूल ७ लाखको लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन ८ गते गरिने भएको छ । जिल्लाकै एकमात्र गाउँ बाल संरक्षण समितिको नमूना भवनको रुपमा ठूलोसिरुवारी गाउँ बाल संरक्षण समितिको भवन रहेको बताइएको छ ।
  २०६७ सालदेखि जिल्लामै सबैभन्दा बढी ६ लाख रुपैंयाको बाल अक्षयकोष समेत खडा गरेको गाउँ बाल संरक्षण समितिले गाविस भित्र रहेका असहाय, गरिव बालबालिकाहरुलाई १० जनालाई छात्रवृत्ति दिइरहेको छ । अक्षयकोषमा राखिएको नगदको व्याजबाट उक्त छात्रवृत्ति दिइँदै आएको गाउँ बाल संरक्षण समितिका अध्यक्ष शिवबहादुर केसीले बताउनुभएको छ ।
गाउँ बाल संरक्षण समिति ठूलोसिरुवारीले प्रत्येक विद्यालयमा बाल क्लव गठन गर्नुका साथै समाजमा रहेका र विद्यालय जानबाट वञ्चित बालबालिकालाई विद्यालयमा अध्ययन अध्यापन गराउन प्रेरणा दिलाउनको निमित्त विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ ।
विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि गुणस्तरीय शिक्षा, उनीहरुको सरसफाई र उनीहरुप्रति विद्यालय तथा अभिभावकले गर्ने गरेको व्यवहारको समेत अनुगमन गर्ने गरेको छ । कुनै पनि बालबालिकालाई घरमा गएर अभिभावकले शिक्षा तथा सरसफाईको विषयमा के कस्ता क्रियाकलापहरु भइरहेका छन् भन्ने सवालमा समेत गाउँ बाल संरक्षण समितिले चासो राख्न थालेको छ ।
गाउँ विकास समितिमा विभिन्न टोल, वस्तीहरुमा तालिम, सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ । ठूलोसिरुवारी गाउँ विकास समितिमा निर्माण भएको गाउँ बाल संरक्षण समितिको भवन निर्माण गर्न गाउँ बाल संरक्षण समितिबाट ४ लाख ५० हजार, नेपाल बाल सदन बूढानिलकण्ठकी अध्यक्ष लक्ष्मी तामाङले १ लाख २७ हजार, राजेश राई र राजकुमार तामाङ मार्फत ५१ हजार, मानव सेवा संस्था नेपालकी अध्यक्ष शान्ता क्षेत्रीबाट ५० हजार, दुर्गा केसीबाट २५ हजार, जीतु थापाबाट २५ हजार, आरती केसी कार्कीबाट ५ हजार  र १५ बोरा सिमेन्ट, स्वास्थ्य चौकी ठूलोसिरुवारीका प्रमुख शिव केसीबाट २ बोरा सेतो सिमेन्ट सहयोग प्राप्त भएको गाउँ बाल संरक्षण समितिका सचिव लालबहादुर श्रेष्ठले बताउनुभयो ।
भूकम्प पश्चात प्रत्येक विद्यालयमा सञ्चालित भएको शिशुकक्षालाई शैक्षिक सामग्री वितरण गरिएको जोखिममा परेका बालबालिकाहरुलाई विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी छात्रवृत्ति वितरण गरिएको श्रेष्ठले बताउनुभयो ।
गाउँ बाल संरक्षण समितिले नीजि विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई समेत सहयोगी व्यक्तिहरु खोजेर जुगल बोर्डिङ चौतारामा निःशुल्क अध्यापन समेत गराइरहेको छ । बालबालिकाको खोप तथा जन्मदर्ता अभियानलाई समेत तीव्र रुपमा सहयोग पु¥याइरहेको सचिव श्रेष्ठले बताउनुभयो ।
बालमैत्री गाविस घोषणाको तयारी
आगामी पुस ८ गते ठूलोसिरुवारी गाउँ विकास समितिमा गाउँ बाल भेला हुने भएको छ ।
ठूलोसिरुवारीलाई बालमैत्री गाविस तथा मदिरा निषेधित गाविस घोषणा गर्ने पूर्व तयारी तथा बालबालिकाको लागि वडा देखि नै योजना तर्जुमा उनीहरुको प्रत्येक्ष संलग्नता देखाउनको लागि समुदायमा रहेका बालबालिका र विद्यालय स्तरीय बालबालिकाहरुको भेला बोलाइएको गाउँ विकास समितिका सामाजिक परिचालिका जयलक्ष्मी श्रेष्ठले बताउनुभयो । ठूलोसिरुवारी गाउँ विकास समितिलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गर्ने तयारी भइरहँदा यसरी गाउँ विकास समिति भित्र रहेका विद्यालयमा अध्ययनरत तथा विभिन्न क्षेत्रका बालबालिकाहरुलाई भेला बोलाएर यस सम्बन्धी जानकारी गराउँदा सुनिश्चितताको कार्यक्रमलाई समेत सहज हुने स्वास्थ्यचौकी प्रमुख शिव पुरीले बताउनुभएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.