भूमिमा महिला अधिकारको सवाल

रुपा कपाली/चौतारा-
भूमिमा महिला अधिकार अन्तरगत मालपोत कार्यालय सिन्धुपाल्चोकमा आर्थिक वर्ष ०७२÷७३ मा ११ हजार ७ सय २० थान जग्गा जमिन पुरुषको नाममा दर्ता भएको जिल्ला मालपोतका सहायक अधिकृत शान्ता बस्न्यातले बताउनुभएको छ ।
‘संयुक्त पूर्जा समान अधिकार, लैङ्गिक हिंसा मुक्त परिवार’ भन्ने मूल नाराका साथ भूमिमा महिला अधिकार कायम गराउन नेपाल पत्रकार महासंघको सभाहलमा हिजो गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले संयुक्त पूर्जा अभियानपछि आर्थिक वर्ष ०७२÷७३ मा ६ सय ५३ थान जग्गाजमिन दर्ता भएको बताउनुभएको छ । महिलाको नाममा मात्रै आर्थिक वर्ष ०७२÷७३ मा २ हजार ३ थान जग्गा दर्ता भएको जानकारी दिँदै भूमिमा महिला अधिकार प्राप्तीको लागि निरन्तर प्रयास गर्दै जानुपर्ने बस्न्यातले बताउनुभयो ।  ।
नेपाल सरकारले संयुक्त लालपूर्जा बनाउनेलाई हिमाली क्षेत्रलाई ४० प्रतिशत, उपत्यका बाहिरकालाई ३० प्रतिशत र काठमाडौं उपत्यताको लागि २५ प्रतिशत राजश्व छुट गरेको जानकारी दिँदै बस्न्यातले हालसम्म महिलाको नाममा संयुक्त लालपूर्जा बन्दा रु २ करोड ९० लाख ७ हजार ५ सय ६६ राजश्व छुट पाएको बताउनुभयो ।
भूमिमा अधिकार मञ्चले सुरु गरेको उक्त अभियानलाई राजनीतिक दल, विभिन्न संघसंस्थाहरुले पनि उक्त अभियानलाई साथ दिएमा कागजमा मात्र सीमित नभई साँच्चै व्यवहारमा पनि भूमिमा महिला अधिकार स्थापित हुने र समाजमा महिला हिंसामा न्यूनिकरण आउन सक्ने जानकारी दिँदै बस्न्यातले जिल्ला मालपोत कार्यालयबाट उक्त अभियानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।
त्यस्तै भूमि अधिकार मञ्चका अध्यक्ष ग्याल्जेन लामाले भूमिमा महिला अधिकारको महान अभियान धेरै वर्ष अगाडिको निरन्तर प्रयासले संयुक्त लालपूर्जा बनाउन सक्रिय भएको बताउनुभयो । संयुक्त लालपूर्जा बनाउनलाई एउटा फाईदा राजश्व छुट, अर्को फाइदा जग्गा सुरक्षित राख्न सकिएमा दीगो विकास हुने धारणा राख्नुभयो ।
भूमि अधिकार मञ्च र रेडियो सुनकोशीले आयोजना गरेको कार्यक्रममा सरकारी कार्यालयको कर्मचारी, संघसंस्थाहरुको प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।


Lokpriyasamachar@. Powered by Blogger.