विद्यालयको स्थलगत अनुगमन गर्दै घिमिरे

सिन्धुपाल्चोक जिल्लामा रहेको ५ सय ४२ विद्यालयहरु मध्ये हालसम्म ३ सय ४२ वटा विद्यालयमा मात्र पुनर्निर्माणको कार्यक्रम सुरु भएको छ ।
पुनर्निर्माण कार्यक्रम सुरु भएको विद्यालयहरुमा भाएका काम र गतिविधिहरुको बारेमा स्थलगत  अनुगमन गर्न जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरे स्वयम् लागिपर्नुभएको छ ।
हालैमात्र जिल्लाको ३ नं. क्षेत्रका प्रायः विद्यालयहरु अनुगमन गरी फर्कनुभएको छ । जिल्लाको क्षेत्र नं. १, २ र ३ का प्रायः विद्यालयहरुको पुनर्निर्माण प्रक्रिया शिक्षा ऐन अनुसार पठनपाठन प्रक्रिया तथा विव्यस गठनको विषयमा समेत विद्यालयमा गई जिल्ला शिक्षा कार्यालयको उपस्थिति देखाउँदै शिक्षा क्षेत्रमा शिक्षकहरुको मनोवल उच्च राख्ने काममा जिल्ला शिक्षा कार्यालय लागि परेको छ ।

जिल्लामा रहेका ५ सय ४२ विद्यालयका ५३ सय ७५ कक्षाकोठा मध्ये भूकम्पबाट ३६ सय २० कक्षाकोठा पूर्ण ध्वस्त भएको बाँकी १७ सय ५५ कक्षाकोठा मध्ये ११ सय ५० मर्मत गर्दा कक्षा सञ्चालन गर्न उपयुक्त देखिने र बाँकी ६ सय ५ कक्षाकोठा सामान्य अवस्थामा रहेको र त्यसमा तत्कालै पुनः सञ्चालनमा ल्याउन सक्ने अवस्था रहेको थियो । जिल्ला शिक्षा अधिकारी घिमिरेका अनुसार ५ सय ४२ विद्यालयका ५३ सय ७५ कक्षाकोठा मध्ये २ सय ४२ विद्यालयका २ सय ३१ कक्षाकोठा नयाँ निर्माण भइसकेका छन् भने ४६ वटा विद्यालयको २ सय ३१ कक्षाकोठा मर्मत सम्भार भएका छन् । जम्मा ४ सय ८८ वटा विद्यालयका ४ सय ६२ कक्षाकोठाहरु हालसम्म कार्य सम्पन्न भई पुनः सञ्चालनमा आएका छन् भने ६८ वटा विद्यालयको ४ सय ३९ वटा कक्षाकोठा पुनर्निर्माणको कार्य भइरहेको छ । २८ वटा विद्यालयको १ सय २१ वटा कक्षाकोटा मर्मत कार्य भइरहेको छ । ३८ वटा विद्यालयमा ७६ वटा अस्थायी कक्षाकोठा निर्माण भइरहेको छ ।
जिल्लाका ५ सय ४२ वटा विद्यालय मध्ये २ सय वटा विद्यालयमा विद्यालय भवन निर्माण तथा कक्षाकोठा सञ्चालनको कुनैपनि कार्यक्रम सुरुवात नै भएको छैन भने ३ सय ४२ वटा विद्यालय मध्ये २ हजार ९७ कक्षाकोठा मध्ये १ सय २७ वटा विद्यालयको ९ सय ९९ कक्षाकोठा विभिन्न संघसंस्थाहरुले बनाउने कागजी प्रक्रिया सुरु गरेको भएपनि काम सुरु भएको छैन । जिल्ला शिक्षा अधिकारी घिमिरेले सुरु हुन बाँकी रहेका विद्यालयहरुमा पनि पुनः सञ्चालनको लागि यथाशीघ्र निर्देशन दिइसकेको बताउनुभयो । बाँकी २ सय विद्यालयमा कसरी कक्षाकोठा निर्माण गर्ने भन्ने विषयमा कुनै संघसंस्थाहरुको आवेदन नपरेको समेत उहाँले बताउनुभयो ।
राष्ट्रिय पुनर्निर्माण कार्यालयले शिक्षा भवन निर्माण गर्नको निमित्त विभिन्न जिल्लामा जिल्ला शिक्षा कार्यालयमा पुनर्निर्माण सम्पर्क कार्यालय खोलेको भएपनि सिन्धुपाल्चोकमा अहिलेसम्म खोल्न सकेको छैन । यस सम्बन्धमा शिक्षा अधिकारी घिमिरे १–२ दिन भित्रै शिक्षा कार्यालयमा त्यस्तो कार्यालय सञ्चालन गरी विद्यालयको भवन तथा कक्षाकोठा निर्माणमा तीव्रता दिने समेत बताउनुभएको छ ।
भूकम्पका कारण जनधनसँगै विद्यालयहरूमा ठूलो क्षति पुगेको थियो । क्षतिका दृष्टिले बढी असर परेका १४ जिल्लाका ११ लाख ४१ हजार छात्रछात्राको पढाइ र दैनिकी प्रत्यक्ष प्रभावित भएको थियो । भूकम्पमा परी ६१८ जना बालबालिकाले ज्यानै गुमाएका छन् भने ४१ जना शिक्षक र ३ जना विद्यालय सहयोगीको मृत्यु भएको थियो । भूकम्पले सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकमा भने १४८ जना विद्यार्थी, २२ जना शिक्षक र ३ जना विद्यालय सहयोगीको ज्यान गएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.