क्षमता अभिवृद्धि तालिम सम्पन्न

गिरीराज कटुवाल/बतासे -
बतासे गाविसमा गाविस स्तरीय स्थानीय विपद् तथा जोखिम व्यवस्थापन समितिलाई ३ दिने क्षमता अभिवृद्धि तालिम हिजो सम्पन्न भएको छ ।
सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सीडीइसीएफ)को आयोजना, एमबीएम फ्रान्सको आर्थिक सहयोग तथा जिल्ला विकास समितिको समन्वयमा सो तालिम सम्पन्न भएको हो ।
बतासे गाविस स्तरीय स्थानीय विपद् तथा जोखिम व्यवस्था समितिका १९ जना सहित अन्य ४ जना गरी जम्मा २३ जना सहभागि भएको तालिमका प्रशिक्षक राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
तालिमको सहजिकरण तथा समन्वय सीडीइसीएफका डीआरआर अधिकृत मेखबहादुर दाहाल र सो संस्थाका बतासे गाविस सामाजिक परिचालक रविन्द्र सापकोटाले गर्नुभएको हो ।
तालिम आयोजक संस्थाले अब छिट्टै गाविसले स्वयमसेवकको रुपमा छनौट गरेका प्रत्येक वडाका एक जनालाई दुई दिने तालिम दिई भीसीए गर्न पठाउने जनाएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै प्रशिक्षक राजेन्द्रप्रसाद सापकोटाले तालिम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको र बतासे गाविसमा बन्ने स्थानीय विपद् तथा जोखिम योजना भौगोलिक रुपले सुगम रहेका गाविसको भन्दा राम्रो बनाउन यस तालिमले महत्वपूर्ण भूमिका निर्वाह गरोस् भनि शुभकामना दिनुभयो ।
साथै उहाँले भूकम्प पश्चात सरकारले स्थानीय विपद् योजना र कोषको अवधारणा ल्याई भूकम्प प्रभावित १४ जिल्लाका साथै अन्य ५४ जिल्लालाई यो योजना दुई वर्षभित्र बनाउन निर्देशन दिएको जानकारी दिनुभयो ।
कार्यक्रमा आयोजक संस्थाको तर्फबाट आफ्नो धारणा राख्दै सो संस्थाका डीआरआर प्रमुख अधिकृत मेखबहादुर दाहालले तालिम सहभागितामूलक भएकोमा सहभागि सबैलाई धन्यवाद दिनुभयो ।
यस्तै उहाँले स्वयम्सेवकहरुलाई छिट्टै तालिम दिएर भीसीए गर्न लगाइने र भीसीए गर्दा वडा नागरिक मञ्च र तालिममा सहभागिहरुले विशेष सहयोग गर्नुपर्ने, जसले गर्दा विपद् तथा जोखिम व्यवस्थापन योजना अझ उत्कृष्ट बन्ने बताउनुभयो ।
तालिम समापन गर्दै गाविसका सहायक गाविस सचिव मोहनबहादुर थापाले यो योजना बतासेबासीको भएको र यसलाई सकेसम्म उत्कृष्ठ बनाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी उहाँले गाउँ विकास समितिमा आउने हरेक विकास बजेटको १० प्रतिशत स्थानीय विपद् तथा जोखिम व्यवस्थापन कोषमा जम्मा गर्नुपर्ने प्रावधान जिल्ला विकास समितिले राखेको बताउनुभयो । साथै उहाँले प्राकृतिक प्रकोप पछिको विपद् जुनसुकै समयमा आउन सक्ने भन्दै विपद् न्यूनिकरणका लागि सदैव समेत रहन आग्रह गर्नुभयो ।
यसैबीच सामुदायिक विकास तथा वातावारण संरक्षण मञ्चले ३ दिने विकास प्रक्रियामा विपद् व्यवस्थापन मुल प्रवाहिकरण तालिम शनिबार मेलम्चीमा सम्पन्न गरेको छ ।
कारितास स्विजरल्यान्ड सहयोगमा पुस ८ गते देखि  संञ्चालन भएको तालिममा भुकम्प पश्चात कारितासको सहयोगमा पुनःनिमार्णकार्य भैइरहेका तालामाराङ ,दुवाचौर र पाल्चोकका विभिन्न विद्यालयका प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिती अध्यक्ष  र विद्यालयका बाल क्लबका प्रतिनिधी गरी ३० जनाको सहभागिता रहेको थियो ।
तालिम पछि विद्यालय स्तरमा विपद् जोखिम व्यवस्थापन योजना निर्माण तथा कार्यन्वयनमा सहयोग पुग्ने सिडिइसिएफका जिल्ला कार्यक्रम संयोजक इच्छाराम सापकोटाले जानकारी दिनुभयो ।


Lokpriyasamachar@. Powered by Blogger.