जगद्गुरु बालसन्त जिल्लामा

नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजा सिन्धुपाल्चोकको सदरमुकाम चौतारा आइपुग्नुभएको छ ।

नेपाल राष्ट्रमै प्रथम पटक महाकाली किनारा कञ्चनपुरको झम्केनीधाममा ७५ फुट अग्लो नेपाल आमाको मूर्ति स्थापना गर्न पवित्र शुभ संकल्पका साथ पैदल यात्रामा रहि प्रत्येक नेपालीबाट १ रुपैंया वा सो भन्दा बढी नगदका साथै पुराना तामा पित्तलका काम नलाग्ने भाँडाकुडाहरु संकलन गर्दै सिन्धुपाल्चोक आइपुग्नुभएको हो ।


सिन्धुपाल्चोक प्रवेशको अवसरमा शुक्रबार साँगाचोकवासीहरुले भव्य स्वागत सहित उहाँको प्रवचन समेत सुनेका थिए भने शुक्रबार साँझ साँगाचोक गाविसकै रामदेवी माध्यमिक विद्यालयमा गुरुको वासस्थान व्यवस्था मिलाइएको थियो ।
सनातन हिन्दू मोर्चाका संयोजक नेत्रबहादुर बस्नेतको विषेश सक्रियतामा उक्त स्थानमा वासस्थानको व्यवस्था गरिएको थियो भने रामदेवी माविका विव्यस सदस्य कमानसिं तामाङ (कमल) र स्थानीय समाजसेवी थमबहादुर श्रेष्ठले खानपानको व्यवस्था मिलाउनुभएको थियो । डिलबहादुर श्रेष्ठ, जीतबहादुर श्रेष्ठ लगायत स्थानीयले आ–आफ्नो तर्फबाट सहयोग पु¥याएका थिए ।
रामदेवी माध्यमिक विद्यालयबाट हिजो पैदल यात्रा गर्दै सदरमुकाम आउने क्रममा इर्खु, मेलचौरवासीले समेत स्वागत गरेका थिए ।
सदरमुकाम चौतारामा भक्तहरुले फूलमाला सहित महाराजालाई स्वागत गरिएको थियो भने सुरक्षाकर्मी सहित बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमा गर्ने क्रममा विभिन्न व्यक्तिहरुले नगद दान गर्नुका साथै पुराना तामा पित्तलका भाँडाहरु समेत दान गरेको थियो । सदरमुकाम चौतारा स्थित नेपाल रेडक्रस सोसाइटीका मन्त्री कमलचरण कक्षपतिको निवासमा महाराजाको वासस्थान व्यवस्था मिलाइएको थियो ।
आज विहान १० बजे सत्य साइबाबा केन्द्रमा महाराजाको प्रवचन सहित पुनः गुरु महाराजालाई सर्वसाधारणको लागि दर्शन भेट गर्नसक्ने व्यवस्था मिलाइएको सनातन हिन्दू राष्ट्रिय मोर्चाले जनाएको छ । प्रवचनपछि कुविण्डे, बलेफी हुँदै खाडीचौर पैदल यात्रा गरेर बास बस्ने योजना रहेको समेत भक्त कृष्णबहादुर ठकुरीले बताउनुभएको छ ।    
नेपाली नेपालीमा टुटेको मनलाई जोड्न र सबैलाई राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन र राष्ट्र राष्ट्रियताको पहिचानका साथ राष्ट्रिय एकताको सन्देशलाई प्रत्येक नागरिकमा पु¥याउनको निमित्त यो पैदल यात्रा गरिएको महाराजाले बताउनुभएको छ । उहाँले राष्ट्रवादी, देशप्रेमी नेपाल आमाका सच्चा सपुत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैलाई राष्ट्रिय एकताको लागि एकतावद्ध हुन समेत आग्रह गर्नुभएको छ ।
पश्चिम नेपालबाट सुरु भएको उहाँको पदयात्रा काठमाडौं हुँदै ४२ औं जिल्लाको रुपमा सिन्धुपाल्चोक यात्रा भएको हो । अब सिन्धुपाल्चोक पश्चात दोलखा, रामेछाप, सिन्धुली जिल्लाहरु हुँदै प्रत्येक जिल्लाको सदरमुकाममा पैदल यात्रा गर्दै मेची पुग्ने योजना रहेको आयोजकले बताएका छन् ।
जगद्गुरु देवचार्यले बजार परिक्रमा गर्दा वृद्धा र बालबालिकाहरुले समेत निरोगिताको लागि आशिस माग्ने भीड देखिएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.