विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण

नेत्रबहादुर बस्नेत/चौतारा-
सिन्धुपाल्चोक जिल्लामा गाविस स्तरीय विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम भइरहेको छ ।
भूकम्पबाट बढी प्रभावित रहेको जिल्ला सिन्धुपाल्चोकको विभिन्न गाविसहरुमा रहेका आकस्मिक तथा विपद् बारेमा गाविस स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु बीच यस्ता कार्यक्रम सुरु गरिएको हो ।
कानुनी सहयोग तथा परामर्श केन्द्र मानभवन ललितपुरको आयोजनामा ठूलोसिरुवारी गाउँ विकास समितिमा रहेका विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई  होटल लाङटाङमा ३ दिने प्रशिक्षण कार्यक्रम भइरहेको छ ।
सोमबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम आज समापन हुने भएको छ । कार्यक्रममा प्राकृतिक प्रकोप विषेशज्ञ पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक ई. रामप्रसाद भट्टराईले आकस्मिक तथा विपद् भनेको के हो ? यो कसरी हुन्छ ? र विपद्मा परेकाहरुलाई कसरी उद्दार गरेर राहत दिन सकिन्छ भन्ने विषयमा प्रकाश पार्दै कुनै योजना नभई र कुनै ठाउँमा जानकारी नभई हुने आकस्मिक विपद्को विषयमा जानकारी गराउनुभएको थियो । उहाँले विपद् व्यवस्थापन गठन प्रक्रिया र स्थानीय विपद् व्यवस्थापन समितिको जिम्मेवारी र विपद् व्यवस्थापनमा विपद् पूर्व तथा विपद् पछि लैङ्गिकमैत्री वातावरण सिर्जना कसरी गर्ने भन्ने विषयमा समेत सहभागिहरुलाई प्रष्ट पार्नुभएको थियो ।  
कानुनी सहयोग तथा परामर्श केन्द्र (एलएसीसी) मानभवन ललितपुरका कार्यक्रम संयोजक निता ढुङ्गानाले स्थानीय स्तरमा हुने विपद् व्यवस्थापन तथा त्यसबाट आउने समस्या र समाधानको विषयमा स्थानीय क्षेत्रकै मानिसहरुले बढी जानकार राख्नुपर्ने भएकोले आफ्नो संस्थाले गाउँ स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई यस्तो प्रशिक्षण दिएको बताउनुभयो ।
कानुनी सहयोग तथा परामर्श केन्द्रका जिल्ला संयोजक चन्द्रबहादुर बस्नेतले विपद् व्यवस्थापन सम्बन्धी बनेका नीति, निर्देशिका, कानुनहरुका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । विपद् व्यवस्थापन समितिका संयोजक तथा गाविस सचिव दुर्गा ढुङ्गेलले यसरी गाउँमै रहेका व्यक्तिहरुलाई प्रशिक्षण दिँदा विपद् व्यवस्थापन न्यूनिकरण तथा यसबाट पर्ने समस्यालाई समाधान गर्न ठूलो सहजता भएको बताउनुभएको छ ।
सहभागि मध्येका नेत्रज्योती कृषि सहकारी संस्थाका अध्यक्ष तथा गाउँ बाल संरक्षण समितिका अध्यक्ष शिवबहादुर केसीले स्थानीय व्यक्ति र सरोकारवालाहरुलाई यसरी आकस्मिक विपद् व्यवस्थापन सम्बन्धी पूर्व तयारी र विपद् व्यवस्थापन पछि गर्नुपर्ने भूमिकाको विषयमा प्रशिक्षण दिएर सहयोग पु¥याएकोमा आयोजक प्रति धन्यवाद दिँदै यस्ता प्रशिक्षणहरु प्रत्येक गाउँ विकास समितिमा रहेका विपद् व्यवस्थापन समितिलाई दिनुपर्ने आवश्यकता महसुस गरेको बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका हेमबहादुर नेपाल, नेकपा एमालेका गणेश ढुङ्गेल लगायत राजनीतिक दलका प्रतिनिधि वडा नागरिक मञ्चका पदाधिकारी, महिला स्वयम्सेविकाहरु लगायत स्वयम्सेविकाहरुको उपस्थिति रहेको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.